भूकम्पको वर्गीय प्रभाव : नेता र वरिष्ठहरू किन परेनन् ?

0 17

काठमाडौमा भूकम्प आएको पन्द्र दिनपछि पनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरु भूकम्पलाई ‘वाह क्या साम्यवादी ! कुनै धनि-गरिब, जति, भाषा, धर्म, लिङ्गको विभेद नगरी आउने ! सबैलाई समान रुपमा प्रभाव पर्ने’ भनेर प्रकृतिको अनुपम समानताको ब्याख्या गरेका छन् । धेरैले क्या गज्जब ! करोडपति र रोडपतिलाई भूकम्पले एकसाथ उस्तै पालमुनिका बासिन्दा बनायो जस्ता भनाइ जताततै देख्न सुन्न पाइन्छ ।

बैसाख १२ गते भूकम्प जाँदा हामी चितवनको जङ्गलभित्र थियौं । भोलिपल्ट बिहानै घरमा पुग्नासाथ   मेरा ससुराबाले भन्नु भो, ‘कुनै ठूला नेतालाई केही भएको छैन ।’

प्रकृतिको कम्पन समान भए पनि जसरी घरहरुमा असमान रुपमा क्षति पुगेको छ, यसैगरी असमानरुपमा भत्केका छन् मान्छेहरुका सपनाहरु !

मेरो राजनीतितिरको झुकाव बुझेर हुनुपर्छ, उहाँले यस्तो भन्नुभएको । उहाँको कुरा सुनेपछि मेरो मनमा अर्को एक लाइन थपियो, ‘ठूला नेतामात्र होइन, कुनै ठूला कलाकार, ठूला पत्रकार, ठूला लेखक, ठूला ब्यवसायी वा अरु कुनै महान, बरिष्ठ भनिने कसैलाई भूकम्पबाट केही भएको छैनन् ।’ मैले मनको कुरा मनमा नै राखें ।

काठमाडौ फर्केपछि महानगरपालिकाको ३३ वडामा भएको क्षति, त्यसको व्यवथापन, व्यवस्थापनका बिभिन्न कठिनाइलाई नजिकबाट हेर्ने मौका मिल्यो । काठमाडौं महानगरपालिकाको ३३ वडामा २० घर पूर्णरुपमा भत्केका छन् । भत्किएका मध्ये धेरै घर ९० सालको भूकम्पले हल्लाएका थिए । जुन घरका मालिकहरु अन्तै बस्थे र भाडा मात्रै उठाउँथे ।

वडा कार्यालयमा कुनै सहयोग पाइन्छ कि भनेर राहत लिन आउने दुई वृद्ध दिदीभाइ धेरैबेर बसेको देखेपछि हामीले उनीहरुसँग सामान्य गफ गर्यौं । उनीहरु जुन घरमा बस्थे, त्यो घरका मालिकको अनुहार कस्तो छ, उनीहरुले कहिल्यै देखेनन् । हरेक महिनाको पहिलो हप्ता कुनै खटाइएको मानिस आउँथ्यो र घरभाडा असुलेर जान्थ्यो । मालिकविहीन उक्त घरमा धेरै कुराको सुविधा थिएन ।

तर, उनीहरु सस्तो भाडा भएको कारण त्यहाँ बस्थे । भूकम्पको क्षतिको विवरणमा उक्त घरको नाम पनि छ । तर, उक्त घरमा बसेर सहरमा मजदुरी गर्ने मानिसहरुको जुन क्षति भएको छ, त्यसका बारेमा कतै कुरा भएको छैन । यसैगरी आफुले मजदुरी गरेर भेला पारेका सबैथोक भत्केको दरबारको भाग्नवशेषमा पुरिएका मानिसका बारेमा कसले बोलिदिने ? कसले सहयोग गरिदिने ?

