आलेख समाचार ः ढल्यो ‘सरकारको घर’

0 8

गोरखाबजार, २५ वैशाख । भिरालो जग्गा । सुन्दर बस्ती । राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्ग नजिकै छ गाउँ । यी चेपाङ गाउँमा भोकमरीको समस्या बाह्रै महिना पर्छ । आफ्नो बारी छैन उनीहरुको । भए पनि भिरालो छ । लहरेबाली खेतीमा एक÷दुई पाथी बोडी उत्पादन हुन्छ । त्यसले एक महिनाजति मुस्किलले खान पुग्छ । एघार महिना भोकभोकै बस्नुपर्छ । बिहान सबेरै उठेर कमाउन जान्छन् घरमूली । घरका अरु सदस्य गिठ्ठा, भ्याकुर खोज्न जङ्गलतिर पस्छन् । गिठ्ठा पनि भनेका बेला पाइँदैन । दिनभर पसिना चुहाएर कमाएको थोरबहुत पैसाले खानेकुरा किन्छन् अनि घरतर्फ लाग्छन् गोरखाको मकैसिङ गाविस–१ सिम्लेका ४२ वर्षे मनबहादुर चेपाङ ।

दुःखजिलो गरेर ११ जनाको उनको परिवार बाँचेकै थियो । सरकारले जनता आवास कार्यक्रममार्फत नयाँ घर बनाइदिएको थियो । झुप्रो घर छाडेर उनीहरु नयाँ घर सरेको एक वर्षमात्रै भयो । गत वैशाख १२ गते गएको महाभूकम्पले त्यो घर गल्र्यामगुर्लुम ढल्यो । मनबहादुरले सुस्केरा हाल्दै भन्नुभयो, “सरकारको घर ढल्यो ।” महाभूकम्पले गोरखाको पाँच वटा गाविसका चेपाङ बस्तीमा क्षति पु¥याएको छ । मकैसिङ गाविसमा रहेको १४७ घरधुरीमध्ये ९० घर पूर्ण रुपमा भत्केर ध्वस्त भएको छ । बाँकी घर चर्केकाले मान्छे बस्न नहुने भएको छ ।

ताङ्लीचोक गाविस–९ स्थित भलायडाँडामा रहेको १५७ घरधुरीमध्ये ५० घर भत्केर ध्वस्त भएको चेपाङ अगुवा मकैसिङका बिल चेपाङले जानकारी दिनुभयो । मकैसिङ गाविसको रातमाटा, ताक्लुङ, भूम्लिचोक, घ्याल्चोक गाविसका चेपाङबस्ती अहिले खण्डहरमा परिणत भएको छ ।

‘धेरैजसो घर भत्कियो’ मकैसिङ गाविस–१ शिखरडाँडाका बुद्धि चेपाङले गुनासो गर्नुभयो, “मेरो घर चर्कियो । घरको चिम्नी भत्क्यो । यस्तो घरमा म कसरी बस्ने । नबसे परिवारलाई कहाँ लगेर पाल्ने ?” भिरालो जग्गा खारेर सरकारले चेपाङहरुलाई घर बनाइदिएको थियो । बर्सेनि ५० वटा घर बनाउँदै आएको सरकारले यस वर्ष पनि ५० नयाँ घर बनाउने तयारी गरेको थियो । निर्माण भइसकेका घर ड्याम्मै ढलेपछि ढुङ्गामाटोको ठूलो घरमा बस्ने चाहना हराएको छ चेपाङहरुको । “सिठाले बारेको । सिरुले छाएको घरले नै ज्यान जोगाउने रहेछ,” भूकम्पको झट्काले आत्तिएकी बज्ररेकी कल्पना चेपाङले भन्नुभयो – “घरले परिवारलाई सोत्तर बनाउँला जस्तो छ ।” उहाँको घर पनि सरकारले जनता आवासअन्तर्गत बनाइदिएको थियो । तर, ती घर चर्केर फाटेको छ ।

चेपाङहरुलाई सरकारले घर, शौचालय र भाडा माझ्ने रछ्यान बनाइदिएको थियो । अधिकांश घर भत्केर खण्डहर भएको छ । केही घर बस्न नहुने गरी चर्केका छन् । शौचालयहरु भने भत्केका छैनन् । “चर्पी भत्केन” बज्ररेका सोमबहादुर चेपाङले भन्नुभयो, “सिमेन्टले भुइँ पोतेर चर्पीमा प्यान राखेका थियौँ ।” सिमेन्टको प्रयोग गरिएका संरचनाहरु भूकम्पपछि यथावत् रहेको चेपाङहरु बताउँछन् । सरकारले बनाएका घर जगैदेखि भत्केको छ । पाँच वटा गाविसमा रहेका ६०० घरधुरीमध्ये भूकम्पले ४५० घरधुरी पूर्ण रुपमा क्षति पु¥याएको छ । अन्य घर आंशिक रुपमा क्षति भएको छ ।

“चोखो भन्ने एउटै घर छैन,” बिल चेपाङले भन्नुभयो, “पुनःनिर्माण गर्ने तागत चेपाङसँग छैन ।” हातमुख जोर्न समस्या रहेको उल्लेख गर्दै उहाँले चेपाङहरुको घर निर्माण गरिदिन सरकार समक्ष माग गर्नुभएको छ । “त्रिपाल पाएको छैन । बारीको पाटामा बस्नुपरेको छ,” उहाँले गुनासो गर्नुभयो, “विभिन्न ठाउँबाट खाद्यान्न सामग्री ल्याएर दिनुभएको छ । खान पाएका छौँ ।” भोकमरी समस्याले अनिधो रहने चेपाङहरुले राहत सामग्री गाउँमा पुगेपछि थप राहतको महसुस गरेका छन् । तर, त्रिपाल नपाएकाले बारीको पाटोमा बस्नुपर्दा चिसोले गर्दा उनीहरुमा सामान्य रुघाखोकी, ज्वरोजस्ता रोगका लक्षण देखा परेका छन् ।

चेपाङ गाउँका अधिकांश बालबालिकामा फेरि भूकम्प जाने त्रास ज्यूँकात्यूँ छ । स्थानीय प्रजाबस्ती प्राविमा कक्षा ३ मा पढ्दै आएका सरोज चेपाङले भन्नुभयो, “रुखहरु हल्लिरहेको जस्तो लाग्छ । भुइँ कापेको छ । मनमा डर लागिरहन्छ ।” विद्यार्थीहरु पढ्दै आएको उक्त विद्यालय भूकम्पले ध्वस्त बनाएको छ । “हाम्रो स्कुल पनि ढल्यो,” कक्षा २ मा पढ्ने अनिल चेपाङले भन्नुभयो, “अब कहाँ गएर पढ्ने ?” घर भत्केकाले उहाँको कापी, किताब पनि पुरियो । “कापी, कलम किन्ने पैसा छैन,” उहाँले दुःखेसो पोख्नुभयो । सरकारले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरु नीति बनाएर पुनःनिर्माण सुरु गर्ने जनाएको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले बिहीबार गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा ‘भूकम्प प्रतिरोधात्मक घर अबको आवश्यकता रहेको’ औँल्याउनुभयो । फेरि पनि सरकारले नयाँ घर बनाइदिने आशमा चेपाङहरु खुला आकाशमुनि दिनरात कटाइरहेका छन् । रासस