पत्रपत्रिकाबाट – भूकम्प पीडित बालबालिकालाई काठमाडौं ल्याउँदा लफडा

0 4

भूकम्पप्रभावित बालबालिका उद्धारका नाममा राजधानीको एक विद्यालयले कानुनी प्रक्रिया नै पूरा नगरी ४६ बालबालिकालाई काठमाडौं ल्याउँदै गरेको फेला परेको छ।

ललितपुर, नक्खुस्थित निर्मल सेकेन्डरी स्कुलले धादिङका दुई गाविसका बालबालिका सम्बन्धित निकायलाई जानकारीसमेत नदिई काठमाडौं ल्याँउदै गर्दा धादिङ जिल्ला बालकल्याण समितिले फेला पारेको हो। उक्त विद्यालयले जिल्लाको झार्लाङ गाविसका २० र री गाविसका २६ बालबालिकालाई उद्धारका नाममा प्रक्रियाविपरीत काठमाडौं ल्याउन लागेको जानकारी पाएपछि समितिको टोलीले धादिङबेसी पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको नागरिक दैनिकमा खबर छ।

समितिको टोली पुगेपछि विद्यालयकी प्रिन्सिपल सिपोरा अधिकारी लामा र बालबालिका गाउँबाट ल्याउन सहयोग गरिरहेका एनिजर तामाङले आफूहरूले ती बालबालिकालाई जिल्ला बालकल्याण समितिमै लैजान लागेको दाबी गरेका थिए। विद्यालयकी प्रिन्सिपलले दुःखमा परेका बालबालिकालाई राम्रो नियतले नै लैजान लागेको बताएपछि समितिको टोलीले उनीहरूलाई प्रमुख जिल्ला अधिकारीसमक्ष पुर्याजएको थियो।

प्रमुख जिल्ला अधिकारी बासु घिमिरेले बालबालिका लैजाने व्यक्ति र विद्यालयको पूर्ण विवरण लिई तत्कालका लागि उद्धारकर्तासँगै बालबालिका पठाउन निर्देशन दिएका थिए। लगत्तै टोलीले ती बालबालिकालाई काठमाडौं नै पठाएको थियो।

समितिले प्रमुख जिल्ला अधिकारीको निर्देशनमा बालबालिका राजधानी पठाइएको विवरण केन्द्रीय बालकल्याण समितिलाई समेत गराएको छ।

केन्द्रीय बालकल्याण समितिले भने विपतको मौकामा विगतमा पनि बालबालिका तस्करी र बिक्रीलगायत कार्य भएकाले तत्काल नपठाउन भनेको थियो। तर, प्रमुख जिल्ला अधिकारीले नै तत्काललाई विवरण संकलन गर्ने र पछि कानुनी प्रक्रिया पूरा गरौंला भनेपछि जिल्ला समितिले विद्यालयको टोलीलाई बालबालिका जिम्मा लगाएको थियो।

जिल्ला समितिका बालअधिकार अधिकृत हरि उप्रेतीले विद्यालयले प्रक्रिया पूरा नगरे पनि प्रमुख जिल्ला अधिकारीले भनेअनुसार नै सबै विवरण संकलन गरी बालबालिकालाई काठमाडौं पठाइएको जानकारी दिए। ‘सबै विवरण लिएर हामीले केन्द्रीय समितिलाई जानकारी गराइसकेका छौं,’ उनले भने, ‘अब केन्द्रीय समितिले त्यहाँको सबै अध्ययन-अनुसन्धान गर्नेछ।’

उनका अनुसार विद्यालयकी प्रिन्सिपल लामाले समितिको टोलीलाई भूकम्पमा परी समस्यामा परेका बालबालिका पीडा सहन नसकी विद्यालयले राम्रो नियतले नै उद्धार गर्न लागेको बताएकी थिइन्। नियमअनुसार आमाबाबु गुमाएका, नातेदार नभएका र छिमेकीले समेत संरक्षण गर्न तयार नभएका बालबालिकालाई गाविसको सिफारिसमा प्रहरी प्रमाणीकरणपछि मात्र संस्थाहरूले जिम्मा लिन पाउँछन्।