राजनीतिक दलहरुबीच राहत तथा उद्धार कार्यमा अभूतपूर्व एकता

0 6

काठमाडौँ, २६ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पबाट मुलुक अहिले शोकमा डुबेको भए पनि राजनीतिक दलहरुबीच राहत तथा उद्धार कार्यमा अभूतपूर्व एकता देखिएको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा पहिलो वक्ताका रुपमा भाग लिँदै उहाँले भूकम्पबाट भत्किएका संरचनामा परेका व्यक्तिहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

राहत उद्धारमा नेपाललाई माया गर्ने विदेशी मुलुक र अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक सहयोग र सद्भाव प्राप्त भएको बताउँदै वरिष्ठ नेता देउवाले पुनर्वास र पुनःनिर्माणमा अब राज्यका सबै शक्ति केन्द्रित गर्न आवश्यक छ भन्नुभयो ।

मुलुकको क्षमताले मात्र सबै पुनःनिर्माणको काम हुन कठिनाइ हुने हुँदा अन्तर्राष्ट्रिय दातृ समुदायको सहयोगमा संयमित भएर अघि बढ्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

सेना र प्रहरीको तल्लो तहसम्म पुग्ने संयन्त्र भएकाले राहत र उद्धारको काममा उनीहरुलाई अझ बढी जिम्मेवारी दिएर परिचालन गर्न आवश्यक रहेको बताउँदै वरिष्ठ नेता देउवाले पुनःस्थापनाको काम अत्यन्त चनौतीपूर्ण भएको धारणा राख्नुभयो ।

आगामी दिनमा भूकम्परहित भवन निर्माणका लागि बनाइएका आचारसंहितालाई कडाइका साथ लागू गर्नुपर्नेमा ध्यान पु¥याउनुपर्छ भन्दै उहाँले विपद्का समयमा काम गर्न एक बेग्लै मन्त्रालय गठनको आवश्यकतामा जोड दिनुभयो ।

यही वैशाख १२ गतेदेखि मुलुकमा पटक–पटक गएको भूकम्पबाट भएको जनधनको क्षतिका सम्बन्धमा केन्द्रित रहेर व्यवस्थापिका–संसद्को शुक्रबारबाट विशेष समय तोकेर छलफल हुँदै आएको छ । रासस