धेरै मानिसले भनेजस्तो प्रकृतिले सबैलाई समान व्यवहार गर्छ । भूकम्पले मात्रै होइन, हरेक दिन चल्ने हावाको शीतलता, घामको पोलाइ सबैले सबैलाई समान व्यवहार नै गर्छ। तर, मानव समाजमा भोगिँदा त्यो धेरै प्रकारले विभेदित हुन्छ । अरबको खाडीमा काम गर्ने मजदुर र मालिकलाई आकाशमा रहेको एकै सूर्यले एकैखालको प्रभाव पर्दैन । मालिक र व्यवस्थापक बतानुकुल घरमा बस्छन् । बतानुकुल कार्यालयमा काम गर्छन् । बातानुकुल गाडीमा सयर गर्छन् । उनलाई रुसको जाडो र खाडीको गर्मीको वीचमा कति सेन्टिग्रेटको फरक छ भनेर महसुस हुदैँन । जो कामदार हरेक दिन चर्को घाममा काम गर्नु पर्ने बाध्यता हुन्छ, उसैलाई पर्छ गर्मी र जाडोको मार ।

भूकम्पले हल्लाउँदा काठमाडौका अरबपतिहरुको पनि पाल मुनिको बास जरुर भयो । तर, एक हप्तापछि उनीहरु आफ्ना आरामदायी घरमा फर्किसकेका छन्, डेरा भत्केकाहरु कहाँ फर्कने ?

खाडी नै किन जानु, हरेक दिन पानी आउँदाको काठमाडौकै कुरा गरौँ, जब काठमाडौमा पानी पर्छ, तब कार चढेर हिँड्ने कुनै ठूला-बरिष्ठको कुनै काम बिग्रिँदैन । काम त तिनको बिग्रिन्छ, जो बाटो छेउमा उभिएर लामो समय गाडी कुरेर बस्नुपर्छ ।

हरेक चैत्र बैशाखमा किन लाग्छ जाजरकोटमा मात्रै सरुवा रोगको महामारी ? किन लाग्छ तराईका मुसहर, डोम बस्तीमा आगलागी हरेक साल ? काठमाडौंका मजदुरहरु र गरिब विधार्थीमात्रै हरेक बर्ष जन्डिसले किन थालिन्छन् ? भूकम्पपछि काठमाडौको जनजीवन सामान्य बन्दैछ, तर पालमा नै रुँदै किन बसिरहेका छन् मानिसहरू ? ती पालमुनि कुनै महान- बरिष्ठ छन् र ? जरुर छैनन् । सहरको भन्दा खुल्ला स्थान भएको सिन्धुपाल्चोकमा किन भयो यति धेरै मानिसको मृत्यु ? यी सबै प्रश्नको जवाफ वर्गसँग जोडिन्छ ।

जाजरकोटमा पहिलो कुरा त डाक्टर जानै मान्दैनन् । नमान्नुको कारण छ, जाजरकोटका मानिसहरु महँगो पैसा तिरेर डाक्टरको क्लिनिकमा आउदैनन् । पैसा तिर्ने हैसियत भएकाहरु सहरतिरै बस्छन् । त्यही भएर जाजरकोटमा स्वास्थ्यको जिम्मा पाएको डाक्टर काज मिलाएर सहरतिर क्लिनिक चलाएर बस्छ ।

मुसहर बस्तीको कुरा पनि त्यही हो । व्यवस्थितरुपमा घर बनाउन सक्ने आर्थिक हैसियत छैन । आगोले भेट्ने घर, एउटामा आगो लागेपछि बस्ति नै  सखाप हुन्छ । जुन वर्गको घरसम्म मोटरको बाटो बनेको छैन, जुन बर्गका मानिसले बलियो घर बनाउन सकेका छैनन्, जुन स्थानमा महान-बरिष्ठहरु बस्दैनन्, त्यहीँ हुन्छ विपत्ति । चाहे त्यो भूकम्पको होस् वा कुनै महामारी ।

भूकम्पले हल्लाउँदा काठमाडौका अरबपतिहरुको पनि पाल मुनिको बास जरुर भयो । तर, एक हप्तापछि उनीहरु आफ्ना आरामदायी घरमा फर्किसकेका छन् । तर, उनीहरुसँगै पालमा बसेका घर-डेरा भत्केकाहरु कहाँ फर्कने भन्ने कुराले जो कोहीको मन चसक्क हुन्छ । प्रकृतिको कम्पन समान भए पनि जसरी घरहरुमा असमान रुपमा क्षति पुगेको छ । यसै गरी असमानरुपमा भत्केका छन् मान्छेहरुका सपनाहरु । र त्यो असमानता वर्गीय आधारमा छ ।