भूकम्पले मुलुकको नक्सांकन नै परिवर्तन

0 4
नापनक्साका आधारमा बिन्दुहरुको सञ्जाल धवस्त
काठमाडौं : भूकम्पले मध्य, पूर्व र पश्चिमाञ्चलका विभिन्न क्षेत्रमा राखिएका जग्गा नापजाँचका सन्तुलन बिन्दुहरू ध्वस्त हुँदा मुलुककै नक्सांकनको दिशा परिवर्तन हुने भएको छ।
नापी विभागले भूकम्पपछि उपत्यकाका विभिन्न पाँच नियन्त्रण बिन्दुबाट जीपीएस प्रविधिबाट सर्वेक्षण गर्दा डेढ मिटर हाराहारीमा दक्षिण पश्चिम सरेको निष्कर्ष निकालेको छ।
भक्तपुरको नगरकोट, ललितपुरको फूल्चोकी डाँडा, बुङमतीको लाखेडाँडा, काठमाडौंको स्वयम्भू, नुवाकोटको कुमारीडाँडामा जग्गा नापजाँच र नक्सांकनका लागि राखिएका नियन्त्रण बिन्दुमा नापी विभागले भूकम्पपछि जीपीएस प्रविधिमार्फत अध्ययन गर्दा ती बिन्दु ध्वस्त भएको र पुन: सर्वेक्षण गर्नुपर्ने देखिएको छ।

भूकम्पले भत्काएको काठमाडौंको स्वयम्भू
नापी विभागको विशेषज्ञ टोलीले जीपीएस डाटा प्रशोधन गर्ने क्रममा हङकङ, ल्हासा, बैंग्लोर, हैदराबाद, कजकास्थान, ओमान, मंगोलियालगायतका स्थानमा रहेका १३ वटा सीओएसबाट प्राप्त डाटालाई आधार मानेर विश्लेषण गर्दा नियन्त्रण बिन्दुहरूको अवस्थिति फरक पर्न गएको देखिएको हो।
 ‘नगरकोटमा रहेको नियन्त्रण बिन्दुको अवस्थिति १.८२ मिटर दक्षिण-पश्चिम परिवर्तन भएको र उचाइ ७० देखि ८० सेमिले बढेको पाइयो’, विभागका महानिर्देशक मधुसूदन अधिकारीले भने, ‘फूल्चोकीमा रहेको नियन्त्रण बिन्दुको अवस्थिति ०.९२ मिटर दक्षिण-पश्चिममा परिवर्तन भएको र उचाइ ३० देखि ४० सेमिले बढेको देखियो।’
भूकम्पले राष्ट्रिय नापनक्साका आधारका रूपमा रहेका नियन्त्रण बिन्दुहरूको सञ्जाल ध्वस्त बनाएको छ। मुलुकभर यस्ता नियन्त्रण बिन्दु झन्डै तीन लाख स्थानमा छन्।
‘मुलुकभरका तीन लाखभन्दा बढी नापनक्साका नियन्त्रण बिन्दुहरू भूकम्पले ध्वस्त बनाएको छ’, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका प्रवक्ता नागेन्द्र झाले अन्नपूर्णसँग भने, ‘यो सरकारलाई अर्बौं रुपैयाँ नोक्सान हो।’
यिनै नियन्त्रण बिन्दुकै आधारमा भूमि टुक्र्याउने, नापजाँच गर्ने र सिमाना तोक्ने गरिन्छ। त्रिकोणात्मक रूपमा विभिन्न अर्डरमा झन्डै तीन लाख नियन्त्रण बिन्दु राखेर त्यसकै आधारमा जग्गाको विस्तृत नापजाँच गरिन्छ।
मुलुकभर यस्ता नियन्त्रण बिन्दु झन्डै तीन लाख
नापीको नक्सा र जग्गाको स्वामित्वमा भने खासै असर नपर्ने
देशभर पहिलो अर्डरमा ६८, दोस्रो अर्डरमा ६ सय ५३, तेस्रो अर्डरमा तीन सय ७० र चौथो अर्डरमा दुई लाख ५६ हजार चार सय दुईवटा नियन्त्रण बिन्दु छन्।
भूकम्पले पूर्व, मध्य र पश्चिमाञ्चल विकास क्षेत्रका नियन्त्रण बिन्दु ध्वस्त पारेकाले फेरि मुलुकभरकै नियन्त्रण बिन्दु मापन गरेर राख्नुपर्ने भएको छ। ‘देशको अधिकांश क्षेत्रमा राखिएका नियन्त्रण बिन्दु ध्वस्त भएकाले अब पूरै नेपालकै नियन्त्रण बिन्दु पुन: मापन गरेर राख्नुपर्छ’, प्रवक्ता झाले भने।
जग्गाका साथै देशभरका सडक मापन गर्न राखिएको लेबलिङ नेटवर्क पनि ध्वस्त भएकाले पुन: मापन गरेर नियन्त्रण बिन्दु राख्नुपर्ने भएको छ। देशभर लेवलिङ नेटवर्क ६ हजार ६ सय ७८, ग्राभिटी स्टेसन नौवटा, एब्सुलेट ग्राभिटी १४ सय ४७ र डिफ्ल्याक्सन भर्टिकल ६३ वटा छन्।
‘देशभरका नियन्त्रण बिन्दु ध्वस्त भएपछि पुनर्स्थापना गर्नुपर्ने अवस्था आएको छ, विभागका महानिर्देशक अधिकारीले भने, ‘तर यसले कित्ता, नापीको नक्सा र जग्गाको स्वामित्वमा भने खासै असर गर्दैन।’