दिदी, दाजु र अामाकाे काजकिरियामा किशाेरी

0 5

‘म बिरामी भइराख्छु, नर्स बन्नुपर्छ, आमा भन्नुहुन्थ्यो’ गोकर्णस्थित मन्दिर परिसरमा किरिया बसेकी सुस्मिता पण्डितले आमाको भनाइलाई स्मरण गर्दै  भनिन्, ‘दिदी बहिनी नर्सिङ अध्ययन गर्नेछौं ।’ कान्तिपुर दैनिकमा समाचार छ ।

भूकम्पमा परी मृत्यु भएका आमा साननानी, दिदी सीता र दाजु समिर पण्डितको काजक्रियामा बसेका छन्, सुस्मिता (वर्ष १५) र सुस्मा (१४) । भूकम्पमा आफ्नै घरमा च्यापिएर साननानी, सीता र समिरको मृत्यु भएको थियो । सिन्धुपाल्चोकको इचोक गाविसस्थित गोहरे गाउँमा दुई तले कच्ची घर भत्किँदा उनीहरुको मृत्यु भएको हो । गोहरे गाउँमा करिब १५० घर ध्वस्त भएका छन् भने २० जनाले ज्यान गुमाएका छन् ।

८ वर्षअघि प्यारालाइसिस रोगबाट बुबाको मृत्यु भएपछि सुस्मिता र सुस्मा भक्तपुरस्थित फुपुको घरमा बसेर अध्ययन गर्दै आएका छन् । ‘भूकम्पमा मृत्यु भएका आमा, दिदी र दाजुको क्रिया बस्ने कोही छैनन्’ दुवै दिदीबहिनी सुष्मिता र सुष्माले  भनिन– ‘त्यसैले हामी दिदीबहिनाले आमा, दिदी र दाजुको काजकिरिया गरेका हौं ।’