पुरिएको खाद्यान्‍न झिक्न जुट्यो स्काउट

0 5
काठमाडौं : महाभूकम्पपछि उद्धार र राहतमा सक्रिय नेपाल स्काउटका स्वयंसेवक यतिखेर भत्केका घरबाट खाद्यान्न र सम्पत्ति झिकिदिने कार्यमा खटिएका छन्। नेपाल स्काउटका प्रमुख आयुक्त रवीन दाहालका अनुसार यसका लागि मुलुकभरका १६ जिल्लामा दुई हजार सात सय स्काउट स्वयंसेवक परिचालन भएका छन्।
नेपाल स्काउटका स्वयंसेवकले भत्किएका घरभित्र च्यापिएका खाद्यान्न, लत्ताकपडा र महत्त्वपूर्ण कागजात खोजिदिने कार्य गरिरहेका छन्। ‘पहिलो चरणमा हामीले भूकम्पमा परी थिचिएका व्यक्तिको उद्धार गर्ने, शव निकाल्ने, घाइतेलाई औषधि दिनेलगायतका काम गर्‍यौं।
अहिले नेपाली सेना र नेपाल प्रहरीसँग मिलेर भत्किएका घरले पुरेका खाद्यान्न र अन्य सामान निकाल्ने काममा लागेका छौं’, प्रमुख आयुक्त दाहालले भने।
सिन्धुपाल्चोक, धादिङ, गोर्खा, नुवाकोट र काठमाडौंका तीन जिल्लालाई प्राथमिकतामा राखेर काम सुरु गरिएको उनले बताए।
भत्केका घरबाट थिचिएका सामग्री झिक्ने क्रममा साँखु क्षेत्रमा स्काउट स्वयंसेवक सुदर्शन बजगाईं तथा विक्रम लामाले लाखौं रुपैयाँ बराबरको नगद र गरगहना भेटेका छन् भने ककनीमा शिवराम आर्यालको टोलीले पनि नगद र गरहगना भेटेर सम्बन्धित घरधनीलाई बुझाएका छन्।
त्यसैगरी ललितपुरको लुभुमा स्काउट गोपाल महर्जन, प्रकाशराज पाण्डे र विवेक श्रेष्ठले नगद र गरगहना र ललितपुरको सानागाउँमा पनि पवन कोइरालाले चाँदीका गरगहना भेटेर सम्बन्धित धनीलाई बुझाइसकेका छन्।
यसका लागि काठमाडौंमा मात्रै एक हजार एक सय ३७ स्काउट परिचालन गरिएको छ। काठमाडौंको वसन्तपुर क्षेत्रमा काठमाडौं जिल्लाका संगठन आयुक्त रञ्जनलाल श्रेष्ठ, स्काउट शिक्षक धर्मभक्त मल्ल र साँखु क्षेत्रमा स्काउट मास्टर दीपेश केसी, बलराम प्यासी, देवदूत अधिकारीको नेतृत्वमा स्काउट स्वयंसेवक परिचालन गरिएको छ भने नेपाल स्काउटका सल्लाहकार शिवराम अर्याल र प्रमोद सापकोटाको नेतृत्वमा रहेका टोलीले ककनीमा गरगहना फेला पारेका छन्।
त्यसैगरी ललितपुरका सामुदायिक विकास आयुक्त केशव महर्जन, सत्यनारायण शाही, नरेश महर्जनको नेतृत्वमा पाँच सय ३४ जना स्काउट स्वयंसेवक ललितपुरका लुभु, सानागाउँ, ठेचो, ठैव, हरिसिद्धि, खोकना, बुङमती र मंगलबजार क्षेत्रमा खटाइएको छ भने मध्यपुर ठिमीमा हरिबहादुर श्रेष्ठको नेतृत्वमा स्काउट सामान सुरक्षामा खटेका छन्।
नेपाल स्काउटले रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप, धादिङ, गोरखा, मकवानपुर, दैलेख, कास्की, पर्सालगायतका ठाउँमा गरी दुई हजार सात सय स्काउट स्वयंसेवक परिचालन गरिएको छ।
भूकम्पबाट क्षति नभएका जिल्लाका स्काउटलाई समेत बोलाएर प्रभावित क्षेत्रमा स्वयंसेवा दिने काम भइरहेको प्रमुख आयुक्त दाहालले बताए। उनका अनुसार मंगलबारदेखि निजी शैक्षिक संस्थाको छाता संगठन एपीनसँगको पनि सहकार्यमा पुरिएका सामान निकाल्ने काममा स्काउटले विद्यार्थीलाई परिचालन गरेको छ।