शहरी तथा भवन निर्माण विभागको अनुगमनमा के छ?

0 16

अहिलेसम्म टोलीले गरेको अनुगमनको विवरण

शहरी तथा भवन निमार्ण विभागले गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले पुर्‍याएको क्षतिबारे सरकारी भवनदेखि ठूला ठूला अपार्टमेन्ट र अस्पतालको अनुगमन तथा निरीक्षण गरीरहेको छ।

अनुगमन तथा निरीक्षणका क्रममा भवनहरुको क्षतिलाई रातो, पहेलो र हरियो गरी  तीन प्रकारमा वर्गीकरण गरेको विभागले जनाएको छ।

विभागले रातो चिन्ह लगाएका ‘अनसेफ’, पहेलो चिन्ह लगाएका भवन ‘रेस्ट्रिक्टेड’ र हरियो चिन्ह लगाएका भवनहरू ‘इन्स्पेक्टेड’ भएको जानकारी दिएको छ।

विभागले अनुगमन तथा निरीक्षण गर्न ६ टोलीमा विभाजन गरी काम गरिरहेको छ।

विभागले बनाएको टोलीमा एउटा अनुगमन तथा निरीक्षण गर्ने टोलीको संयोजन सहितको ६ टोली गठन गरेको छ।

कस्ता कस्ता टोली बनाएको छ?

१ परिक्षीत कडरियाको नेतृत्वमा सरकारी अस्पतालको अनुगमन तथा निरीक्षण

२ प्रकीर्ण तुलाधरको नेतृत्वमा अदालत, सार्क सचिवालय, सिंहदरबार र मन्त्रिनिवासको अनुगमन तथा निरीक्षण

३ काशी प्रसाद गुप्ताको नेतृत्वमा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सभामुख, प्रधानन्याधीश र अख्तियारको भवन अनुगमन तथा निरीक्षण।

४ सागर कृष्ण जोशीको नेतृत्वमा अपार्टमेन्ट र भवनको अनुगमन तथा निरीक्षण

५ सरकारी कार्यालयका भवनहरुको अनुगमन तथा निरिक्षणको नेतृत्व दिलीप भण्डारीको टोलीले गर्ने भएको छ।

अहिलेसम्म टोलीले गरेको अनुगमनको विवरण

अपार्टमेन्टको अनुगमन

विभागले अहिलेसम्म गरेको  २० वटा अपार्टमेन्टको अनुगमन तथा निरीक्षणमा पार्क भ्यू होराइजनलाई रातो चिन्न लगाएको छ।

त्यस बाहेकको सेन्ट्रल पार्क, प्रेस्टीज, सिटी इस्केप, ग्राण्डी, लाहा, ग्राण्ड लगायतका १५ वटा अपार्टमेन्टलाई पहेलो र ओरेन्टल, टीसिएच टावर टु र गुन लगायतका ४ वटालाई हरियो चिन्ह लगाएको छ।

अस्पतालको अनुगमन

विभागले अहिलेसम्म गरेको अनुगमनमा प्रसूति गृहको एउटा, वीर अस्पतालको ओपीडीको एउटा, शहिद शुक्रराज ट्रपिकल अस्पतालको स्टोर, पाटन अस्पतालको निर्देशकको कार्यकक्ष र भक्तपुर अस्पतालको पूरानो एउटा भवनलाई रातो चिन्ह लगाएको छ।

त्यस्तै त्रिभुवन शिक्षण अस्पताल महाराजगंजको २ वटा भवन, कान्ति बाल अस्पतालको एउटा भवन, आर्मी अस्पतालको २ वटा भवन र वीर अस्पतालको ४ वटा भवनलाई पहेलो चिन्ह लगाएको छ।

विभागले त्रिभुवन शिक्षण अस्पतालको ९ वटा भवन, कान्ति बाल अस्पतालको ४ वटा भवन, प्रसूति गृहको ५ वटा भवन, वीर अस्पतालको ७ वटा भवन, शुक्रराज अस्पतालको ४ वटा, पाटन अस्पतालको ६ वटा भवन, राष्ट्रिय जनस्वास्थ्यको २ वटा प्रयोगशाला भवन, भक्तपुर अस्पतालको ५ वटा भवन सिभील अस्पतालको ५ वटा भवन, राष्ट्रिय क्यान्सर अस्पतालको एक वटा भवन, सार्क क्यान्सर तथा एच आई भी एड्स सेन्टरको एउटा भवन, आर्मी पुलिस फोर्सको ३ वटा  लगायतका भवनमा हरियो चिन्ह लगाएको छ।

सिंहदरबार भित्रका

विभागले सिंहदरबार भित्रका ३८ वटा भवन मध्ये ५ वटामा रातो, ४ वटामा पहेलो र २९ वटा भवनमा हरियो चिन्ह लगाएको छ।

साथै विभागले विशिष्ट पाँच व्यक्तिको ७ वटा भवन मध्ये एउटामा पहेलो र ६ वटामा हरियो चिन्ह लगाएको छ।

सिंहदरबार बाहिर

सिंहदरबार बाहिरको ९१ वटा भवनमा गरेको निरीक्षणका क्रममा विभागले १० वटामा रातो, २६ वटामा पहेँलो र ५५ वटामा हरियो चिन्ह लगाएका छ।

विभागले अहिलेसम्म गरेको सरकारी कार्यालयहरूको २ सय १० वटा भवन मध्ये २० वटामा रातो, ४१ वटामा पहेलो र १ सय ४९ वटामा हरियो चिन्ह लगाएको छ।

शहरी तथा भवन निमार्ण विभागको अनुगमन तथा निरीक्षणमा खटिएका इन्जिनियर गणेश महर्जनका अनुसार ५० वर्ष भन्दा पुरानो माटोबाट निमार्ण गरिएका धेरै भवन भत्किएका छन्। उनले भने, ‘अपार्टमेन्टहरू र निजी घरहरू भत्किनुमा पार्किङको अन्डर ग्राउण्डमा धेरै ठाउँ छोड्नु, तलको भन्दा माथिको भार बढी बनाउनु, कमसल मेट्रियल प्रयोग गर्नु, ठेकेदार कम्पनीको लापरबाही गर्नू र मजदुरहरुले हतारमा काम गर्नू मुख्य कारण हो।’