प्रधानमन्त्रीलाई भुइँचालो पीडितको पत्र

0 6

काठमाडौं- वैशाख १२ गते आएको महाभैँचालोले खण्डहर बनेको बस्तीबाट तपाईंलाई यो पत्र लेख्दै छु। भूकम्प पीडितका तर्फबाट तपाईंसमक्ष आफ्ना कुरा राख्ने मसँग यो पत्रबाहेक अरू के नै विकल्प छ र? भैँचालो आएको छ दिनपछि गाउँ पुग्दा जेजस्ता दृश्य देखिए, तिनलाई यो पत्रमा समेट्ने कोसिस गरेको छु।

यो पत्र जुन स्थानमा बसेर लेख्दै छु, त्यहाँ एउटा घर पनि सद्दे छैनन्। प्रधानमन्त्रीज्यूले ध्वस्त भएका केही बस्तीको हवाई निरीक्षण र स्थलगत अवलोकन गरिसकेकाले घर ढलेको कुरा सामान्य लाग्ला। तर, जसले आफ्ना आँखाअगाडि आफू बस्दै आएको घर ध्वस्त भएको देखेको छ, जसको पुनः घर बनाउनै नमिल्ने गरी घडेरी नै भासिएको छ, उसका लागि घर भत्किनुभन्दा ठूलो वज्रपात अरू के हुन सक्छ र? गाउँमा धुरी ठाडै देखिएका कतिपय घरका गारा पनि लथालिंग भएर भत्केका छन्। कतिको घर भएको बारी पाटो नै धाँजा फाटेको छ। घरले किचिएर मृत्यु हुनेका परिवार शोकमा डुबेका छन्। अन्नपात र बस्तुभाउ पुरिएकाहरूको पीडा दुर्दान्त छ। भैँचालो गएको दुई हप्ता बित्न लाग्दासमेत ओत लाग्ने त्रिपालकै आशमा गाउँलेहरू बसिरहेका छन्। करिब १ हजार ७ सय घर धुरी भएको गाउँमा भैँचालोबाट जोगिएका घर मुश्किलले सयवटा जति होलान्। बाँकी १६ सय घर बस्नै नहुने गरी भत्केका छन्। यतिका धेरै घर भत्केका गाउँमा सरकारी तहबाट ५० वटामात्र त्रिपाल पुगेको थियो। सरकारले दिने भनेको राहत कस्तो हुन्छ? भैँचालो पीडितले त्यसको कुनै मेलोमेसो पाउन सकेका छैनन्। पृथ्वी राजमार्गबाट तीन किलोमिटरको दूरी पार गरेपछि सुरु हुने यो गाविसमा राहत पुर्यानउन भौगोलिक कठिनाइले छेक्यो होला भनेर कसरी पत्याउनु?

०००

भैँचालो पछि गाउँमा एकतमासको सन्नाटा छाएको छ। सबै रनभुल्ल छन्। घर ढलेर थुप्रोमा परिणत भएको छ। बस्ने बासको ठेगान छैन। अधिकांशको बास उठेको छ। गाउँमा टाउको लुकाउने ओतसँगै खाद्यान्नको आवश्यकता छ। तर, ओत लाग्ने व्यवस्था मिलाउन गाउँलेले सकेका छैनन्। सरकारले उद्धारसँगसँगै अस्थायी बास र राहतको काम गर्नुपर्नेमा त्यो गर्न नसकेका कारण भूकम्प पीडित थप पीडामा परेका छन्।

०००

जतिबेला नागरिक ७ दशमलव ६ रेक्टर स्केलको भैँचालोको सामना गर्दै थिए, प्रधानमन्त्रीज्यू इन्डोनेसियाको राजधानी जाकार्तामा हुनुहुन्थ्यो। तपाईंले बलुवाटार निवास वा सिंहदरबारमा रहेको तपाईंको कार्यकक्षमा यो भैँचालोको सामना गर्नुपरेको भए परिस्थिति अलि बेग्लै हुन्थ्यो कि? यो महाविपत्तिमा पनि तपाईंको काम गर्ने शैलीमा देखिएको सुस्तताले भैँचालो पीडित सर्वसाधारण जनता आजित भएका छन्। विपत्का बेला जनताको मनोबल गिर्न नदिन र विपत्लाई सामना गर्न सक्षम बनाउन सबैभन्दा बढी साथ र सहयोग चाहिने भनेकै सरकार र राज्यको हो। तर, तपाईंले जनतालाई ठूलो स्वरले …म छु नि तपाईंहरूसँग, तपाईंहरूले नै चुनेर पठाएको जिम्मेवार सरकार छ, आत्तिनुपर्दैन’ भन्ने वाक्यसमेत बोल्न सक्नुभएन। यो महाविपत्तिमा सरकार पनि हडबडाएको हुन सक्छ। विपत्तिका लागि खासै पूर्वतयारी नगर्ने संस्कारमा रहेका हामीहरू सबै मिलेर यो विपत्तिको सामना गर्न तयार छौँ। तर तपाईं जनतालाई ढाडस दिनेगरी पनि प्रस्तुत हुन सकिरहनुभएको छैन।

