घर भत्काउन प्रशासनमा निवेदन

0 13

२४ बैशाख, काठमाडौं । भूकम्पले चर्किएका अपार्टमेन्ट तथा लच्किएका ठूला घर भत्काउन माग गर्दै छिमेकीहरुले प्रशासनमा उजुरी गर्न थालेका छन् ।

दर्जनौं घरधनीको निवेदन दैनिक आउने गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । महानगरपालिकामा पनि त्यतिकै उजुरी बढेको नयाँ पत्रिकामा खबर छ ।

उजुरीका आधारमा काठमाडौं प्रशासनले बुधबार विभिन्न स्थानका घरको निरीक्षण गरेको थियो । प्रशासनले तत्काल भत्काउनुपर्ने २०-२५ वटा घरको बुधबार निरीक्षण गरेको हो । ‘डल्लुमा एउटा पाँचतले घर लड्न खोजेको छ, छेउमा अरु चा-पाँवटा घर छन्,’ काठमाडौं प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल भन्छन्-‘यस्ता समस्या धेरै ठाउँमा छन् ।’ डल्लु, गोंगबु, कीर्तिपुर, बल्खुलगायत क्षेत्रमा यस्तो समस्या देखिएको उनले बताए ।