घाइतेबाट चर्को रकम असुल्दै निजी अस्पताल

0 3
काठमाडौं : भूकम्पपीडितहरूलाई अन्तर्राष्ट्रिय समुदायले खुला मनले सहयोग गरिरहेका बेला नेपालीकै लगानीमा नेपालमै स्थापित निजी अस्पतालले भने घाइतेको उपचारमा चर्को शुल्क असुलिरहेका छन्। निजी अस्पतालले मुलुकले नै महाविपत्तिको सामना गरिरहेका बेला घाइतेको नि:शुल्क उपचार गर्नुपर्नेमा पैसाबिना उपचार नगरेको तथ्य अन्नपूर्णले फेला पारेको छ।
भूकम्पबाट घरबार गुमाएका घाइतेसँग पैसा तिर्नसक्ने अवस्था नभए पनि कतिपय निजी अस्पतालले जबरजस्ती ‘डिपोजिट’ गर्न लगाएर उपचार थालेका छन्। भनेजति पैसा डिपोजिट गर्न नसकेपछि कतिपय अस्पतालले घाइतेको शल्यक्रियासमेत गरेका छैनन्। कतिपय घाइतेलाई स्वयंसेवकले नै औषधि किनेर खुवाउन थालेका छन्।
राष्ट्रिय ट्रमा सेन्टरबाट बुधबार ‘एन्जिओग्राम’का लागि पठाइएकी सिन्धुपाल्चोक जेठल-२ की घाइते कृष्णमाया जोशीलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालले तीन हजार दुई सय ८० रुपैयाँ नतिरेसम्म त्यो सेवा दिएन।
कृष्णमायालाई लिएर गएकी स्वयंसेवक आकृति बस्नेतले एम्बुलेन्सलाई जाँदा-आउँदा आठ सय रुपैयाँ तिनुप:यो। ‘उहाँसँग पैसा छैन, अवस्था गम्भीर छ, मिल्छ भने नि:शुल्क गरिदिनुहोस् न’ भन्दै बस्नेतले अस्पतालका कर्मचारीलाई धेरै बेर अनुरोध गरिन्। तर कर्मचारीले सुनेको नसुनेझै गरेपछि बस्नेतले साथीबाट पैसा मागाएर कृष्णमायाको एन्जिओग्रामको जोहो गरिन्।
‘जुनसुकै अस्पतालमा पनि हामी पैसा तिर्न बाध्य छौं। घाइतेको कोही हुँदैन’, अर्का स्वयंसेवक समीर श्रेष्ठले भने, ‘नि:शुल्कको कुरा गर्‍यो भने हामीलाई जानकारी छैन भन्छन् अस्पताल। पीडित बिरामी झन् पीडामा छन्।’

