सभापति ज्यू ! त्रिपाल होइन, जस्ताका लागि पहल गर्नोस्

0 8

काभ्रे, बैशाख २४–काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पका कारण पीडित भएका पोखरीचौरी गाविसका रबिन चौलागाईले भने, ‘सभापति ज्यू त्रिपाल होइन, जस्ताका लागि पहल गर्नोस् ।’ उनको प्रश्न भुइँमा खस्न नपाउँदै नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका सभापति शिव हुमागाईले भने , ‘हामीले जस्ताका लागि होइन, घर नै बनाउने कोशिस गर्दै छौँ । ’ यो संवाद हो बुधबार  बनेपामा यहाँ क्रियाशील राजनीतिक दलले आयोजना गरेको पत्रकार सम्मेलनमा पीडित व्यक्ति र राजनीतिक दलका नेताबीचको । सभापति हुमागाईले जिल्लामा भएको क्षतिलाई एक महिनाभित्र पूरा गर्नुपर्ने अल्टिमेटम प्रधानमन्त्रीलाई दिएको उल्लेख गर्दै पूरा नभए दलहरु आमरण अनसनमा बस्ने चेतावनीसमेत दिए । उनले जनताका लागि वितरण भएको त्रिपाल गुणस्तरीय नभएको भन्दै त्रिपाल तीन जनाको परिवारलाई पनि राम्ररी सुत्न मिल्ने खालको नभएको बताए । एमाले काभ्रेपलाञ्चोकका सचिव अशोक व्याञ्जुले नगरपालिका र गाविसमा एकै प्रकारका भूकम्प प्रतिरोधी घर बनाउन घरको नक्सा सम्बन्धित निकायले निःशुल्क स्वीकृति दिने प्रावधान हुनुपर्ने बताए । एमाओवादी काभ्रेपलाञ्चोकका अध्यक्ष दिनानाथ गौतमले जिल्लामा सबै राजनीतिक पार्टी एकताबद्ध भएर जनताको पक्षमा लागेको जिकिर गर्दै विपत्तीलाई टार्नुपर्ने बताए । जिल्लामा भूकम्पका कारण अहिलेसम्म ३१८ जनाको मृत्यु भएको छ । घटनामा परी ९ सयभन्दा बढी घाइते भएका छन् । भूकम्पमा करिब ४८ हजार घर पूर्णरुपमा क्षति भएको र २० हजार आंशिक रुपमा क्षति भएको प्रारम्भिक अनुमान छ ।