प्रत्येक घरधुरीले पाए नब्बे किलो चामल

0 6

धादिङ, २४ वैशाख । बुधबार धादिङ जीवनपुर–५ का भूकम्पपीडित प्रत्येक घरधुरीले चना, चिनी, चाउचाउ, बिस्कुटका साथमा जनही ९० किलो चामल पाएपछि उनीहरुले केही राहतको महसुस गरेका छन् ।

एक बोरा चामल बोकेर बासस्थानतिर लाग्न लागेकी शान्ताकुमारी ठकुरीले भनिन्, “१२ दिनसम्म आधा बोरा चामलले गुजारा चलाउनु परेको थियो, आज पाएको चामलले केही दिन ढुक्क भएकी छु ।”

नेसनल ट्रेडिङ लिमिटेडबाट लिएर चन्द्रागिरि–१७, सतुङ्गलमा रहेको सत्यसाई केन्द्रले करिब चार घण्टा लामो कच्ची यात्रा गर्दै दुई ट्रक खाद्यान्न त्यहाँका २९४ घरधुरीलाई वितरण गरेको थियो । ४०० बोरा चामल, २०० कार्टुन चाउचाउ, १०० कार्टुन बिस्कुट, २० बोरा चना तथा १० किलो चिनी थियो ।

सत्यसाई केन्द्रकी अध्यक्ष विजया जोशी, सदस्य चिरञ्जीवी घिमिरेलगायतको टोलीले गाविसका सहायक सचिव मिलन सुवेदीको उपस्थितिमा राहत वितरण गरेका थिए । रासस