गुगल सर्चमा कम्प्युटरलाई स्मार्टफोनले उछिन्यो

0 9

इन्टरनेट प्रयोगकर्ताहरुले गुगल सर्च इन्जिनमा गर्ने खोजीको मामिलामा स्मार्टफोन डिभाइसले कम्प्युटरलाई पछि पारेको छ । पछिल्लो तथ्यांकले पर्सनल कम्प्युटरबाट भन्दा मोबाइल फोनबाट गुगल सर्चको प्रयोग बढि हुने गरेको देखाएको हो ।

डिजिटल एडभर्टाइजिङ सम्मेलनमा प्रस्तुत गरिएको तथ्यांकले सन् २००७ देखि इन्टरनेट प्रयोगकर्ताको अनलाइन व्यवहार कसरी परिवर्तन हुँदै गएकेा छ भन्ने तथ्यको खुलासा गरेको छ । सन् २००७ मा एप्पलले पहिलोपटक आइफोन सार्वजनिक गरेको थियो । सो सँगै अन्य कम्पनीहरुबाट समेत स्मार्टफोनको उत्पादनको लहर चलेपछि इन्टरनेट प्रयोगकर्ताका लागि मोबाइल फोन सर्वाधिक लोकपि्रय बन्न थालेको हो ।

यसले पर्सनल कम्प्युटर निर्माता तथा माइक्रोसफ्ट जस्ता अन्य प्रविधि कम्पनीहरु जसको व्यवसाय डेक्सटप तथा ल्यापटप कम्प्युटरको बिक्रिसँग प्रत्यक्ष रुपमा सम्बन्धित छ, त्यस्ता कम्पनीहरुलाई असर पूराएको छ ।

परिवर्तनको प्रवाहमा अन्य कम्पनी भन्दा गुगलले आफुलाई बढि अनुकुलित गर्न सक्यो, किनकी गुगलको लोकपि्रय मोबाइल अपरेटिङ सिस्टम एन्ड्रोइडमा गुगल सर्च इन्जिन सँगै अन्य सेवाहरु समेत समावेश गरियो ।

तर मोबाइल फोनबाट इन्टरनेट चलाउनेहरुको संख्या बढ्दै जानु र सानो पर्दामा विज्ञापन देखिने हुनाले विज्ञापन दाताले कम रकम दिन थालेपछि पछिल्लो तिन वर्षयता गुगललको विज्ञापनबाट हुने कमाइ घटेको छ ।

तथ्यांक अनुसार गुगल सर्च इन्जिनमा हरेक दिन १ खर्ब वटा सर्च रिक्वेस्ट आउने गर्छन् । सर्च इन्जिनलाई मोबाइल फोन मैत्री बनाउने भन्दै गुगलले गत महिना मात्रै स्मार्टफोनमा राम्रोसँग नखुल्ने वेबसाइटहरुलाई खोजी नतिजामा प्राथमिकता नदिने नीति लिएको थियो ।

जसका कारण लाखौँ साइटहरु आफुलाई परिस्कृत गर्दै स्मार्टफोनमैत्री बन्न बाध्य भएका छन् ।