भिजनरी नेतृत्वमा राष्ट्रिय सरकार गठन गरौं:बाबुराम भट्टराई

0 5

अब धेरै लोभ नगरौ, क्षमता भएको व्यक्तिलाई अवसर दिउ

एमाओवादीका बरिष्ठ नेता बाबुराम भट्टराईले विनाशकारी भूकम्पबाट उत्पन्न महाविपत्ति झेल्न राष्ट्रिय सरकार निर्माणको प्रस्ताव गरेका छन् ।
शनिबार नयाँबानेश्वरमा बसेको व्यवस्थापिका संसद्को बैठकमा बोल्दै नेता भट्टराईले राष्ट्रिय सरकार निर्माणको प्रस्ताव गरेका हुन् ।
हाम्रो पुस्ताको सबभन्दा त्रासदीपूर्ण र विनसकारी भूकम्प हामीले अहिले बेहोरेका छौ। हामीले भन्दाभन्दै र आशंका गर्दागर्दै यो महाभूकम्प आयो र मुलुकमा ठूलो विनास भयो।
बाबुराम भट्टराई
यो भूकम्प पृकृतिले हामीलाई दिएको झापड हो। शनिबार दिउँसो नआएर राती वा अरु कुनै दिन आएको भए के हुन्थ्यो? ८२ वर्षपछि यो भूकम्प आउदा हामीले आवश्यक तयारी गर्न सकेनौं। यसको असफलताको जिम्मेवारी हामी सबैले सामूहीक रुपमा लिनु पर्छ।
यो कमजोरीको दोषको हिस्सा म लिन तयार पनि छु र आत्माआलोचना गर्दै यसबाट पाठ सबैले सिकौं।
अहिले पनि हामीले यसलाई सामान्य प्रकृतिको घटनाको रुपमा लिने गरेका छौ। कुनै पनि समस्या नयाँ चेतना र सोचले मात्रै समाधान गर्न सम्भव हुन्छ।
विपद्का बेला जनताले नेताकोआलोचना गर्नु सामान्य हो। हामीप्रतिको आसा र विश्वास टुटेको छ। अब राजनीतिमा पनि क्रमभंग नगरी जनताको चाहना सम्बोधन गर्न सकिदैन। सबै आफ्नो पार्टी र विचार समूहभन्दा माथि उठी अघि बढौं।
उद्दार र राहतको कार्य सकिने अवस्थामा छ तर पनि अझै पनि दुरदराजका बस्तीले राहत पाउन सकेको छैन। हामीले अब अस्थायी आवासको व्यवस्था गर्नु जरुरी छ। एक महिनाभित्र यो कार्य गर्न सकेनौं भने ठूलो संकट आउने छ।
सरकारले अब एकवर्षको निम्ति जनताको आवास, खाद्यन्नको व्यवस्था मिलाउने जिम्मा लिनु पर्छ। अब हाम्रो संरचनाले मात्रै पुग्दैन। यसका लागि निम्ती विशेष संयन्त्र बनाएर राष्टिय नवनिर्माण प्राधिकरण बनाएर काम अघि बढाउनु पर्छ तब मात्रै पाँच वर्षभित्र यो क्षतीको पूर्ति गरी नयाँ नेपालको निर्माण गर्न सक्छौं।
हामीलाई रकमको अभाव छैन। अहिलेपनि खर्च नहुने १ सय ५० अर्व वार्षिक रुपमा ऋणपत्र जारी गरी ६ सय अर्व र बाह्य सहयोगमा १० खर्वको कोष खडागरी नयाँ निर्माणको कार्य अघि बढाउ। दूधकोशी देखि मस्यांङ्दीसम्मको विचमा मध्यपहाडी लोकमार्ग बनाएर व्यवस्थित बस्ती बसाली नयाँ नेपाल बनाउने कार्य गरौं।
यतिबेला वृहत राष्ट्रिय एकता आवश्यक छ। पुरानाले लोभ नगरौं नयाँको नेतृत्वमा गतिशिल भिजनरी नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरौं। दश वर्षभित्र मुलुक बनाउ। लाखौंको संख्यामा नवनिर्माणको स्वयंसेवक बनाएर अघि बढौं।यो नै आजको राष्ट्रिय आवश्यकता हो।
यो देशले हामी धेरै जानालाई धेरै दिय। अब धेरै लोभ नगरौं। क्षमतावान व्यक्तिलाई अवसर दिउँ।
(एमाओवादी नेता बाबुराम भट्टराईले संसद्को बैठकमा दिएको वक्तव्य)