‘कन्टेनर’ को बासले दिएको छ, सुनौलो भविष्यको आश

0 6

बाह्रबिसे (सिन्धुपाल्चोक), २५ वैशाख । विनाशकारी भूकम्पबाट घरबारविहीन भई बाह्रबिसे गाविस तथा त्यस आसपास क्षेत्रका पीडित अहिले कन्टेनरमा बास बिताउन बाध्य छन् ।

काठमाडौँबाट करिब ९० किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा भूकम्पले धेरै ठूलो क्षति पु¥याएपछि ग्रामीण भेगका अधिकांश घर धुलोमा परिणत भएको छ । स्थानीयवासी अहिले जीवनको सुरक्षा खोज्दै सामान बोक्ने कन्टेनरमा सुत्ने, बस्ने र खाने गरिरहेका छन् ।

यही वैशाख १२ गते गएको भूकम्प तथा त्यसपछि आएका पराकम्पले स्थानीयवासी त्रसित मात्र हैन उनी यत्ति खेर केही सोच्ने स्थितिमा पनि छैनन् ।

नेपाल तथा चीनको सिमानामा पर्ने तातोपानी तथा खासा बजारबाट सामग्री ओसार्न प्रयोग हुने ती कन्टेनरमा एक सातादेखि बस्दै आउनुभएकी उर्मिला श्रेष्ठले मलिन स्वरमा भूकम्पकै कारणले असुरक्षा बढेपछि तत्काललाई ओत लाग्न त्यहाँ आएको बताउनुभयो ।

उहाँले बस्दै आएको घरमा क्षति पुगेपछि घरमा जान त्रास उत्पन्न भएको र भएका खाद्यवस्तु माटोमा मिसिएकामा चिन्ता व्यक्त गर्दै भविष्यमा पनि घरमा जानसक्ने अवस्था नरहेको बताउनुभयो ।

भूकम्पपीडितका लागि पु¥याउनुपर्ने राहतमा ढिलाइ भएको भए पनि धेरैले राहतस्वरुप केही पाएको उहाँलाई थाहा छ । तर ती राहत कसले ल्याइपु¥याएको हो भन्ने चाहिँ यहाँका भूकम्प पीडितहरुलाई थाहा छैन । भूकम्पले बजारका केही घर ढलेर ध्वस्त भएको देख्न सकिन्छ । भूकम्पले केही बलिया पक्की घरको संरचनामा समेत क्षति पारेको छ ।

बाह्रबिसे बजार नजिकै घर भएकी श्रेया श्रेष्ठलाई पाँच जनाको परिवारको कसरी गुजारा चलाउने भन्ने चिन्ताले त्यत्ति पिरोलेको छैन । कन्टेनरले सामान बोक्न थालेपछि कहाँ गएर बस्ने भन्ने कुरामा उहाँलाई ठूलो डर छ । उहाँले खुला आकाशमुनि बस्न नसकेकाले कन्टेनरमा बसाइँ सार्नुपरेको पीडा व्यक्त गर्दै केही प्रतिक्रिया दिन चाहनु भएन ।

यहाँ सडक किनारामा पार्किङ गरी राखिएका सयौँको सङ्ख्यामा त्यस्ता कन्टेनर छन् जहाँ गाडी चालक तथा धनीका आफन्त आश्रय लिइराखेका छन् । उनीहरुले त्यही सुनौलो भविष्यको योजना बुनिरहेका छन् ।

उनीहरुले सरसफाइमा समेत ध्यान दिन सकेका छैनन् । सरसफाइको अभावमा कुनै पनि रोगका सङ्क्रमण तथा महामारी फैलन सक्ने खतरा देखिएको छ । विद्युत् आपूर्ति हुन नसकेकाले बिजुली बत्ती बल्न सकेको छैन । मोबाइल चार्ज गर्न नजिकका सौर्य ऊर्जा भएका घर तथा स्थानमा आउन परेको छ ।

स्थानीय धरपाका दुर्गा तामाङले भन्नुभयो, “गाविस र वडा प्रहरी कार्यालयको सक्रियतामा प्रतिघरपरिवार ३० किलो चामललगायत खाद्य सामग्री राहतस्वरुप प्राप्त भएको छ । राहतको समस्या अहिले छैन, पालको अभावले गर्दा रुख तथा खुला आकाशमुनि स्थानीयवासी बस्न बाध्य छन् ।”

उहाँले अविलम्ब सरकारी तथा गैरसरकारी संस्थाले पालको व्यवस्था गरिदिन आग्रह पनि गर्नुभयो ।

सोही भूकम्पमा परी घाइते हुनुभएकी विष्णुमाया पाख्रिनको अहिले उठ्न नसक्ने गरी ढाड दुखेको छ । उहाँको घर पूर्णरुपमा ध्वस्त भएपछि अहिले सात जनाको गोठमा बसाइँ सरेको छ । गोठमा खासै क्षति नभएकाले त्यहाँ रहेका गाई, बाख्रासँग बस्दा सुरक्षित भएको महसुस गर्नुहन्छ ।

उहाँले भूकम्पपीडितलाई दिइने क्षतिपूर्ति, राहत तथा व्यवस्थापनमा सरकार पारदर्शी हुनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो । रासस