महाभैँचालो पछि तपाईंले देशवासीका नाममा गरेको सम्बोधन फेरि एकपटक दोर्यातएर पढ्नुभयो भने तपाईंले भूकम्प पीडितसँग जोडिनसक्नुभएको छ कि छैन? थाहा भइहाल्छ। तपाईंले सम्बोधनमा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ, दिवंगत हुनेहरूलाई श्रद्धाञ्जली र दिवंगत परिवारका सदस्यलाई समवेदना प्रकट गर्नुभएको छ। भैँचालोका कारण मर्माहत भएको उल्लेख गर्नुभएको छ। तर, विपत्तिमा परेर मृत्युको मुखबाट फुत्केकाहरूमा जीवनप्रति आशा जगाउनगरी तपाईंले केही बोल्नुभएको छैन। सरकारले गरिरहेको छ, हामी सबै मिलेर गर्नुपर्छ, अन्तर्राष्ट्रिय समुदायलाई सहयोगका लागि आह्वान गर्छु जस्ता रकमी भाषामा रुमलिएको तपाईंको सम्बोधन भैँचालो पीडित जनता जतिले सुने, उनीहरू थप निराश भए। तपाईंको सम्बोधनले राहतको प्याकेज केही आउला भनेर प्रतीक्षा गरिरहेका नागरिक निराश भए। जब तपार्इंले भइरहेको कामको बयान र सहयोग गर्नेहरूलाई धन्यवाद दिएर आफ्नो सम्बोधन टुंग्याउनुभयो, त्यसपछि त भूकम्प पीडित थप आत्तिएका छन्। भैँचालोको धक्काले पुर्याधएको मानसिक आघात बिस्तारै कम हुँदै गए पनि सरकारले केही सहयोग गर्दैन कि भन्ने भयले जनता त्रस्त छन्।

यस्तो विपत्का बेला सरकारले आफ्ना नागरिकलाई सबैतिरबाट सुरक्षित रहेको अनुभूति गराउन सक्नुपर्छ। विपत्का कारण भएको क्षतिको राहत सरकारले दिने ग्यारेन्टी गरेर नागरिकलाई जतिसक्दो छिटो सामान्य जीवनमा फर्काउने कोसिस गर्नुपर्छ। विपत्मा परेकाहरूको आशा जीवित राख्ने काम नेतृत्वमा बस्नेहरूले गर्नुपर्छ। प्रधानमन्त्रीज्यू नै हतास भएर प्रस्तुत भएपछि यो महाविपत्बाट ज्यान जोगाउन सफल भएकाहरूले कोबाट आश गरेर बाँकी जीवन सहज बनाउने? यो प्रश्नको उत्तर दिने जिम्मेवारी पनि तपाईंकै हो। सरकारले जतिसुकै कठिनाइ भोगेर पनि नागरिकलाई डिप्रेसनमा जानबाट जोगाउन हरसम्भव प्रयास गर्नुपर्छ। घर ध्वस्त भएकाहरूको घर सरकारले पुनर्निर्माण गरिदिन्छ भनेर प्रधानमन्त्रीज्यूले आफ्नो सम्बोधनमा भन्नुभएको भए घरबारविहीन भएकाहरूको ठूलो तनाव कम हुन्थ्यो। कुन अवस्थाको घरले कति क्षतिपूर्ति पाउने? क्षतिपूर्ति कसरी पाउने? प्रक्रिया कति लामो हुने? जस्ता अनेकौँ प्रश्नले जेलिन थालेका भूकम्प पीडित बस्ने बास नभएकै कारण सामान्य जीवनमा फर्किन सक्ने छैनन्। घरबारविहीन भएर त्रिपालमुनि आइपुगेका जनतालाई जतिसक्दो छिटो पुनर्बासको प्याकेज दिन सकिन्छ, त्यति नै छिटो सरकारको भारी पनि हलुंगो हुन्छ। अन्यथा, त्रिपालमुनि कष्टकर जीवनयापन गर्ने नागरिकका लागि खानपान र औषधोपचार जुटाउँदाजुटाउँदै सरकार थप समस्यामा पर्दै जान्छ।

प्रधानमन्त्रीज्यू, नजिकिँदो वर्षा यामलाई ध्यान दिएर यहाँले जतिसक्दो छिटो भूकम्प पीडितका लागि अस्थायी बासको बन्दोबस्त गर्नेतिर आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ। विपत्पछि एकदेखि दुई हप्ता त्रिपालमुनि बस्न सके पनि त्रिपालले नै दुई/चार महिना धान्छ कि भनेर फुर्सदमा काम गर्ने सोचमा हुनुुहन्छ भने तपाईं ठूलो गल्ती गर्दै हुनुहुन्छ। आपत्कालीन अवस्थामा त्रिपालले एक/दुई हप्ता मानिसलाई आश्रय दिन सके पनि यो लामो समय टिक्ने विकल्प होइन। तर, विपत्तिको दुई हप्ता बित्न लाग्दा समेत अहिले पनि त्रिपालकै कुरा भइरहेकाले राहत र पुनर्बासको कुरा धेरै पछि धकेलिने भय पीडितहरूमा छ। विपत्मा परेका जनताको भय हटाउने जिम्मेवारी तपाईंको काँधमा रहेकाले तपाईं यो विपत्बाट भयमुक्त भएर राहत र पुनर्बासका लागि जुट्नुहुनेछ भन्ने आशा गरेको छु।

राजन नेपाल, भैँचालो पीडित

दुई पीपल–१, नुवाकोट

Source : Nagariknews