नेपाली मन भएका मनकारी सिक्किमेलाई सलाम

0 5

आम मानिस आफ्नो र परिवारको चिन्तामा डुब्छन्। तीनै मध्ये कतिपय साथीभाइ र नातागोताको घेराभन्दा बाहिर पुगेर निश्वार्थ सेवा गर्ने पनि हुन्छन्।

हामी साझा सवालको आगामी कार्यक्रमका लागि अरूको चहराइरहेको घाउमा मल्हम लगाउन लागिपरेका नायकहरूको खोजीमा थियौं। सिन्धुपाल्चोक जिल्ला र देशभरि भएको मानवीय क्षति लगभग बराबर छ।

भूकम्पले सर्वनास पारेको त्यही जिल्लामा ‘रोलमोडल’को खोजी गर्न म र साथी मुकुन्द नेपाल मंगलवार बिहानै निस्कियौं।

अरनिको राजमार्गमा राहत बोकेर गुडिरहेका धेरै जीप, मिनी ट्रक र ट्रक उछिन्दै हामी अघि बढ्यौं। दाताको पम्प्लेट टाँसेको ट्रकको संख्या पनि उल्लेख्य थिए। हामी भने ‘सेवा गर्ने’ लिखितम् गरेका एनजिओ/आइएनजिओभन्दा पनि आफ्नै मर्जीले परोपकारमा समर्पित व्यक्ति वा समूहको कथा क्यामेरामा कैद गर्न चाहन्थ्यौं।

राहात र उद्दार कार्यमा सुगमकाले बढी लाभ पाए भन्ने गुनासो सुनिएकै थियो। त्यसैले पनि अलि टाढा ओझेल परेर काम गरिरहेको नायक भेट्टाउन चाहन्थ्यौं।

चौताराबाट मेलम्ची जाने कच्ची बाटोमा नवलपुर भन्ने गाउँ रहेछ। डाँडामा पनि थपक्क बसेको फराकिलो ठाउँ। प्राथमिक स्वास्थ्य केन्द्रले त्यो ठाउँ केहि गाउँको केन्द्र भएको जनाउ दिइरहेको थियो।

हामी त्यहाँ अलमल गर्दागर्दै सिक्किम (भारत)को नम्बर प्लेट भएको हेभी ट्रक कट्यो। साथी मुकुन्द भीडभाडमा भिडियो फुटेज खिच्न व्यस्त थिए। ‘इण्डियाबाट राहत लिएर आएको ट्रक हो,’ स्थानीयले जानकारी दिए।

त्यहाँबाट केहि बेर तल झरेपछि सिक्कमकै नम्बर प्लेट भएको अर्को ट्रक भेटियो। छतमा एक जना डायरी हेरेर नाम बोलाउँदै थिए। अरू तीन/चारजना मंगोल युवा कपडा, तेल, चामल, व्ल्याङ्केट बाँडिरहेका। उनीहरूले दिएको सामानको पोको लिन पाएका मानिसहरुले भूकम्पले दिएको आहात एकक्षणलाई भएपनि विर्सेजस्तो देखिन्थ्यो।

जनजातिहरू परोपकारी र ठूलो छाति गरेका हुन्छन् भन्ने धारणा मेरो मनमा गढेको छ। उनीहरूमा तेरो मेरोभन्दा पनि सरसहयोगको भावना बढि भएको म देख्छु।

म ती युवाहरूसँग कुरा गर्न ट्रकको छतमा चढेँ। उनीहरू सिक्किमबाट आएका रहेछन्। आफन्त, साथीभाइ र परिवार मिलेर उठाएको पैसाले सामान किनेर पुर्‍याउन आएका। ***

हामीले परिचय दियौं। कुरा गर्न खोज्यौं। उनीहरूबीच मिडियामा छाउने होडबाजी थिएन। सबैले मुखामुख गर्दै एक जना मझौला कदका व्यक्तिलाई जिम्मा लगाए।

‘म हस्तवीर राई,’ स्पोर्टी स्याण्डो र हाफ पाइन्ट लगाएका तीनले भने, ‘ हामी दक्षीण सिक्किमको नाम्चीबाट आएका हौं।’

