गुफावासीले भने-सरकार पठाइदिनुस् है, नत्र चुनावमा जानेका छौं

0 14

भूकम्पले सबैभन्दा बढी जिउधनको क्षती पुर्‍याएको सिन्धुपाल्चोक पुग्न साह्रै मन थियो । बैशाख १८ गते काठमाडौंको बूढानीलकण्ठको कालिकाचौरमा भूकम्प प्रभावित १० दलित परिवारलाई राहत दिन गएका बेला राजधानीमै बसिरहेका उनीहरुको बिजोग देखेपछि सिन्धुपाल्चोक जाने ईच्छा अझ तिब्र भयो ।

बैशाख १९ गते साथी इन्दिरा घले, सायरा कार्की र कला राई आफ्नो तर्फबाट संकलन गरेको राहत बोकेर नुवाकोटको ककनी गाविसको धनसारमा पुग्दा उहाँहरुबाट सुनेको भूकम्प प्रभावितहरुको पीडाले मन साह्रै दुखायो ।

हामीले त्यसपछि भूकम्पले क्षती पुर्‍याएको सुगमभन्दा दुर्गम र सम्पन्न भन्दा बिपन्न मान्छेहरुको बस्ती भएको ठाउँमा पुग्ने निर्णय गर्‍यौं । प्रभावितसम्म पुग्दा त्यहाँको पहिलो आवश्यकता के हो ? भन्ने कुरामा सबैले छलफल गर्‍यौं ।

काठमाडौंको चावहिलस्थित सरस्वतीनगरमा रहेको गोल्डेन पिक हाईस्कुलका प्रिन्सिपल छत्रमणि राई, स्कुलका सबै शिक्षक, ओजस्वी संस्थाका पदाधिकारी, अधिकारकर्मी इन्दिरा घले, कला राई र शावित्री बोहोरालगायतले चामल, गाडी, केही कपडा, लिटो, चिउरा, सेनेटरी प्याड, सोयाबिन लगायतका राहत सामग्रीको जोहो गर्नुभयो । त्यसपछि गोल्डेन पिक हाईस्कुलले निशुल्क दिएको बसमा हामी सिन्धुपाल्चोकको दुर्गम गाविस ज्यामिरेको वडा नम्बर ८ गुफामा जाने निधोका साथ बैशाख २१ गते काठमाडौंबाट हिड्यौं ।

गुफा जान मेलम्चीबाट पैदल गए एक घण्टा र गाडीमा गए डेढ घण्टा लाग्ने सुनेका थियौं । काठमाडौंबाट सामानसहित हिँडेको हाम्रो गाडी दिउँसो साढे दुई बजेतिर मेलम्ची बजार पुग्यो ।

हामी मेलम्ची पुग्दा गुफाका भागबिर तामाङ, बिर्खबहादुर तामाङ, बुद्धलाल तामाङ लगायत युवाहरुको टोली मेलम्ची पुगिसकेको रहेछ । सरकार र गैरसरकारी संस्थाहरुले भूकम्प प्रभावितहरुलाई राहत दिँदैछन् भन्ने थाहा पाएपछि बैशाख १३ गतेदेखि नै हरेक दिन मेलम्ची बजार धाइरहेका उनीहरुले राहतका नाममा एकमुठी चामलसमेत पाएका रहेनछन् ।

राहत पाउने आशमा हरेक दिन घरबाट मेलम्ची बजार आउनु र बेलुकी रित्तै हात फर्किनु उनीहरुको दिनचर्या नै भइसकेछ । गुफाका युवाहरु मेलम्ची बजारको बाटोमा भरीभराउ अवस्थाका राहत बोकेका गाडी देख्दा कसैले तपाईहरु पनि भूकम्प प्रभावित हो कि भनेर सोध्लान् भन्ने आशमा रहेछन् । तर, कसैले सोधेनन् । राहत बोकेर जानेहरु कोही सदरमुकामतिर लागे । कोही मेलम्ची आसपासका गाउँहरुमा राहत छोडेर फर्किए । गुफावासीले राहतको आस गरेको १० औं दिनसम्म कसैबाट पनि राहत पाएनछन् ।

बैशाख २१ गते पनि बिहानैदेखि गुफाका युवक हाम्रो प्रतिक्षामा मेलम्ची पुगेका रहेछन् । मेलम्चीबाट हामीले बोकेको राहत कसरी गुफा लैजाने भन्ने कुरा भयो । बल्लतल्ल पाएको राहत गाउँमा लैजान भागबीर तामाङको टोली आतुर देखिन्थ्यो । हामीले गुफा पुग्न कति समय लाग्छ भनी सोध्यौं । भागबीरले सामानसहितको गाडीमा जाने हो भने एक घण्टा र पैदल डेढ घण्टा जति लाग्ला भने । उनीहरु धेरै समय लाग्छ भन्दा हामी आत्तिन्छौं भन्ने ठानेका रहेछन् ।

