भत्किएका स्कूल बनाउन अखिलले टोली खटायो

0 17

२४ वैशाख, काठमाडौं । सत्तारुढ एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले भूकम्पपछि बन्द भएका शैक्षिक संस्थाले विद्यार्थीबाट एक महिनाको शुल्क लिन नदिने निर्णय गरेको छ ।

विहीवार काठमाडौंमा बसेको अखिल स्थायी कमिटी बैठकले शुल्क मिनाहाको माग गर्दै भूकम्पबाट भत्किएका सामुदायिक विद्यालय भवन निर्माणमा एक महिना श्रमदान गर्ने निर्णयसमेत गरेको छ ।

अखिल महासचिव नविना लामाका अनुसार अब अनेरास्ववियुका ५० हजार कार्यकर्ता भूकम्प प्रभावित जिल्लामा राहत, पुनःस्थापना र ध्वस्त संरचना हटाउने काममा खटिनेछन् ।

श्रमदानमा नखिटिने कार्यकर्तामाथि कारवाही हुने भन्दै अखिलले पदाधिकारीको नेतृत्वमा पुनर्निर्माण र पुनःस्थापना अभियानमा १२ ओटा केन्द्रीय टिम गठन गरेको छ ।

यो टिमकै नेतृत्वमा अखिलका नेता कार्यकर्ता र विद्यार्थीहरु भत्किएका सामुदायिक विद्यालय भवन पुनर्निर्माण तथा जिर्णोद्दारका लागि श्रमदान गर्न प्रत्येक विद्यालयमा जाने महासचिव लामाले बताइन् ।

कार्यवाहक अध्यक्ष ऐन महरका अनुसार सरकार, सामाजिक संघ संस्था र एनजिओ आइएनजिओहरुले गर्ने काममा अखिलका कार्यकर्ताले स्वयंसेवकका रुपमा सघाउनेछन् ।

कुन जिल्लामा कसको नेतृत्व ?

अखिलले जनताका घरटहर बनाउने, सरसफाइ गर्ने र पुनर्निर्माण गर्ने अभियानमा सघाउन उपाध्यक्ष थोमस बास्तोलालाई उपत्यका र दिपक गौतमलाई सिन्धुपाल्चोकमा खटाएको छ ।

त्यस्तै महासचिव नविना लामालाई काभ्रेपलान्चोक, सचिवहरु भक्तकुमारी लामा दोलखा, सरोज यादव रामेछाप, राधिका खतिवडा धादिङ खटिएका छन् ।

त्यस्तै अब्दुल हुसेन खाँ रसुवा, निलकण्ठ आचार्य नुवाकोट, जीवन राई ओखलढुंगा र रश्मी आचाई गोरखा खटिएका छन् ।

यसैबीच अखिलले भूकम्पमा परेर मृत्यु भएकाका छोरा-छोरीलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन र एक घरबाट एकजनालाई रोजगारी दिलाउन सरकारसँग माग गरेको छ ।