सिकारबाट रु ८५ लाख बढी राजस्व

0 6

बागलुङ, २६ वैशाख । ढोरपाटन सिकार आरक्षमा वर्षको दोस्रो सिकार याममा १२ नाउर र पाँच झारलको सिकार भएको छ ।

गत फागुन १ देखि वैशाख ७ गतेसम्म चलेको सिकारयाममा चलेको यस सिकार याममा विदेशी सिकारीलाई १३ नाउर र छ झारलको सिकार अनुमति दिइए पनि एक नाउर र एक झारलको सिकार हुन नसकेको आरक्ष कार्यालयले जनाएको छ ।

दोस्रो यामको सिकारबाट रु ८५ लाख ४७ हजार २०० राजस्व उठेको कार्यालयका संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले जानकारी दिनुभयो । बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा सिकार खुल्ला गर्ने गरिएको छ ।

पछिल्लो समय सिकारको दर बढेपछि राजस्व सङ्कलनमा पनि वृद्धि हुँदै आएको छ । बोलपत्र आह्वान गरेर पछिल्लो याममा नाउर सिकारको अधिकतम रु पाँच लाख ५५ हजार र न्यूनतम रु एक लाख ४६ हजार तथा झारलको अधिकतम रु छ लाख ४६ हजार र न्यूनतम रु चार लाख आठ हजार दर कायम गरिएको थियो । सिकारका लागि प्रतिस्पर्धा बढ्दै गएपछि राजस्वको दर पनि वृद्धि हुँदै गएको अधिकृत श्रेष्ठले बताउनुभयो ।

फागुन–वैशाख सिकार याममा छवटा सिकार एजेन्सीमार्फत् १३ विदेशी सिकारीहरू सिकार खेल्न आएका थिए । सिकारका लागि नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोबल सफारी प्रालि, ट्र्याक एन्ड टेल्र्स प्रालि र वपन नेपाल वाइल्ड लाइफ सफारीमार्फत सिकारी आएको आरक्ष कार्यालयले जनाएको छ ।

सिकार खेल्न अमेरिकन चार, जर्मनी दुई, स्पेनी दुई, नर्वेजियन, साउथ अमेरिकन, क्यानेडियन र डेनिसका एक÷एक जना सिकारी आएका थिए । केही सिकारीहरू हेलिकप्टरमार्फत आरक्ष पुगेर नाउर र झारलको सिकार गरी फर्किएका थिए ।

सबैजसो सिकारीहरू हेलिकप्टरमार्फत नै ढोरपाटन पुग्ने गर्छन् । आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ब्लक गरी छ ब्लकमा सिकार खेलाइने गरिएको छ ।

बर्सेनि ढोरपाटनमा सिकार खेलेबापत राज्यलाई तिर्नुपर्ने राजस्वको दर पनि बढ्दै गएको छ । सिकारबाट बर्सेनि करिब रु एक करोड बढी राजस्व उठ्ने गरेको छ । संसारका विभिन्न मुलुकबाट तालिमप्राप्त सिकारी ढोरपाटन आउने गर्छन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइँमा पर्ने गरेको छ । रासस