ताप्लेजुङमा भ्यान दुर्घटनामा ६ को मृत्यु, १२ घाइते

0 8

ताप्लेजुङ, बैशाख २४ – ताप्लेजुङमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाइते मध्ये चारको अवस्था गम्भीर रहेको छ । जिल्लाको थेचम्बुबाट सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको ग १ ज ५७२८ नम्वरको पिकअप भ्यान मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ नगरपालिका ८ स्थित ल्याङ्बामा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा थेचम्बु ९ का १९ वर्षीय सागर लिम्बू, ताप्लेजुङ नगरपालिका ८ बस्ने २८ वर्षीया निर्मला गुरागाईं (बराल) र ३० वर्षीया टीका सुनुवार, सावादिन ९ बस्ने ६२ वर्षीया भीममाया कटुवाल, डुम्रिसे १ बस्ने ३१ शरण लिम्बू र ताप्लेजुङ नगरपालिका ४ बस्ने ६२ वर्षीया रत्ना सेनेहाङ लिम्बू रहेका छन् ।

उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार शवलाई अहिले जिल्ला अस्पतालमा ल्याइएको छ । यता घाइते थेचम्बू गाविसका १५ वर्षीय मुकेश लिम्बू, २० वर्षीय दीपक लिम्बू, ११ वर्षीय सोलन मेन्याङ्बो र तानपा ८ बस्ने पाँच वर्षीया बिनु बरालको अवस्था गम्भीर रहेकाले उनीहरुलाई थप उपचारका लागि बिराटनगर र धरानको घोपा लगिएको छ । बाँकी घाइतेहरु डुम्रिसे १ बस्ने २३ वर्षीय सन्तबहादुर तामाङ, ७७ वर्षीय धनप्रसाद लिम्बू, ७२ वर्षीया विष्णुमाया तामाङ, सावादिन ३ बस्ने ४२ भीमबहादुर चालिसे, सोही गाविस वडा नं. ९ बस्ने ६८ वर्षीय शान्तिराम कटुवाल, तानपा ५ बस्ने ४८ वर्षीया शान्ति लिम्बू, तानपा ९ बस्ने २२ वर्षीय सूर्य लिम्बू र चालक इलामको बाँझो ९ बस्ने २५ वर्षीय अर्जुन लिम्बू रहेका छन् । उनीहरुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । भ्यान सडकबाट करिव चार सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।