भूकम्पले देशभर तीन लाख घर ध्वस्त

0 7
ज्यान गुमाउनेको संख्या आठ हजार नजिक

काठमाडौं : वैशाख १२ मा आएको विनाशकारी भूकम्पबाट देशभर करिब तीन लाख लाख घर ध्वस्त भएका छन् ।

शुक्रबार बसेको व्यवस्थापिका संसद्को बैठकलार्इ सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले देशभर २ लाख हजार ९० हजार सात सय ५६ घर ध्वस्त भएको जानकारी दिएका हुन् ।

बैठकमा बोल्दै गौतमले सरकारले भूकम्प आचारसंहित कडार्इका साथ लागू गराउन नसक्दा ठूलो मानवीय र भौतिक क्षति भएको बताए । भूकम्पबाट २ लाख ५७ हजार २ सय ५३ वटा घरमा आंशिक क्षति पुगेको उनले जानकारी दिए ।

‘सरकारले भूकम्प आचार संहिता लागू गर्न नसक्दा देशले दुर्दशा भोग्नुपर्यो’, उनले भने, ‘गाउँका कच्ची घर काठमाडौंमा साँघुरा गल्लीमा मनपरी बनाइएका अग्ला घर मानिसका काल बने ।’

भूकम्पले घर भत्कँदा हालसम्म ७ हजार ९ सय ३ जनाको ज्यान गइसकेको गौतमले जानकारी दिए । भूकम्पका कारण १० हजार आठ सय एक वटा सरकारी कार्यालय पूर्णरुपमा ध्वस्त भएका छन् । त्यसैगरी १५ हजार २२ वटा कार्यालयमा आंशिक क्षति पुगेको छ ।

हजारौंको संख्यमा सरकारी कार्यालय ध्वस्त भएपछि सरकारी सेवा दिनसमेत समस्या भएकाले बैकल्पिक व्यवस्था भइरहेको गौतमले बताए ।

‘उद्धार, राहत र पुन:निर्माणमा सबै जुट्नु जरुरी छ। पार्टी भावना भन्दा माथि उठेर यो अभियानमा लागौं’, गौतमले भने, ‘सभासद्हरु अब गाउँमा फर्केर यो विपत्तिको सामना गर्न उद्धार र राहतमा जुट्नुहोस् ।’

सरकारले पेश गरेको तथ्यांक एकदमै थोरै भएको भन्दै भूकम्प पीडितले विरोध जनाइरहेका छन् । भूकम्पबाट दशौं हजार घर भत्केका दोलखा, नुवाकोट, धादिङ र गोरखासहितको जिल्लाको क्षतिको तथ्यांक थोरै भएको भूकम्प पीडितको गुनासो छ ।