विशेष समय सकियो

0 4

काठमाडौँ, २६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता दीपक बोहराले भूकम्पछि सरकारले उद्धार र राहतका लागि आवश्यक समन्वय गर्न नसकेको आरोप लगाउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको विशेष समयमा भाग लिँदै नेता बोहराले भूकम्प प्रभावित जिल्लामा नेपालका मन्त्रीलाई नै खटाएर पुनःनिर्माणलाई तीव्र तुल्याउन सुझाव दिनुभयो ।

तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्लले सरकारले उद्धार र राहतका लागि राजनीतिक दल र सरकारी समयन्त्रलाई ठीक ढङ्गले परिचालन गर्न नसकेको बताउनुभयो ।

नेपालीलाई दुःख परेका बेलामा सीमा क्षेत्रका भारतीय नागरिकले समेत गाउँगाउँबाट राहत सङ्कलन गरेर नेपाल पठाइरहेको बताउँदै उहाँले त्यसरी सङ्कलन भएको राहतलाई आवश्यकता र समानुपातिक ढङ्गबाट वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।

नेकपा (माले)का सिपी मैनालीले राहत र उद्धारको कार्यका साथै ऐतिहासिक तथा धार्मिक धरोहर पुनःनिर्माणका लागि सरकारले तीव्रता दिन आवश्यक भएकामा जोड दिनुभयो ।

उहाँले राहत तथा उद्धारका लागि राजनीति संयन्त्रलाई परिचालन गर्न सक्नुपथ्र्यो तर अहिलेसम्म पनि त्यसलाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकिएकाले यसलाई सबैले मनन गरी आगामी दिनमा यसको परिचालनमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

स्थानीय निकायको निर्वाचन २०७२ सालभित्रै सम्पन्न गर्न सकेमा उद्धार तथा पुनःनिर्माणका कार्यलाई तीव्रता दिन सकिने पनि उहाँको धारणा थियो ।

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का लालबाबु राउतले भूकम्पपीडितको राहतका लागि पार्टीले मधेसमा मुठ्ठीदान गर्न आह्वान गरेको बताउँदै सरकारले राहत र उद्धारलाई प्रभावकारी तुल्याउन नसकेकामा दुःख व्यक्त गर्नुभयो ।

सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले भूकम्पपछिको विपत्तिको सामना गर्न मुलुकका सबै राजनीतिक दल एकताबद्ध भएर काम गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

यसपटकको भूकम्पले अर्काे अन्तर्राष्ट्रिय विमानस्थलको तत्काल निर्माण आवश्यक रहेको थप पुष्टि गरको उहाँले बताउनुभयो ।

सङ्घीय समाजवादी पार्टीकी राधादेवी तिमिल्सिनाले राहत र उद्धारलाई समन्वयका साथ अघि बढाउन तथा भत्किएका घरपरिवारलाई तत्काल कर्कट पाता उपलब्ध गराउन माग गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका नारायणमान विजुक्छेले सरकारले भूकम्पपीडित जनताका लागि घोषणा गरेको राहतका कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्न माग गर्नुभयो ।

उहाँले ऐतिहासिक पुरातात्विक महत्वका मठमन्दिर, देवालय, सार्वजनिक भवन निर्माणमा सरकारले ठेक्का दिएर पन्छाउने नभई आफैँले निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

तराई–मधेस सद्भावना पार्टीका नरेन्द्र साह कलवारले भूकम्पपछि मुलुक अप्ठ्यारो परिस्थितिमा परेकाले सबै मिलेर मुलुकलाई विकासको पथतर्फ अग्रसर गराउन एकताबद्ध हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा नेपालका चित्रबहादुर केसीले राजनीति गर्ने भनेको सत्तामा पुग्नेभन्दा अर्को चिन्ता नहुनु र भूकम्पबारे सरकारले पूर्व सावधानी र आवश्यक तयारी गराउन नसक्दा ठूलो जनधनको क्षति भएको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का जयदेव जोशीले मुलुकमा प्राकृतिक विपत्तिका बेला सरकारको मात्र मुख नताकेर जो जसले जुन पस्थितिमा छ यतिखेर सबैले सहयोगका हात अगाडि बढाउन आग्रह गर्नुभयो ।

नेपाल परिवार दलका एकनाथ ढकालले विपत्तिपछि मुलुकमा राष्ट्रिय एकताको अवसरलाई नयाँ नेपाल निर्माणमा लगाउनुपर्छ त्यसका लागि राष्ट्रिय सहमतिको सरकारसमेत गठनको आवश्यकता देखिएको बताउनुभयो ।

राष्ट्रिय जनमुक्ति पार्टीका शिवलाल थापाले भूकम्पबाट आहत भएका नागरिकलाई सरकारी तवरमा भएको राहत तथा उद्धारका कार्यक्रम समन्वयको अभावमा चुस्त हुन नसकेको विचार प्रकट गर्नुभयो ।

सङ्घीय सद्भावना पार्टीका डा डिम्पलकुमारी झाले सबैले सबैलाई उद्धार तथा राहत पु¥याउन आह्वान गर्नुको साटो सरकारले राहत प्रदान गर्ने सन्दर्भमा अघि सारेको एकद्वार प्रणालीबाट पीडितले छिटो राहत पाउने अवस्थालाई अप्ठ्यारो बनाएको धारणा राख्नुभयो ।

भूकम्पबाट भएको जनधन, राहत, पुर्नवास र पुनःनिर्माणमा केन्द्रित रहेर सांसदहरुले संसद्मा बोल्ने क्रम आजै सकिएको छ । व्यवस्थापिका–संसद्को अर्काे बैठक आजै आधा घन्टापछि बस्ने गरी स्थगित भएको छ । रासस