धराप संरचनाले झनै त्रास

0 8
काठमाडौं : भूकम्पले धरापमा पारेका संरचना नहटाइँदा उपत्यकावासीमा थप त्रास उत्पन्न भएको छ। व्यस्त सडक र गल्लीगल्लीका ती संरचना कुन बेला भत्किएर थप विनाश निम्त्याउने हुन् भन्ने भयले उनीहरू त्रसित छन्।
काठमाडौंको ठमेल, असन, इन्द्रचोक, मरुटोल, नरदेवी, भीमसेनस्थान, प्याफल, नक्साललगायत स्थानका कतिपय पुराना भवन टेकाको भरमा ठडिएका छन्। भूकम्पको झट्काले कतिपय घर ढल्किएका, कतिपय चर्किएका, कतिपय भासिएका र कतिपय आधा भाग खसेको अवस्थामा छन्।
अब भूकम्पको सामान्य झट्का आए ती संरचना कुनै पनि बेला गल्र्यामगुर्लुम ढल्ने निश्चित छ। सीतापाइलामा नौवटा घर पहिलो तला भासिएर कोल्टे परेका छन्। स्थानीयवासीका अनुसार सेना र प्रहरी त्यहाँ पुगी थिचिएका जीवित र मृत मानिस झिकेर फर्किए तर धरापमा परेको घर हटाउनेतिर ध्यान दिएनन्।
नक्सालका भैरवराज राजकर्णिकार बिहीबार अपराह्न मलीन अनुहार लगाएर आफ्नो चर्किएको घर हेर्दै थिए। २०१३ सालमा बनेको उनको घर १२ गतेको भूकम्पले बस्नै नमिल्ने बनाइदियो। ‘वडाबाट इन्जिनियर आएर हेरे, बस्न हुँदैन भनेर गए तर विकल्प दिएनन्’, राजकर्णिकारले अन्नपूर्णसँग भने।

‘सरकार, भत्काइदेऊ मेरो घर’
राजकर्णिकारकै घरको लाममा रहेका वसुन्धरा श्रेष्ठ, अनिल मानन्धर, कमला श्रेष्ठ र समुद्र श्रेष्ठको घर पनि धराप बनेर ठडिएका छन्। कतिखेर घर भत्किने हो र दुर्घटना निम्त्याउने हो भन्ने भयले सताएको छ उनीहरूलाई।
‘कि सरकारले भत्काइदिनु पर्‍यो, भत्काएरमात्रै भएन विकल्प पनि दिनुपर्‍यो, हामीसँग पैसा छैन, घर भत्काउनै अढाई लाख रुपैयाँ लाग्छ भन्छन्, मैले केही सोच्नै सकिरहेको छैन’, राजकर्णिकारले भने। ठूला गाडीले थर्केर ती घर ढल्लान् भनेर नक्साल भगवतीबहालबाट नागपोखरी छिचोल्ने बाटोमा साना सवारीसाधनलाई मात्रै प्रवेश दिइएको छ।
नागार्जुन नगरपालिका डाँडापौवामा ज्ञानबहादुर पुरीको पाँचतले घर ७५ डिग्रीमा ढल्किएको छ। जग्गा बेचेर एक वर्षअघि उनले बनाएको त्यो घर पनि भूकम्पले धरापमा पारेर छाड्यो। उनी भन्छन्, ‘भएको सम्पत्ति घर बनाउनमै खर्चियो, अब घर बस्नलायक पनि भएन, कसरी भत्काउने र कसरी बनाउने, सरकारले भत्काइदिए राम्रो हुन्थ्यो।’
डाँडापौवाकै विष्णु मानन्धरको चारतले घरको माथिका दुई तला तल आएर खप्टिएका छन्। त्यो घरमा डेरामा बस्ने तीन परिवारका सामान पनि त्यहीँ पुरिए।
८० लाख रुपैयाँ लागतमा बनेको घर आँखैअगाडि भत्किँदा घरधनी मानन्धर मुर्छा परेछन्। उनले भने, ‘मेरो त बिल्लीबाठ हुने भो, घर भत्काउन पनि नसकिने, यही घरले थिचेर अरू मरे भने कसले जिम्मेवारी लिने?’
सीतापाइलामा दोहोरो गाडी गुड्ने सडकमा चारतले घरको माथिका दुई तला खसेका छन्। खसेका तलाको भार बचेका दुई तलाले थेगेका छन्। घरधनी सुनिता श्रेष्ठ धरापमा परेको घरले कति बेला पल्टिएर ज्यान लिने हो भन्ने चिन्ताले भयभीत देखिन्थिन्।
सीतापाइलामै चार दाजुभाइले जोडेर बनाएको पिलरवाला घर चर्किएर कुनै पनि बेला ढल्ने अवस्थामा छ। घरधनी शान्तराज मानन्धरले भने, ‘पूर्व र पश्चिमपट्टि घर लच्किएको छ, कुन बेला भत्केर थिच्ने हो।
कोही इन्जिनियर बस्न हुन्छ भन्छन्, कोही बस्न हुँदैन भन्छन्, कसको कुरा सुन्ने, बरु सरकारले घरघरमा इन्जिनियर पठाएर निक्र्योल गरिदिए राम्रो हुन्थ्यो।’ बाहिरबाटै जीर्ण देखिएको घरभित्रको पसलमा मानन्धर बसिरहेका थिए।
भूकम्पले जीर्ण मरुटोलका धेरै घरमा काठको टेको दिइएको छ। स्थानीय अनुप श्रेष्ठले भने, ‘यसै त धराप झन् धराप हुने भयो। राति हिँड्नुपर्छ यही बाटो, कुन बेला भत्किएर थिच्ने हो, यतातिर सरकारको ध्यान किन नगएको होला?’
असनमा टेको दिएर अड्याइएका घरमा पसल छन्। कुनै पनि बेला घर ढल्छन् भन्ने जान्दाजान्दै पनि त्यहाँ पसल नहटाइनु थप विपत्तिलाई निम्तो दिनु हो। असनका श्यामकुमार प्रजापतिका अनुसार असन क्षेत्रमा ५० भन्दा बढी पुराना घर काठ र फलामको टेकोकै भरमा छन्।
‘हामीले वडामा गएर कराएका छौं, पानी पर्ने सिजन सुरु हुन लाग्यो, सरकारले बेलैमा यस्ता संरचनाको व्यवस्थापन नगर्ने हो भने फेरि ठूलो धनजनको क्षति बेहोर्नुपर्छ’, प्रजापतिले भने।