पत्रपत्रिकाबाट – चितुवाका दुई बच्चा झाडीमा बेवारिसे भेटिए

0 13

सिरहा, २३ बुधवार – सिरहाको गोलबजार नगरपालिका-१० घुर्मिखोला नजिक बुधबार विहान चितुवाका दुईवटा बच्चा भेटिएका छन्।

बिहान खेतबारीको काममा जाने क्रममा गाउँदेखि करिब डेढ किलोमिटर उत्तरको चुरे जङ्गल नजिकैको झाडीमा कराउँदै गरेको अवस्थामा चितुवाका बच्चा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

गाउँलेले खबर गरेलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाको कमाण्डमा गएको टोलीले चितुवाको बच्चा नियन्त्रणमा लिएको छ। चितुवाका बच्चा जन्मिएको हप्ता दिन भएको हुनसक्ने प्रहरीले जनाएको छ।

मिर्चैया नगरपालिकामा पर्ने कमलदहमा पानी पिउन आएको माउ चितुवा बच्चा छोडेर आहार खोज्न गएका बेला चितुवाको बच्चा भेटिएको हुन सक्ने अनुमान गरिएको छ।

चुरे जङ्गल क्षेत्रमा सुख्खा मौसममा डढेलो लाग्ने र पानीको समेत अभाव हुने भएकाले बच्चासँगै पानी खोज्दै माउ चितुवा बस्ती नजिकै आएको हुन सक्ने बताइएको छ । प्रहरीले जिल्ला वन कार्यालयको समन्वयमा चितुवाको बच्चा कोशी टप्पु वन्यजन्तु आरक्षलाई जिम्मा लगाएको छ।

आरक्षले बच्चा हराएको माउ चितुवा बस्तीमा पस्नसक्ने भन्दै बच्चालाई भेटिएकै स्थानमा छोडेर केही दिन निगरानी गर्न सुझाव दिएपछि आज साँझसम्म त्यहीं लगेर छोडिने जिल्ला वन प्रमुख नरेश ठाकुरले बताएकोअन्नपूर्ण पोष्टले खबर छापेको छ। तस्वीर : रातोपाटीबाट साभार