पर्याप्त राहतको प्रतीक्षामा बारपाकवासी

0 9

बारपाक (गोरखा), २५ वैशाख । केन्द्रबिन्दु बारपाकलाई बनाएर यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडित बारपाकवासी अझै पनि राहतको प्रतीक्षामा रहेका छन् ।
यही वैशाख १२ गते बारपाक केन्द्रबिन्दु बनाएर विनाशकारी ‘गोरखा भूकम्प’(७.६ म्याग्निच्युड स्केल) गएको थियो । भूकम्पको केन्द्रविन्दु सदरमुकाम गोरखा बजारबाट ५०किमी उत्तरपट्टि पर्छ, जहाँ गुरुङ जातिको बाहुल्य छ । एक हजार २७२ घरधुरीमध्ये एक हजार ६९ घरधुरी ध्वस्त भएको सो गाविसमा सरकार र विभिन्न सङ्घसंस्थाले राहत वितरण गरे तापनि राहतका नाममा सामान्य बिस्कुट र चाउचाउ मात्र पाएको स्थानीयवासीको गुनासो छ ।

सरकार र विभिन्न सङ्घसंस्थाले वितरण गरेको राहतसमेत पारदर्शी रूपमा वितरण हुन नसकेको स्थानीय भूकम्पपीडितले गुनासो गरेका छन् । बारपाक–८ तोरोङटोलका भूकम्पपीडित भाग्यमान घलेले राहतका नाममा अहिलेसम्म दुई केजी चिउरा मात्र पाएको बताउनुभयो ।

उहाँ राहतको आसमा बिहानै थुन्से र डोको बोकेर सिम्जुङ गाविसको बालुवा बजार पुग्नुहुन्छ तर बेलुका रित्तै फर्किनुपर्छ । भूकम्पका कारण भएको घर ध्वस्त भएपछि एउटा त्रिपालसमेत नपाएर खुल्ला आकाशमुनि बस्दै आउनुभएका घलेले भन्नुभयो, “सबैले बारपाकमा हेलिकप्टरबाट राहत आएको छ भन्छन्, खै हामीले पाएको होइन, दुई घन्टाको बाटो हिँडेर बालुवा पुग्दासमेत रित्तै हात फर्कनुपरेको छ ।” उहाँले विभिन्न राजनीतिक दलका नेताले राहत वितरण गर्ने आश्वासन मात्र दिएको आक्रोश व्यक्त गर्नुभयो । उहाँका अनुसार जसलाई आवश्यक छैन उसले दुई÷तीन पटकसम्म राहत पाएको छ, तर जसले पाउनुपर्ने हो उसले एक पटक पनि पाएको छैन ।

बारपाक–७ का दिलबहादुर घलेले आफूजस्ता तल्लोस्तरका जनताले भन्दा पनि पहुँचवालाले मात्र राहत पाएको दुःखेसो गर्नुहुन्छ । “हेलिकप्टरबाट आएको राहत त अहिलेसम्म पाएको छैन, उही माटोमा मिसिएको कोदो, मकैलगायतका अन्न निफनेर जनतन खान टार्ने काम भएको छ”, उहाँले भन्नुभयो ।

अहिले तत्काल बासभन्दा पनि गाँसको आवश्यकता भएको बारपाकवासीको भनाइ छ । बारपाक गोचे–३ की धनकुमारी घलेलाई अहिले बासको भन्दा पनि आफ्ना छोराछोरीको कसरी पेट भरिदिने भन्ने तनाव छ । “अहिले त केको घर÷टहरोको बारेमा सोच्नु र ? खानकै लागि समस्या छ, राहतभन्दा त्यही चिउरा, बिस्कुट, दालमोठ मात्र पाइएको छ, चामल दिएका छैनन्, त्यो चिउरा, बिस्कुटले त केटाकेटीको पेटै भरिन्न”, घलेले भन्नुभयो ।

“कस्तो दैव लाग्यो बरै, न आफन्त रहे, न सम्पत्ति, यता राहत नपाउनुको पीडा छुट्टै छ”, बारपाक–७ दमाईंटंोलका प्रकाश गुरुङले निरास मुद्रामा दुःखेसो गर्नुभयो । गुरुङ समुदायको बाहुल्य रहेको बारपाकका नौ वटै वडा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बारपाकमा रहेका एक हजार २७२ घरधुरीमध्ये एक हजार ६९ घरधुरी ध्वस्त भएका छन् । सो गाविसमा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । करिब १३० जना घाइते भएका छन् । सो गाविसमा आएको पहिरामा पुरिएका दुई जनाको शव अहिलेसम्म पनि निकालिएको छैन ।

भूकम्पका कारण पहिरो गएकाले गाडी जान नसक्दा सिम्जुङ गाविसको बालुवा बजारबाट सर्वसाधारण कठिन यात्राका बीच भूकम्पको केन्द्रबिन्दु बारपाक गाविसमा आउने जाने गरिरहेको पाइन्छ । केन्द्रविन्दु भएको बारपाकका ४, ५, ६, ७, ८ र ९ वटा वडा एकै ठाउँमा झुरुप्प देखिन्छ ।

सो गाविसमा हेलिकप्टरको सहयोगमा राहत वितरण गरिँदै आएको छ । बारपाकमा सबैभन्दा बढी बालबालिका र ज्येष्ठ नागरिकको मृत्यु भएको छ । अब बारपाकमा पहिलेकै जस्तो बस्ती बसाल्न ५० वर्ष लाग्ने स्थानीयवासी भूकम्पपीडित नारायण गुरुङको भनाइ छ । भूकम्पका कारण बारपाक र सौरपानी गाविसको सिमानामा पर्ने दुई खोलासमेत सुकेको स्थानीयवासी रामप्रसाद गुरुङले जानकारी दिनुभयो ।

बारपाक गाविसलाई भनेर आएको राहत बीचबाटामै लुटिने गरेको बारपाक–८ का कृष्णबहादुर गुरुङको भनाइ छ । बारपाकसँगै जोडिएका सिम्जुङ, सौरपानी र लाप्राकलगायत गाविसका भूकम्पपीडितले समेत राहत पाउन नसकेको गुनासो गर्दै आएका छन् । रासस