रु सात करोडको लागतमा नहर निर्माण सुरु

0 8

पथरी (मोरङ), २६ वैशाख । मोरङको नगरोन्मुख गाविस मधुमल्लामा रु सात करोडको लागतमा पक्की नहर निर्माण कार्य सुरु गरिएको छ ।

आठ किलोमिटर लम्बाइ तीन किलोमिटर चौडाइ र छ मिटर गहिराइ रहेको उक्त नहर टाँडी गाविसस्थित रचना काली दह खोला छेउको पहाड काटेर नहर निर्माण कार्य सुरु गरिएको हो ।

डिभिजन सिँचाइ कार्यालय इनरुवाका अनुसार सो नहर निर्माणका लागि रु चार करोड बजेट स्वीकृत भइसकेको छैन । सो नहर निर्माण सम्पन्न भएपछि एक हजार दुई सय हेक्टर जमिन सिञ्चित हुने नहर निर्माण उपभोक्ता समितिका अध्यक्ष याक्थुङ किरातीले जानकारी दिनुभयो ।

विगतका ठेकेदारको लापरबाहीले तोकेको समयमा नहर निर्माणको काम सम्पन्न गर्न नसकेपछि स्थानीय ठेकेदारको सहयोगमा सो नहर निर्माण कार्य दु्रत गतिमा भइरहेको डिभिजन सिँचाइ कार्यालय इनरुवाका इन्जिनियर अमरेन्द्र भगतले जानकारी दिनुभयो ।

एक वर्ष अगाडिदेखि निर्माण सुरु गरिएको सो नहरको करिब रु एक करोडको लागतमा एक किलोमिटर नहर र एक किलोमिटर ग्राभेल सडक निर्माण कार्य सकिएको छ । इन्जिनियर भगतका अनुसार नहर निर्माणबाट स्थानीय उपभोक्ता अत्यन्त उत्साही भएको र गुणस्तरीय रूपमा निर्माणको काम भइरहेको बताउनुभयो ।

स्थानीयवासीले नहर निर्माणपछि सिँचाइका लागि आकासेपानीको भर पर्ने झन्झटबाट मुक्त हुने विश्वास लिएका छन् । रासस