गर्मीले जनजीवन प्रभावित

0 9

गोलबजार (सिरहा), २४ वैशाख । केही दिनदेखि ह्वात्तै बढेको गर्मीका कारण सिरहा, सप्तरी, धनुषालगायत तराइको जनजीवन प्रभावित बनेको छ ।

गर्मीका कारण सडकमा हिँड्ने पैदलयात्रु र सरकारी कार्यालयमा आउने सेवाग्राहीको उपस्थिति न्युन भएको छ भने अस्पतालमा बिरामीको चाप बढेको छ ।

ज्वरो, टाइफाइड, झाडापखाला र जन्डिसलगायतका रोगी बढ्दै गएको जिल्ला अस्पताल सिरहाले जनाएको छ । अस्पतालमा अहिले दैनिक दुई सयभन्दा बढी बिरामी आउने गरेका छन् ।

यसैबीच गर्मीकै कारण किसानहरूले लगाएको तरकारी खेती सुक्दा बजारमा तरकारीको भाउ आकासिएको छ । गर्मीका कारण खेतमा लगाएको तरकारी सुक्न गई ग्रामीण क्षेत्रबाट कम आएपछि भाउ आकासिएको लहानका तरकारी व्यापारी महसे साहले जानकारी दिनुभयो ।

गर्मी बढ्दै गएपछि जमिनमुनिको पानी समेत सुक्न पुग्दा सिरहाका उत्तरवर्ती गाविसहरूमा खानेपानीको सङ्कट परेको छ । इनारमा भएको पानी समेत सुक्न थालेपछि स्थानीयवासीले सफा पानी समेत पिउन पाएका छैन । कतिपयले खोलाको पानी पिउन बाध्य छन् ।रासस