साँखुका भग्नावशेष हटाउन तीनवटा मन्त्रालय खटिए

0 8

काठमाडौँ, २६ वैशाख । सरकारको निर्देशनमा तीनवटा मन्त्रालय र अन्तर्गतका कार्यालयका कर्मचारीले वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त बनेको काठमाडौँको पूर्वी भेगस्थित साँखुका भग्नावशेष हटाउने काम सुरु गरेका छन् ।

भग्नावशेष हटाई सरसफाइ गर्न आज शिक्षा सचिव विश्वप्रकाश पण्डित, कृषि सचिव जयमुकुन्द खनाल र वन सचिव शङ्करप्रसाद अधिकारीलगायत दुई हजार कर्मचारी ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक सहर साँखुमा उपस्थित भएका थिए ।

कार्यक्रममा शिक्षा सचिव पण्डितले घरलगायत भौतिक संरचना भत्किएर साँखु सहरभित्रको बाटो छेकिएकाले काम नलाग्ने संरचना उठाएर थुपार्न र काम लाग्ने संरचना सुरक्षित साथ राख्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।

सफाइमा साँखु बसपार्कनजिकको भौ ध्वाख्वा (बुहारी भित्र्याउने) टोलदेखि धुँलाटोलसम्म वन सचिव अधिकारी, भाग्योदय उच्चमाविबाट तलेजु मन्दिर हुँदै साल्खा टोलसम्म शिक्षा सचिव पण्डित, सुनटोलको साँघा ढोकादेखि सलाखु टोलसम्म कृषि सचिव खनालको नेतृत्वमा भग्नावशेष हटाउने र सरसफाइ गर्ने काम भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका निर्देशक गोपालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै सालीनदी जाने सडक हुँदै साल्खा टोलको महादेवस्थानसम्म शिक्षा मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीको े नेतृत्वमा भग्नावशेष हटाउने र सरसफाइ गर्ने काम भएको छ ।

अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको पनि उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको थियो । भग्नावशेष हटाउने र सरसफाइ गर्ने अभियान सुरु भएपछि साँखु सहरमा हिँड्न सकिने भएको साँखु जेसिसका अध्यक्ष नवराज श्रेष्ठले बताउनुभयो ।

यसैगरी साँखुका भूकम्प पीडितका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिक्त्सिकहरुको समूहले १५० वटा जस्ताको ट्रस बनाइदिने भएका छन् । डा भगवान कोइराला, डा जगदीश अग्रवाल र डा रामकुमार घिमिरेको समूहले जस्तापाता दिएको साँखु जेसिसका पूर्व अध्यक्ष तुलसी श्रेष्ठले जानकारी दिनुभयो ।

शङ्करापुर नगरपालिकाको ११ नं वडाबाट ट्रस बनाउने काम सुरु भएको छ । जस्तापातालाई व्यवस्थित गरी जेसिस, लायन्य क्लब अफ साँखु र नेपाल रेडक्रस सोसाइटी उपशाखा साँखुले ट्रस बनाउनका लागि जस्ता उपलब्ध गराउन लागेको हो ।

साँखुका भूकम्पपीडितलाई अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआइडी) ले एक हजार वटा पाल, नेपाली सेना र रेडक्रसले गरी ८७ वटा टेण्ट वितरण गरिसकेका छन् ।

जस्ताको ट्रसको निर्माण परीक्षणका रुपमा भएकाले उपयोगी प्रमाणित भएमा ४०० वटासम्म बनाइदिने त्रिवि शिक्षण अस्पतालका चिकित्सकको समूहले प्रतिबद्धता जनाएको स्थानीयवासी पवनलाल श्रेष्ठले बताउनुभयो । रासस