घाइते कृष्णमाया जोशी त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा। तीन हजार दुई सय ८० रुपैयाँ नतिरेसम्म ब्लु क्रसले उनको एन्जिओग्राम गरिदिएन। तस्बिर : दीपा दाहाल
कृष्णमायाका पति गणेशबहादुरले भने, ‘उठीबास भएका बेला अस्पतालले पैसा माग्दा मर्न मन लाग्छ। घर भत्किएको छ, छोराछोरीको बिचल्ली छ।’
टेकुस्थित काठमाडौं हस्पिटलका ‘डेपुटी म्यानेजर’ विजय आर्यले भने घाइते बिरामीबाट पहिले लिएको पैसा फिर्ता गर्दै सरकारको निर्देशनपछि सबैको उपचार नि:शुल्क गरेको बताए।
‘हामीले थाहा नपाएर घाइतेबाट बढीमा चार सय रुपैयाँ लिएका थियौं’, उनले भने, ‘त्यो रकम माग्न आए हामी फिर्ता गर्नेछौं। भर्ना भएका बिरामीको नि:शुल्क उपचार गरिरेहका छौं।’
आर्यले त्यसो भनिरहँदा घर भत्किएर घाइते भई सोही अस्पतालमा भर्ना भएका टेकुका आशिष केसीले उपचार खर्चको आठ हजार पाँच सय ९९ रुपैयाँ बिल बोकेर बसिरहेका थिए।
‘पहिले सबै उपचारको पैसा तिरें, तीन दिन भयो अब नि:शुल्क हुन्छ उपचार भन्नुभएको छ डाक्टरले’, उनले भने, ‘बिल माग्न आउनुभएको छैन। अब म बिरामी यस्तो बेला पैसा माग्न जाने स्थिति पनि रहेन।’
स्वास्थ्य मन्त्रालयले गत आइतबार घाइतेबाट असुलेको उपचार खर्च तत्काल फिर्ता गर्न र पैसा नलिई उपचार गरिदिन सबै निजी अस्पताललाई निर्देशन दिएको थियो।
बल्खुस्थित बयोधा अस्पताल पुग्दा कलंकीका घाइते प्रकाशविक्रम रावतकी पत्नी आराधनाले भनिन्, ‘सुरुमा उपचार पाउन नै संघर्ष गर्नुप:यो। उपचारपछि महँगो शुल्कले रुवाउनसम्म रुवायो।’
उनले पहिले चार हजार तिर्दा पनि अहिले फेरि अस्पतालले पैसा मागिरहेको र नि:शुल्क गर्नुहोस् भन्दा निवेदन लेख्न भनेको बताइन्। अस्पतालका प्रशासन प्रमुख राजन श्रेष्ठले भने आफूहरूले सम्पूर्ण घाइतेको नि:शुल्क उपचार गरिरहेको दाबी गरे।
‘पहिले कसैले पैसा तिरेको छ भने बिल लिएर आओस्, हामी फिर्ता गर्न तयार छौं’, उनले भने, ‘अहिले हामीले कसैबाट पनि पैसा असुल गरेका छैनौं, सरकारको समेत पैसा आवश्यक छैन भनिरहेका बेला बिरामीलाई ठग्ने काम हामीबाट हुन्न र हुने छैन।’
उक्त अस्पतालमा उपचारका क्रममा आफू ठगिएको भन्दै एक बिरामीले मंगलबार मात्र स्वास्थ्य मन्त्रालयमा उजुरी दिएका थिए। मन्त्रालयले बेवास्ता गरेपछि उनी समस्या समाधानका लागि कालीमाटी प्रहरी गुहार्न पुगेका थिए। अस्पतालमा प्रहरी पुगेपछि अस्पतालले उपचार खर्च नलिने भन्दै उनलाई डिस्चार्ज गरेको थियो।
सानेपास्थित मेघा अस्पतालले त सुरुमै घाइते बिरामीलाई ‘डिपोजिट’ राख्न लगाएर उपचार सुरु गरेको पाइएको छ। कीर्तिपुरकी घाइते २४ वर्षीया सुनिता वाइबाका पति सुरेशले १५ हजार ‘डिपोजिट’ र पाँच हजार औषधि खर्च दिएपछि मात्र अस्पतालले भर्ना लिएको भन्दै मन्त्रालयमा उजुरी दिएका छन्।
अन्नपूर्णकर्मी अस्पताल परिसरमा पुग्दा निधारमा हात राखेर बसिरहेका उनले भने, ‘बस्ने बास र खाने गाँस नभएका बेला अस्पतालले हाम्रो बाध्यताको फाइदा उठाइरहेको छ। नजिकै भएकाले त्यतिबेला आत्तिएर पत्नीलाई यहीं ल्याए, ऋण गरेर भए पनि पैसा तिरें।
अहिले त कसरी भाग्ने भन्नेमात्र भइरहेको छ। घर भत्किएर ढुंगाले लागेर उछिटिएका सुनिताका अगाडिका दाँतको शल्यक्रिया भएको नौ दिन भइसकेको छ। ‘सुरुका तीन दिन पैसा जुटाउन नसक्दा उपचार भएन, अहिले निको भइसक्दा पनि डिस्चार्जको सुरसार छैन’, त्यहाँ भर्ना भएका अन्य दुई घाइतेका आफन्तले भने।
ललितपुर महालक्ष्मीस्थानस्थित गणेशमान मेमोरियल अस्पताल पुग्दा घाइते रमेश महर्जन पैसा अभावमा उपचार नपाएको भन्दै डाँको छोडेर रोए। परिसरमा अलपत्र परेका उनले अस्पतालले मागेजति ५० हजार डिपोजिट राख्न नसक्दा यतिका दिनसम्म आफ्नो भाँचिएको खुट्टाको शल्यक्रिया हुन नसकेको दु:खेसो गरे।
‘पैसा दिन नसक्दा कहिले सामान छैन भन्छन्, कहिले विदेशबाट डाक्टर आएका छैनन् भन्छन्, कहिले मेरो खुट्टा सुनिएकाले मिलेन भन्छन्’, उनले भने, ‘अब त मलाई आस पनि छैन, मर्न पाए हुन्थ्यो। खुट्टा काट्नुपर्‍यो भने त मेरो परिवार मर्छ।’
नेपाली सेनाले मेलम्चीबाट उद्धार गरी छाउनी अस्पताल ल्याएका मणिप्रकाश राई भीडमा उपचार नपाएपछि ग्वार्कोस्थित बी एन्ड बी पुगे। तर अस्पतालले सुरुमै पैसा नतिरे उपचार सम्भव छैन भनेपछि उनको परिवार निराश भएको छ। ‘छाउनीमा आराम गरे अब निको हुन्छ भनिएको थियो।
दुखाइ बढेपछि बुवालाई यहाँ ल्याएका थियौं, यहाँ त सुरुमै कम्तीमा दुई लाख लाग्छ भन्छन्। गोजीमा १० रुपैयाँ नभएका हामीले त्यत्रो रकम कसरी तिर्ने?’ उनका छोराले भने।
बी एन्ड बीका प्रशासन प्रमुख विजय गिरीले सरकारले दिने थोरै उपचार खर्चबाट आफूहरूले गम्भीर घाइतेको उपचार गर्न नसक्ने दाबी गर्दै बुधबारदेखि पैसा लिन थालेको स्वीकारे।
सरकारको निर्देशनपछि नर्भिक, ओम, ग्रान्डीलगायत केही अस्पतालले भने पहिले लिएको पैसा फिर्ता गर्दै घाइतेको नि:शुल्क उपचार थालेको जानकारी मन्त्रालयमा गराएका छन्।
मन्त्रालयका प्रवक्ता डा. गुणराज लोहनीले सरकारले घाइतेको मुख्य शल्यक्रिया गर्दा लागेको रकममात्रै दिने र बाँकी भार उनीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत बेहोनुपर्ने बताए। उनले निजी अस्पतालले ठगेको गुनासो आएकाले बुधबारदेखि समिति बनाई अनुगमन थालेको जानकारी दिए।

– Source: Annapurna Post