‘उति टाढादेखि कसरी?’, हाम्रो पेशा नै प्रश्न सोध्ने।

उनले वेलिवस्तार नै लगाइदिए, ‘शनिबारको भूकम्पको धक्का सिक्किममा पनि अनुभव भएकै हो। टिभी न्यूजमा नेपालमा धेरै क्षति भएको भन्ने आइरहेको थियो। धरहरा नै भत्कियो भन्ने खबर आयो। धरहरा नै भत्केपछि अब के रह्यो र। सर्वस्व नै भयो होला भन्ने लाग्यो। हामीले धेरै खुल्दुली गर्‍यौ। नेपालमा दुर्दशा आउँदा हामीलाई पनि दुःख लाग्छ। दुःखको घडीमा हामी पनि रून्छौं। त्यो दिन टिभी हेरिबस्यौं। टिभीको दृश्यले असैह्य पीडा भयो। हामीहरू रूयौं।’

उनको यति कुरा सुनिसकेपछि मैले उनलाई रोकेर अर्को प्रश्न सोध्नुपर्थ्यो। म आफै पनि भक्कानिए। कण्ठबाट बोलि निकाल्न नसक्ने अवस्था आयो। आँखा रसाए भए। रोक्न खोज्दा खोज्दै अाँखा टलपद्य भएर राइ र मेरोबिचमा पर्दा लगाएजस्तो भयो।  ‘मैले आफू वरिपरिकै पीडितलाई केहि सजिलो बनाइदिन सकेको छैन,’ त्यतिबेला मेरो मनमा कुरा खेलिरहेको थियो, ‘मेरै आँखा अगाडिको भुँइचालो यिनीहरूलाई मलाई भन्दा धेरै दुखेछ।’

राई पहिलो प्रश्नको जवाफ दिइरहेकै थिए, ‘हाम्रो नेपालमा यस्तो विपद् पर्‍यो। दिनेलाई कहिल्यै अपुग हुँदैन त्यसैले सकेको दिनुपर्छ भन्ने लाग्यो। यति टाढाबाट जाने भएपछि पूराना जडौरी दिएर के काम। विपद्‌मा परेकालाई एकछिन भएपनि हाँसो दिउँ भन्ने लाग्यो। राम्रै चिज लैजाऊ भन्ने लाग्यो। परिवार ठूलो छ। साथीभाइसँग पनि सल्लाह गर्‍यौ। आफूले अरुलाई हेरेपछि भगवानले आफूलाई हेर्छन् भन्यौं र काम थाल्यौं। नाम्ची सानो ठाउँ हो। नेपालको माया गर्ने इष्टमित्र र साथीभाइ धेरै छन्। त्यसैले पैसा र सामान गरि झण्डैं चालिस लाख आइसीको जति जम्मा गर्यौं।’

उनीहरूलाई एक बचन सिक्किम राज्य सरकारलाई पनि खबर गर्नुपर्‍यो भन्ने लाग्यो। नभन्दै सरकारले सहयोग गर्‍यो। अब राशन र लत्ताकपडा गरेर दुईवटा हेभी ट्रक भरियो।

‘हामी भारतको नागरिक भएपनि मन नेपाली भएकाले यो पीडामा छट्पटायौं,’ राईले भने, ‘सानो सहयोगले यहाँ कसैको अनुहारमा खुसी देख्न पाइयो भने हामी झन् रमाउँछौं, यो खबर लिएर घर फर्केपछि हाम्रा साथिभाइ र परिवार  हामीभन्दा धेरै खुसी हुन्छन्।’

***

धेरैजसो राहात पक्की सडक वा सुगम ठाउँमा पुगिरहेको छ। सिन्धुपाल्चोकमै पनि मेलम्ची, बाह्रवीसे वा सदरमुकाम चौताराजस्ता केन्द्रमा राहत बोकेका सवारीसाधनको लर्को अन्यत्रभन्दा लामै छ।

सिक्किमे टोली कसरी नवलपुर आइपुग्यो?

‘हाम्रो नर्सरीमा एक जना हेडमाली हुनुहुन्छ- सुकमान तामाङ। उहाँको घरवास सखाप भयो भन्न थाहाँ भइहाल्यो। अर्का प्रधानज्यू पनि मेरोमा हेड कुक हुनुहुन्छ। उहाँको त बैनी नै बित्नुभएछ। दुःखमा उहाँहरु र परिवारलाई भेट्नु त आउन परिहाल्यो। त्यहिँ मौकामा अरू पीडितलाई पनि केहि सहयोग गरौं भनेर हामी यता आइयो हौ। सबभन्दा मुख्य कुरा त न्यूजले पनि सिन्धुपाल्चोकमा त तबाहा नै भयो भनिरहेकै थियो,’ राईले भने।

