तरुण दलद्धारा भूकम्पपीडितका लागी ठोस कार्ययोजना ल्याउन प्रमलाई ज्ञापनपत्र

0 2

बुटवल, वैशाख २४ – गत साता गएको भूकम्पबाट क्षति र प्रभावित भएकाहरुका लागी प्रभावकारी रुपमा ठोस कार्ययोजना ल्याउन माग गर्दै नेपाल तरुण दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।

नेपाल तरुण दल क्षेत्र नं ३ रुपन्देहीले इलाका प्रशासन कार्यालय बुटवलमार्फत मुलुकमा आइपरेको विपद्लाई सामना गर्दै व्यवस्थापनका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन कार्ययोजना बनाउने मागसहित प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र पठाएको हो ।

क्षेत्रीय अध्यक्ष किशोरकुमार क्षेत्री र सचिव बिजेस न्यौपानेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भूकम्पको कारणबाट मृत्यू भएका परिवारलाई काजक्रिया तथा संस्कार सम्पन्न गर्नका लागि तत्काल रु एक लाख ५० हजार उपलब्ध गराउन माग गरिएको छ ।

त्यस्तै, घाइतेको उपचारको सम्पूर्ण जिम्मेवारी लिनका लागि पनि सरकारलाई आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै इलाका प्रशासन कार्यालय बुटवलका अधिकृत विष्णुप्रसाद ज्ञवालीले तरुण दलले राखेको मागलाई यथा सम्भव चाँडो प्रधानमन्त्री समक्ष पु¥याउने प्रतिबद्धता जनाए ।

ज्ञापनपत्रमा भूकम्पका कारणबाट भत्किएका संरचनामा पुरिएर आहत भएकाको खोजी कार्यलाई तीव्र बनाउन तथा घरवारविहीन भएकालाई तत्काल न्यूनतम ओतको व्यवस्थासहित गाँसको व्यवस्था गर्न माग गरिएको छ ।

विपत्तिको समयमा सुत्केरी भएका, गर्भवती एवम् नाबालक तथा बेसहारा बालबालिकालाई राज्यले तत्काल संरक्षण प्रदान गर्नुपर्ने, दीर्घकालीन योजनामा घरवारविहीन भएकालाई आवास निर्माणका लागि न्यूनतम रु. १० लाख अनुदान दिन पनि माग गरिएको छ ।

अबका दिनमा आवास निर्माणका लागि प्राविधिकलाई छोटो समयको तालिम प्रदान गरी विपद्रोधक घर निर्माणमा परिचालन गर्न, भूकम्प प्रभावित विद्यालयमा भवनको प्राविधिक अनुगमन गर्न र खतरा भएका स्थानमा वैकल्पिक व्यवस्था गर्न पनि माग गरिएको छ ।

ज्ञापनपत्रमा राष्ट्रको पुनःनिर्माणको सन्दर्भमा सरकारले निर्माण गर्ने कार्ययोजना कार्यान्वयनका लागि युवा स्वयम्सेवक तत्काल निर्माण गरी आवश्यक तालिम प्रदान गर्दै परिचालन गर्न पनि आग्रह गरिएको छ ।