मैले गुफा कुन हो ? कतापट्टि पर्छ ? भनी सोधेपछि उनले मेलम्चीको दाँयातिर रहेको डाँडोको टुप्पोतिर औंलाले देखाए । मैले त्यो बादल छुन लागेको भाग हो ? भन्दा उनले हाँसेर हो भने ।

Gufa Rahat (2)

त्यो देखेपछि मैले हिँडेर जाने भए त्यहाँ जान सक्दिनँ भन्दै मेलम्ची नै बस्ने मनस्थिति बनाएँ । अरु दिन भन्दा स्वास्थ्य सहज थिएन मेरो । पहाडमै हुर्के बढेकी मैले त्यो डाँडाको टुप्पो पुग्न हाम्रो टीमलाई कम्तिमा चारघण्टा लाग्छ भन्ने अड्कल गरिसकेकी थिएँ । भागबीरहरुको टीमले तपाईहरु चारजना भए पनि गुफा पुग्नै पर्छ, त्यहाँको अवस्था हेर्नैपर्छ भनी कर गरिरहेको थियो ।

कला र इन्दिरालाई पनि त्यहाँ जान असाध्यै मन थियो । म मन भएर पनि स्वास्थ्यका कारण जाने आँट गरिरहेकी थिइँन । पछि गाडीमै गुफा पुग्ने निर्णय भयो । भागबीरहरुले कला र इन्दिरालाई सामान बोकेको गाडीको पछाडि बस्न भने । इन्दिरा अगाडि नै तलबाट चामलका बोरा ओसार्न खटिरहेकी थिइन् । कला पनि गएर गाडीको पछाडि सामान राखेको ठाउँमा बसिन् । म तलै थिएँ । उनीहरु दुबै जनाले मलाई माथि आउन कर गरे । उनीहरुले प्लिज भनेपछि मैले मन थाम्न सकिनँ । म पनि सामानमाथि बस्न गएँ ।

हामीसँगै गोल्डेन पिकका ३ जना शिक्षक पनि गए । अरु बाँकी गुफाका युवकहरु थिए ।

मेलम्ची बजार र ज्यामिरे जोड्ने ईन्द्रावती नदीको पक्की पुल पारि सयौं मान्छे जम्मा भएका थिए । दुईवटा साना र एउटा ठूला गाडी थिए । करिब १२-१३ जना सेतो टिसर्ट लगाएका युवाहरु पनि स्थानीयसँग कुरा मिलाउने प्रयास गरिरहेका जस्ता देखिन्थे । स्थानीयहरु कसैको हातमा नाम्लो देखिन्थ्यो । कसैको हातमा खाली सिमेन्टका बोरा । उनीहरु ज्यामिरेका विभिन्न ठाउँबाट राहतको खोजीमा तल झरेका रहेछन् । संघ संस्थाका राहत बोकेका गाडीहरुलाई उनीहरुले माथि जानै दिँदा रहेनछन् । तर, हामीसँगै भागबीरलगायत स्थानीयहरुको टीम देखेपछि उनीहरुबाट कुनै रोकावट भएन । हामी चढेको गाडी उकालो चढ्यो ।

पुल कटेको दुई मिनेट नपुग्दै गाडीको बाटो देख्दा डर लाग्न थाल्यो । मैले चालक अनुभवी मान्छे हुन् नि भनेर सोधें । गुफाका बुद्धलालले चिन्ता नगर्नु मिस, रातदिन यही बाटोमा गाडी चलाउने मान्छे हुन्, उमेरले सानै छन् । तर साहै्र अनुभवी र संवेदनशील छन् भनी विश्वास दिलाए ।

उनले त्यसो भन्दाभन्दै गाडीको एकतिरबाट हुत्तिएर अर्कोतिर पुग्दा पनि गाडी नै त दुर्घटनामा पर्दैन होला भन्नेमा विश्वस्त भएँ । असाध्यै जोखिमपूर्ण तरिकाले चलिरहेको गाडीको ध्यान अन्तै मोड्न सकियोस् भनेर मैले बुद्धलालसँग कुराकानी गर्न थाले । कला र इन्दिरा पछाडितिर कसरी राहत संकलन गर्ने र भूकम्पले सबैभन्दा असर पारेको ठाउँमा कसरी पुग्ने भन्दै गफिइरहेका थिए ।

बुद्धलालको कुराले मेरो आँखा रसायो । मेरो बोली अवरुद्ध भयो । तर, मैले चश्मा लगाएकी थिएँ । आँसुले छचल्किएका मेरा आँखा कसैले देख्न पाएनन् । उनले कुराकानीको सुरुवातमै भने, -“के गर्नु मिस । गरिवको भाग्यमै दुःख लेखिएको हुँदोरहेछ । भाग्यमै नअटाएको कुरा कसरी पाउनु ?”

