पत्रपत्रिकाबाट – रसुवामा हराइरहेकाबारे प्रशासन बेखबर, उद्धारकालागि चीनसँग आग्रह

0 10

सोलुखुम्बुका छेटु शेर्पा लाङटाङमा हराइरहेका आफन्त खोजीमा मंगलवार रसुवाको धुन्चे आइपुगे। रोल्पा, दाङ, सल्यान, कपिलवस्तु, धादिङलगायत जिल्लाबाट उनीजस्ता कैंयौं सदरमुकाम थुप्रिएका छन् तर उनीहरुका आफन्तको अवस्था कस्तो छ, कुनै पत्तो छैन।

श्वास वा लास खोजिदिनुपर्यो भन्दा प्रशासनका अधिकारी भन्छन्, ‘पहिरोले जताततै बाटो पुरिएको छ, कहाँ, कति पुरिएका छन्, कति कार्यरत थिए, भन्न सकिने अवस्थै छैन ।’ शेर्पासँगै गाउँका चार जना रसुवा आए पनि दुई दिनसम्म आफन्तबारे खबर पाउन सकेका छैनन्, नागरिक दैनिकमा खबर छ।

शक्तिशाली भूकम्पको चौथो दिन बिहीबार पहिलोले बाटो पुरिएर अलपत्र पाँच ब्यक्तिलाई उद्योगीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। महाभूकम्पले चीनसँगको प्रमुख ब्यापारिक मार्ग स्याप,बेसीदेखि रसुवागढीसम्मको बाटो पुरिएको छ। रसुवागढी नाका खुलाउन बुधवार रसुवा आएका गृहसचिव सूर्य सिलवालले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग बाटो खुलाउन आग्रह गरिने जानकारी दिए। चीनले आफ्नो क्षेत्र केरुङ हुवान प्रान्तबाट बाटो खुलाउने कार्य सुरु गरेको छ।

निर्माणाधिन जलविद्युत आयाजनाका लागि खनिएको मैलुङ क्षेत्रका सडक खुलाउन भने कम्तिमा ६ महिना लाग्ने सुरक्षा अधिकारीहरु बताउँछन्। महाभूकम्प गएको १४ दिनसम्म पनि रसुवामा कतिजनाको हताहती भयो र कतिजना बेपत्ता छन् भन्नेमा प्रशासन अन्यौलमै छ। उद्धारका लागि हेलिकोप्टर ब्यवस्था गर्न नसक्दा सीमा क्षेत्र टिमुरेमा वेपत्ताको खोजी हुन सकेको छैन। त्यसका लागि चीनसँग आग्रह गरिसकिएको प्रशासनले जनाएको छ।