सुनबहादुरको ठेगाना नवलपुर ७ नम्बर वडा भरिलाई पुर्‍याउने अन्दाज गरेर उनीहरूले सामान लोड गरेका थिए। ल्याएको सामान ८ र ९ नम्बर वडामा दिन पनि पुग्यो। सिक्कममा चार वर्षअघि विनासकारी भुँइचालो गएको थियो। त्यसले विपद्‌मा कस्ता स्वास्थ्य समस्या हुन्छ भन्ने ज्ञान उनीहरूलाई दियो। दबाई मनखुसी खाएर भएन, मिलाएर खानुपर्‍यो। उनीहरूले अक्कल निकाले, ‘गाउँलेले पत्याएको औषधि पसलेलाई जिम्मा लगाउने। ताकि उसले आवश्यकता अनुसार ‘डोज’ मिलाएर दिन सकोस्।’

***

एक त हामी उदाहरणीय काम गरिरहेका धेरै स्वयंसेवीको खोजीमा थियौं। अर्को सिक्किमे टोलीले मलाई यति भावुक बनाइदिए कि म गाँठो परेको मुटु फुकाएर थप प्रश्न गर्न सक्ने अवस्थामा थिइँन। राईको फोन नम्बर मागेर हामी बाटो लाग्यौं।

मलाई उनीहरूले गरेको कामको ठूलै ‘कभरेज’ नगरि न्याय हुन्न भन्ने उतिबेलै लागिसकेको थियो। राहत बाँडेर उनीहरू काठमाडौं आइपुगे। बुधबार भेटियो।

यो भेटमा मैले उनीहरुलाई नेपालको औंधी माया लाग्ने अरू नाता के रहेछ जान्न खोजे। ‘हाम्रो बाजे, बराजु संखुवासभाबाट हो नि त,’ राईले भने। अहिलेसम्मको कुराकानीमा एक शव्द नबोलेका दुई जनाले बल्ल मुख खोले, ‘म डिके राई हाम्रा पुर्खा पूर्व पाँच नम्बरबाट, म डिके भण्डारी मेरो बाजेहरू पनि दोलखाबाट गएका हुन्।’

फेरि उनीहरूले वर्षेनी उत्सव मनाउने आदिकवि भानुभक्त आचार्य, नारायण गोपालदेखि गोपाल योञ्जनको कालजयी नेपाली गीत, पहाडको रनवन, बिहेवारी लगायत दर्जनौं पिरतीका सूत्रले मेची नदीले छुट्टाएको राजनीतिक सीमालाई मेटेको रहेछ।

यसअघि नै नाम्चीबाट राहत बोकेर १४ वटा ‘युटिलिटी भ्यान’मा राहात सामाग्री नेपाल आइसकेको रहेछ। ‘त्यतिबेला पनि भुटियाज्यूले पचास हजार दिनुभएथ्यो,’ हस्तवीर राईले जानकारी गराए। मैले नवलपुरदेखि नै ‘मार्क’ गरेको ती खाइलाग्दा रहेछन् बि. छिरिङ भुटिया।

भुटियाको नेपालसँग फुटबल नाता पनि रहेछ। नेपाली फुटबलको स्वर्णकाल अर्थात मणि शाहको दुबै खुट्टाले जादु देखाउने बेला भुटिया भारतका राष्ट्रिय खेलाडी रहेछन्। सिक्किम ११ का तर्फबाट कैयौं पटक नेपालमा खेल्न आएका यिनको शाह, उतिबेलैका फुटबल स्टार उमेश प्रधान, राजेश मानन्धर, सञ्जिव मिश्र, लोकबहादुर शाहीहरुसँग ‘दोस्ती’ रहेछ।

नेपाल ११ टिम फुटबल खेल्न पटक पटक सिक्किम जाँदा त्यो मित्रताको गाँठो झनै कस्सिएको रहेछ। त्यसो त भुटिया लगायतका धेरै सिक्किमवासी भारतका क्लव र नेपाली टिमको फुटबल म्याचमा नेपालको ‘सपोर्ट’ गर्थे रे।

‘मोहन बगान, इष्ट बङ्गाल, महिन्द्रा एण्ड महिन्द्रालगायत क्लबहरुसँगको म्याचमा उताका मान्छे उतै भएको गेममा नेपाल ११ कै सपोर्ट गर्थे,’ भुटिया भन्छन्, ‘झन् केटीहरू त सिक्किम र नेपालकै म्याचमा पनि मणि शाहहरूलाई सपोर्ट गरिरहेका हुन्थे।’