उमेरले २७ वर्षका युवा बुद्धलालले आफुहरुले यस्तो दुःख पाउनुको दोष भाग्यलाई नै दिए । उनले पाँच कक्षा पढेर स्कुल छाडेका रहेछन् । गुफाको क्याउरे प्राविमा पाँच कक्षासम्मको अध्यापनमात्र गराइँदो रहेछ । यही वर्षको बैशाख महिनादेखि निमाविसम्मको अनुमति पाएको रहेछ । तर, विद्यालय सुरु हुन नपाउँदै भूकम्पले क्षतिग्रस्त बनाइदिएछ । त्यसपछिको अध्ययनका लागि गुफाभन्दा तल्लो गाउँ (हिँडेर २ घण्टा) मेलम्ची १५ स्थित ज्यामिरेको जनता माविमा पुग्नुपर्ने रहेछ । त्यसपछि बुद्धलालले स्कुल छोडेका रहेछन् ।

उनलाई २ छोराछोरी र श्रीमती पाल्नुपर्ने जिम्मेवारी छ । केही वर्ष पहिले बुबा गुमाएका बुद्धलालकी आमा र कान्छो भाइको रेखदेख ठूलो दाइले गर्ने रहेछन् । दाइसँग छुटि्टएपछि गाउँमा भारी बोक्ने बाहेक केही काम नपाउँदा उनी ३० महिना साहुको ऋण काढेर दुबई पुगेछन् ।

दुबईमा ३० महिना होटेलमा भाँडा माझ्ने काम गरेपछि ४ लाख कमाएर घर बनाउने रहरले गाउँ फर्केछन् । आफ्नो कमाइ र साहुको थप ४ लाख ऋण निकालेर घर बनाएका बुद्धलाललाई घर प्रवेश गरेको तेस्रो दिनमै भूकम्पले घर भत्काएपछि रुनु र हाँस्नु भएको रहेछ ।

अब विदेश नजाने सोचमा घर फर्किएका उनी साहुको ऋण तिर्न भए पनि फेरि विदेश जाने कि भन्ने सोच्न थालेका छन् । बुद्धलालको जस्तै गुफाका ४७ वषर्ीय बिर्खबहादुर तामाङको पीडा पनि कम्ति छैन ।

१३ वर्षको उमेरदेखि भारी बोकेर परिवारको मुखमा माड लगाउँदै आएका बिर्खबहादुरको घर पनि भूकम्पले भत्कायो । खाल्डाखुल्डी परेको भिरालो बाटोमा गाडीले वल्लो छेउ पल्लो छेउ पुर्‍याइरहँदा बाँया हातले चामलको बोरालाई बेस्सरी समातिरहेका बिर्खबहादुरले दाँया हात गालामा लगाउँदै भने,-“जिन्दगीभर अरुको भारी बोकेर कमाएको पैसाले घर बनाएँ, अब त आफु बाँचुञ्चेल घर बनाउँनकै लागि साहुसँग हात फैलाउनु नपर्ला सोचेको थिएँ । तर, के गर्नु, दुःखीको कर्मै खोटी !”

भूकम्पले हेर्दाहेर्दै दुईतले घर सबै भत्किएर धुलो उड्न थालेपछि छोराछोरी र आफूले परबाट घर भत्किएको दृश्य टुलुटुलु हेरेको दुखेसो गरे । गरिवीले उक्सिन नदिएको आफ्नो जीवनमा भूकम्पले पुर्‍याएको थप क्षतीबारे सुनाइरहँदा बिर्खबहादुरले मलाई काठमाडौं र मेरो जन्मभूमि सुदूरपश्चिममा भूकम्पको असर कस्तो छ भनेर पनि सोध्न भ्याए ।

अडाइ घण्टाको गाडीको कष्टकर यात्रापछि हामी गुफा पुग्यौं । बैशाख १२ गतेको भूकम्पले ज्यामिरे गाविसमा ४५ जनाको मृत्यु भइसकेको रहेछ । १५ जना बालबालिका भाग्ने क्रममा घाइते भए पनि संयोग नै भन्नुपर्छ, गुफा गाउँमा चाहिँ कुनै मानवीय क्षती भने भएको रहेनछ ।

