जनसम्पर्क समिति अमेरिकाले एक करोड राहत सहयोग जुटायो

0 6
विकास राज न्यौपाने, अमेरिका न्युयोर्क – जनसम्पर्क समिति अमेरिकाले नेपालमा महाभुकम्पबाट प्रभावितहरुलाई एक करोड बराबरको सहयोग गर्ने भएको छ । नेपाली कांग्रेसको भातृ संगठनको रुपमा रहेको समितिले अमेरिकाको बिभिन्न राज्यमा रहेका कार्यकर्ता तथा शुभ चिन्तकहरुबाट लगभग एक करोड नेपाली रुपैया बराबरको सहयोग जम्मा गरेको हो।

 

संकलित राहत रकम र सामाग्री लिएर समितिका सभापति आनन्द बिष्टको नेतृत्वको टोली बिहिबार नेपाल प्रस्थान गर्न लागेको छ । राहत रकम संकलन सम्बन्धी जानकारी दिनका लागि बुधबार न्युयोर्कमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा समितिका सभापति बिष्टले दिएको जानकारी अनुसार बुधबारसम्म समितिलाई ७६ हजार डलर प्राप्त भइसकेको छ भने अरु रकम पनि आउन लागेको जानकारी दिनुभयो।

 

सभापति बिष्ट सहित उपसभापति धर्मराज श्रेष्ठ र केन्द्रिय सदस्य हरिबोल भण्डारी लगायत सम्मीलित राहत बितरण टोलीमा करिब एक दर्जन सदस्य रहेको जनाइएको छ । सभापति बिष्टका अनुसार जनसम्पर्क समिति अमेरिकाले नेपाली कांग्रेससंग समन्वय गरेर प्रभावित क्षेत्रमा सहयोग गर्नेछ।

 

समितिले प्रभावितहरुलाई तत्काल आवश्यक पर्ने त्रिपाल, टेण्ट लगायतका सामानहरु खरिद गर्ने प्रकृया शुरु गरिसकेको छ । महासचिव मुनेन्द्र नेम्बांग, कोषाध्यक्ष बिजय थुलुंग लगायतले बोलेको कार्यक्रममा जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका सभापति रोशन ढुंगाना नेतृत्वको टोलीले दश हजार डलर सहयोग रकम हस्तान्तरण गरेको थियो।