अहिले भुटियाको फुटबल खेल्ने उमेर छैन। अहिले तपाईलाई नेपालसँग सबैभन्दा दह्रोसँग के ले जोडेको छ? मैले भुटियासँग जान्न खोजे।

‘दशैं, तिहार नि…’ मेरो बोली खस्न नपाउँदै उनले जवाफ दिए, ‘सिक्किममा हामीलाई एक ढिक्का बनाएर नेपालसँग जोड्ने त देउसी, भैलो हो नि त।’

नेपालको यति माया गर्दागर्दै दुई दिने सिन्धुपाल्चोक बसाईमा यिनीहरूलाई केहि कुराले दाँतमा ढुंगा लागेजस्तो भएछ। ‘यहाँका मान्छेको एउटा बानी मलाई चित्त बुझेन। आफैले भोट हालेर बनाएको सरकारलाई अलिकति पनि विश्वास नगर्ने खाली बुरूकबुरूक १२ हात उफ्रिने रहेछन्,’ राईले भने, ‘आखिरमा गर्ने त सरकारले हो। रिझाएर पो काम लिनुपर्छ बिहानदेखि बेलुकासम्म गाली मात्र गरेर हुन्छ र।’

***

उनीहरुको यो उत्साहबारे जान्ने उत्सुकता मरेको थिएन। बिहिवार बिहानै म र फोटो पत्रकार प्रकाश लामा सुन्धारा पुग्यौं। त्यत्रो राशीको राहत लिएर आएका उनीहरू सुन्धाराको सामान्य होटलमा बसेका रहेछन्।

निधारमा बडेमानको चन्दन लगाएर राईद्वय र भुटिया खण्डहर बनेको धरहरा नजिक आइपुगे। पशुपति दर्शन गर्न भ्याइसकेछन्। ‘एक काज दो पन्थ गरेर आइयो,’ राईले ठट्टा गरे, ‘पशुपति दर्शन नगरि के फर्कनु भन्ने लाग्यो।’

प्रकाशलाई फोटो लिन सजिलो बनाइदिन हामी एउटा चिया पसलामा छिर्‍यौ। ‘दिउँसो भुइँचालो आएर क्षति कम भो। छुट्टीका दिन नपरेको भए स्कूलमा के हुन्थ्यो होला?’ भुटियाले भने,‘मलाई त भगवानले हातै थापेजस्तो लाग्यो।’

सानो सहयोग ठूलो हल्ला गर्नेहरूबीच यी सिक्किमेहरू भिन्नै धातुका थिए। ‘अघि बिहानको कुरा पनि भन्नुस् न राईज्यू, भन्नुस न राईज्यू,’ भुटियाले कर गरिरहे।

‘हुन दिनुस् भुटियाज्यू, हुन दिनस्,’ संवाद सुने पनि मैले खोतलिन। फेरि मेरो मनले भन्यो हाम्रा सामुन्ने गरेको खासखुस गोप्य विषय होइन। लुकाउन खोजेको चिज हाम्रा लागि झन् महत्वपूर्ण हुनसक्छ।

विदा हुनुअघि भुटियालाई सोधे। उनले मुख खोलिहाले, ‘राईज्यूले बिहान पशुपति वृद्धाश्रममा राम्रै दान गर्नुभयो।’

‘रकम नभन्नुस हैं भुटियाज्यू,’ राई अल्ली रातो पिरो भएर भने, ‘यति दिए, उति दान गरे भनेर गाउँदै हिँडेपछि पूण्य हुँदैन क्या!’

***

उनीहरूलाई अहिले गरेको कामले सन्तोष मिलेको छ, तर धित मरेको छैन। ‘उता गएर फेरि आफन्त साथिभाइ र इष्टमित्र जुट्छौं,’ राईले बाचा गरे, ‘गच्छेले भ्याएको सहयोग लिएर अरू गाउँ पनि जान पाए हाम्रो मनलाई अलिकति आनन्द मिल्थ्यो।’

छुट्टिने बेला राईले भनेको र भुटियाले समर्थन गरेको वाक्य मेरो कानमा गुञ्जिरहेकै छ, ‘हामी फेरि सकेको लिएर आउँछौं। मान्छे भएर दुःखमा काम नलागे, मान्छे हुनुको के अर्थ?’