गुफा नाम सुन्दा मलाई त्यो गाउँ पहाडको फेदीमुनि कुनै अनकन्टार ठाउँमा छ कि भन्ने लागिरहेको थियो । मेलम्चीबाट उकालो लाग्दा बाटोमा चार/पाँचवटा सिमेन्टले बनाएका पक्की घर बाहेक कच्ची घरहरु एउटा पनि ठाडा देखिएनन् । घरका ढुङ्गा एकातिर थिए भने फर्निचर, जस्तापाता लगायतका सरसामानहरु धुलाम्मे अवस्थामा यत्रतत्र छरिएका देखिन्थे । कोही छरपस्ट अवस्थामा भत्किएका आफ्ना घरबाट माटो, ढुङ्गा पन्छ्याउँदै सामानहरु निकाल्न ब्यस्त देखिन्थे त कोही लालाबालासहित घरभन्दा टाढा बाटो छेेउछाउ बसिरहेका भेटिन्थे । केही महिला बारीमा मकैका बिरुवा गोडमेल गरिरहेका थिए ।

त्यो ठाउँमा राहत आउँछ भन्ने आस उनीहरुमा करिब मरिसकेको रहेछ । तर पनि कुर्दाकुदै विरक्त भएर बस्नुको बिकल्प थिएन उनीहरुलाई । हामी जब गुफाको रमणीय डाँडोमा रहेको भागबीरको दुईतले पक्की घर नजिकै पुग्यौं, खुट्टामा चप्पल पनि नलगाएका, जिङरिङ्ग कपाल छोडेका महिला, वृद्धवृद्धा र प्रायः माथिको कपडामात्र पहिरिएका केटाकेटीहरु भेला भए । हामीले खानेकुरा ल्याएको थाहा पाएपछि एकपछि अर्को गर्दै एकैछिनमा मान्छेको भिड जम्मा भयो । काखमा स-साना नानी च्यापेका आमाहरुलाई हामीसँग भएको लिटो दिन थालेपछि एकछिनमै अरु नानी भएका आमा, हजुरआमा, हजुरबा र दाजु भाइहरु पनि लिटो माग्न आउन थाले ।

शिक्षक गणेशप्रसाद ओली लगायतले हामीले बोकेको राहत गाउँका प्रत्येक मानिसलाई नाम बोलाएरै बाँड्न थालेपछि गुफावासी खुसी हुँदै चामलका बोरा पिठ्यूमा बोक्दै घर गए । सरकारी र गैर सरकारी संस्था कसैको पाइला नपुगेको गुफामा हाम्रो उपस्थितिले यति धेरै खुसी दिन्छ भन्ने मैले सोचेकी पनि थिइनँ ।

Gufa Rahat (1)

हामीले लिएको खानेकुराले उनीहरुलाई दुईचार दिन चूलो बाल्न त सघाउला, तर अर्को दिन फेरि त्यही समस्या दोहोरिने हो भन्दै हामीले एकआपसमा कुरा गर्‍यौं । भूकम्पमा सबै जायजेथा गुमाएका गुफावासीलाई खानेकुराका साथै पहिलो आवश्यकता त्रिपालको रहेछ । उनीहरुले हामीलाई त्रिपाल ल्याउनुभाको छैन ? भन्दै पटक-पटक प्रश्न गरे ।

उनीहरुको आशा र आवश्यकताले हामीलाई अर्कोपटक त्रिपालको जोहो गरेर आउनुपर्छ कि भन्ने महसुस गरायो । तीनजना छोराछोरीकी आमा माया तामाङ र पाँच छोराछोरीकी आमा मिङ्मर तामाङले उनीहरुका समस्या सोध्ने क्रममा मलाई भनिन्-“बैनी, हाम्रो गाउँमा सरकार पठाइदिनुस् है Û” गुफावासीका लागि सरकार कुन चरीको नाम केही थाहा छैन । सरकारबारे जान्न, सुन्न र अनुभवसमेत गर्न नपाएका उनीहरुलाई सरकार कुनै मान्छेको नाम हो कि भन्ने लाग्दो रहेछ ।

लगभग १२० घर तामाङ, २० घर शेर्पा, १७ घर मगर, १३ घर गुरुङ र ४ घरधुरी दलितको बसोबास रहेको गुफा सिन्धुपाल्चोकको क्षेत्र नम्बरमा ३ मा पर्छ । दोस्रो संविधानसभाको निर्वाचनमा त्यहाँबाट बिजयी सभासद शेरबहादुर तामाङ पनि निर्वाचनपछि गुफा गएका छैनन् रे । शिक्षा, स्वास्थ्य, रोजगारी, चेतना लगायतका सेवा सुविधाबाट त गुफा धेरै टाढा रहेछ ।

चुनावका बेला विकासका मीठा आश्वासन दिने नेताहरु पनि भोट पाएपछि फर्केर गाउँ नपस्ने रहेछन् । त्यसैले त यसपटकको भूकम्पले गुफावासीलाई पनि सचेत गराएको छ, उनीहरु विगत जस्तै आशवासनमात्र दिने नेताहरुको सपनामा भूल्ने छैनन् । उनीहरु भन्दैछन्-“फेरि पनि त चुनाव त पक्कै हुन्छ, हामीले जानेका छौं, नेताहरु कसरी भोट माग्न आउँदारहेछन् ।”