भूकम्पमा निधन भएका नागरिकप्रति सामूहिक श्रद्धाञ्जलि

0 16

काठमाडौँ, २४ वैशाख । सदाजस्तै वसन्तपुर गणेशस्थानमा घण्टको आवाज गुन्जिरहेको थियो । पूजा गर्ने र आशिर्वाद माग्नेहरू पनि सो मन्दिरमा भेला भएका थिए । फूल बेच्ने र आफ्नो दैनिकीका लागि दौडिरहेकाको अनुहारमा समेत कुनै चमक देखिँदैन थियो । सबैलाई शोक परेको छ । राष्ट्र पीडामा छ । जताततै शोक धुन बजाएको जस्तो लाग्ने वातावरण छ । यही वैशाख १२ गते गएको भूकम्पका कारण खण्डहरुमा परिणत भएको काठमाडौँ दरबार स्वायरमा कुनै चहलपहल देखिँदैन ।

मानिसहरू भयग्रस्त देखिन्छन् । प्राकृतिक विपत्तिले मानव जीवनमाथि थोपरेको पीडाको सचित्र वर्णन गरे जस्तो लाग्ने सो क्षेत्रमा आज एकाबिहानै सेतो कपडा लगाएका एक हुल मान्छे हातमा सिन्के धूप र फूल लिएर खडा भए र एक साथमा भने ‘‘मृतक आत्महरूप्रति श्रद्धाञ्जलि छ ।’’

प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन, त्यसबाट जोगिनका लागि भौतिक संरचना बलियो बनाउनुपर्छ । भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ । यस्तै सन्देश बोकेका सेतो कपडा लगाएर शोक व्यक्त गर्न भेला भएका मानिस जुद्धसडकबाट इन्द्रचोक हुँदै भग्नावशेषमा परिणत भएको काष्ठमण्डप अगाडि पुगे ।

नेपाल मण्डल राहत अभियानले संयुक्त समवेदना व्यक्त गर्न कार्यक्रमको आयोजना गरेको थियो । भूकम्पबाट निधन भएका नागरिकको आत्माले शान्ति पाओस् भन्ने नै सो कार्यक्रमको प्रमुख उद्देश्य रहेको नागरिक समाजका अगुवा मल्लके सुन्दरले बताउनुभयो ।

नेपाल प्रहरीका अनुसार आज बिहानसम्म भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या सात हजार ७५९ रहेको छ भने घाइतेको सङ्ख्या १५ हजार ९११ रहेको छ । सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकमा भएको छ ।

संयुक्त समवेदना व्यक्त गर्न नागरिक समाजका अगुवा पद्यरत्न तुलाधर, एकीकृत नेकपा(माओवादी)की नेत्री हिसिला यमी, सभासद् रुपा महर्जन, सङ्घीय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठलगायत सयौँको सहभागिता थियो ।

संयुक्त समवेदनामा सहभागी भएका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धर नेपाली परम्पराअनुसार मान्छे मरेको १३ दिनमा शोक व्यक्त गरेर जुठो चोख्याउने गरिन्छ । सोही अनुरुप आज सामूहिक श्रद्धाञ्जलि व्यक्त गरिएको बताउनुहुन्छ ।

सो कार्यक्रममा सहभागीहरूले सामूहिक रुपमा भूकम्प पीडितलाई प्रभावकारी रुपमा राहत वितरण गर्नुपर्ने, जनधनको क्षति भएकालाई उचित क्षतिपूर्ति दिनुपर्ने र मनसुन अगावै बसोवासका लागि सुरक्षित आवासको प्रबन्ध गर्नुपर्ने माग गरेका थिए ।

यस्तै नेपालको पहिचानको रुपमा रहेको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पुनः निर्माण गर्नुपर्ने र त्यसको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका थिए ।