क्रिस गेलको विस्फोटक ब्याटिङमा पन्जाबमाथि बैंगलोरको विशाल जित

0 7

इन्डियन प्रिमियर लिग (आइपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले जारी सिजनकै सबैभन्दा ठूलो जित दर्ता गरेको छ।

क्रिस गेलको विस्फोटक ब्याटिङको मद्दतमा बैंगलोरले बुधबार राति घरेलु मैदानमा किंग्स इलेभेन पन्जाबलाई १३८ रनले हराएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले ३ विकेटको नोक्सानीमा २२६ रनको विशाल योगफल तयार पार्‍यो। क्रिस गेल एक्लैले ११७ रन हिर्काए। गेलले मात्र ५७ बलमा १२ छक्का र ७ चौकाको मद्दतमा उक्त शानदार पारी खेलेका हुन्।

बैंगलोरको इनिङ्समा एबी डि भिल्लियर्सले पनि ४७ रनमा अभिजित रहे।

२२७ रनको विशाल चुनौती पछ्याएको पन्जाब १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८८ रनमा समेटियो। अक्षर पटेलले ४० रन बनाए। पन्जाबका अन्य कुनैपनि ब्याट्सम्यान क्रिजमा जमेनन्।

पन्जाबको इनिङ्सलाई ध्वस्त पार्नेक्रममा मिचेल स्टार्क र श्रीनाथ अरविन्दले समान ४–४ विकेट लिए।

जितसँगै बैंगलोर १० खेलबाट ११ अंकका साथ आइपीएलको अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने पराजित पन्जाब पुछारमा छ।