भूकम्पका कारण भत्केका धार्मिक सम्पदामा रहेका पुरातात्विक सामग्री सुरक्षित राख्न आग्रह

0 6

काठमाडौँ, २५ वैशाख । लोटस रिसर्च सेन्टरले वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण भत्केका धार्मिक सम्पदामा रहेका देवमूर्तिलगायत विविध पुरातात्विक सामग्रीलाई सुरक्षित साथ राख्न सहयोग पु¥याउन सबैमा आग्रह गरेको छ ।

सेन्टरका अध्यक्ष डा भद्ररत्न वज्राचार्यले भत्केका पुरातात्विक मठमन्दिरमा विभिन्न देवमूर्तिलगायत त्यससँग सम्बन्धित सामग्री रहने भएकाले त्यसलाई सुरक्षित साथ राख्नु सबैको दायित्व भएको बताउनुभयो ।

बुद्धिष्ट स्टडिज ग्रुपका नरेशवीर शाक्यले विनाशकारी भूकम्पबाट भत्केका मठमन्दिरका भग्नावशेष पन्छाउँदा त्यहाँ भेटिने सबै देवमूर्तिलगायत अन्य सामग्री स्थानीय बासिन्दा, लोटस रिसर्च सेन्टरका प्रतिनिधि, गुठियार, पूजारीलगायत सबैको रोहवरमा लगत राख्नुपर्ने बताउनुभयो ।

आफूहरुले भत्केका मन्दिरको निरीक्षण र अनुगमन गरेका बताउँदै भग्नावषेशमा भेटिएका सबै पुरातात्विक वस्तुहरु पुरानै स्वरुपमा राख्नुपर्नेमा जोड दिनुभयो ।

ललितपुर, काठमाडौँ, भक्तपुरमा रहेका अधिकांश मठमन्दिर भूकम्पका कारण पूर्णरुपमा भत्केका छन् । ललितपुरको बुङमतिमा रहेको रातो मत्स्येन्द्रनाथको मन्दिर पूर्णरुपमा भत्केपछि त्यहाँको वस्तुस्थितिबारे जानकारी हासिल गर्न पुगेका बुद्धिष्ट स्टडिज ग्रुपका टोलीले मन्दिर पुनःनिर्माण गर्दा पुरानै संरचनाअनुसार राख्नका लागि सहयोग गर्ने जनाएको छ । रासस