उच्चस्तरीय प्रभावशाली संयन्त्रको आवश्यकता छः गच्छदार

0 1

विराटनगर, २५ वैशाख । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले भूकम्पपीडित परिवारबीच राहत प्रदान गर्नेलगायत कार्यका लागि सबै राजनीतिक दल ऐक्यबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दैै उहाँले आजै संंसद्मा साझा सङ्कल्प प्रस्ताव प्रस्तुत हुने जानकारी गराउनुभयो । सो प्रस्तावको माध्यमबाट एउटा उच्चस्तरीय प्रभावशाली संयुक्त संयन्त्र गठन गरी त्यसलाई राहत वितरण, पुनःसंरचनालगायत कार्यको स्थलगत निरीक्षण र मूल्याङ्कनलगायत अधिकार प्रदान गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

भूकम्पपीडित परिवारको उद्धार र राहत वितरणमा विदेशी मुलुकका साथै विभिन्न दातृनिकायको भूमिका प्रशंसनीय रहेको र प्राप्त सहयोगलाई व्यवस्थित ढङ्गले सदुपयोग गर्नुपर्नेमा सबै सजग हुनुपर्ने उहाँले औँल्याउनुभयो ।

दुर्गम क्षेत्रका कतिपय पीडित परिवारबीच अहिलेसम्म राहत नपुगेको उल्लेख गर्दै उहाँले वर्षायाम नजिकिएकाले घरवारविहीन परिवारलाई अविलम्ब जस्तापाता उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो–“ संविधान निर्माणको प्रक्रियालाई थाती राखेर यतिखेर सबै पीडित परिवारलाई पुनःस्थापनातर्फ केन्द्रित हुनुपर्छ ” । रासस

You might also like More from author