भूकम्पबाट ११ हजार कक्षाकोठा ध्वस्त

0 7

काठमाडौं : भूकम्पका कारण विद्यालयका ११ हजार दुई सय ८१ कक्षाकोठा पूर्ण रूपमा ध्वस्त भएपछि सरकारले अस्थायी कक्षाकोठा बनाएर पठनपाठन गर्ने तयारी गरेको छ। शिक्षा विभागका अनुसार विद्यालयका ध्वस्त भएका ती कक्षाकोठा कुनै पनि गतिविधि गर्न नमिल्ने अवस्थामा छन्।

भूकम्पबाट ४० जिल्लाका नौ हजार एक सय ८१ विद्यालयमा क्षति पुगेको छ। जसका कारण ती विद्यालयमा पढ्ने नौ लाख ४८ हजार विद्यार्थी प्रभावित भएका छन्।

विभागका निर्देशक खगेन्द्र नेपालले चार हजार आठ सय ६९ वटा कक्षाकोठामा आंशिक क्षति भएको जानकारी दिए। दुई हजार आठ सय ७८ कक्षा कोठामा सामान्य क्षति पुगेको छ। यस्ता कक्षाकोठामा भने पठनपाठन गराउन सकिने विभागले जनाएको छ।

भूकम्पका कारण नुवाकोट, दोलखा र गोरखाका जिल्ला शिक्षा कार्यालय बस्नै नहुने गरी भत्किएका छन्। भूकम्पमा परी ३१ जना शिक्षकको मृत्यु भएको पनि नेपालले बताए।

भूकम्पपछि बन्द विद्यालय जेठ १ गतेदेखि सञ्चालन गर्ने तयारी छ। ‘धेरै विद्यालयमा क्षति भएका कारण पठनपाठन गराउन कठिन देखिएको छ। ती विद्यालयमा भएको क्षतिको अवस्था, पढाइ सञ्चालन गर्न कस्ताकस्ता तरिका अपनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न पनि स्कुल खोल्नु आवश्यक छ’, नेपालले भने।

भवन भत्किएर पढाइ चलाउन कठिन देखिएका विद्यालयमा अस्थायी कक्षाकोठा बनाउने योजना विभागको छ। ‘त्रिपाल, बाँस वा स्थानीयस्तरमा उपलब्ध सामग्री प्रयोग गरेर यस्ता कक्षाकोठा बनाइन्छ’, नेपालले भने, ‘एउटा ब्लकमा दुई कोठा हुन्छन्। एउटा कोठामा ४० जना विद्यार्थी अटाउनेछन्।’

यस्ता कोठामा म्याट्रेस वा स्थानीयस्तरमा प्रयोग गरिने अन्य सामग्री बिछ्याइनेछ। कक्षाकोठासँगै अस्थायी शौचालय पनि निर्माण गरिनेछ।

परीक्षा अनिश्चित
भूकम्पबाट क्याम्पस तथा विद्यालयमा क्षति पुगेपछि त्रिभुवन विश्वविद्यालय र उच्च माध्यमिक शिक्षा परिषद्ले सञ्चालन गर्न लागेका परीक्षा अनिश्चित भएका छन्। परिषद्ले यही वैशाख २० गतेबाट सञ्चालन गर्ने गरी तालिका प्रकाशन गरेको कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ।

वैशाख ३१ गतेबाट सञ्चालन गर्न लागिएको कक्षा ११ को परीक्षा पनि तालिकाअनुसार सञ्चालन गर्न नसकिने परिषद्ले स्पष्ट पारेको छ।

भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको परीक्षा पनि स्थगित भएको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १६ गतेबाट सञ्चालन गर्न लागेको एलएलएम दोस्रो वर्षको परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ।

बुधबारबाट सञ्चालन हुने भनिएको बीएएलबी पाँचौं सेमेस्टर तथा २५ गतेबाट सञ्चालन गर्न लागिएको पोस्ट ग्य्राजुएसन डिप्लोमा इन साइक्लोजीको परीक्षा पनि अनिश्चितकालका लागि स्थगित गरिएको परीक्षा नियन्त्रक केशव बास्तोलाले जानकारी दिए।

परीक्षा सञ्चालन गरिने क्याम्पसहरूमा क्षति पुगेकाले परीक्षा स्थगित गरिएको हो। बीबीएस दोस्रो वर्षको नतिजा प्रकाशन तीन दिनभित्र गरिने बास्तोलाले बताए।

भूकम्पका कारण त्रिविका पदाधिकारी बस्ने तथा अन्य प्रशासनिक कार्यालय रहेका भवनहरूमा क्षति पुगेको छ। क्याम्पसमा क्षति पुगेका कारण त्रिविले सम्पूर्ण तहको पढाइ जेठ २२ गतेसम्मका लागि स्थगित गर्ने निर्णय यसअघि नै गरिसकेको छ।