वर्षा र महामारीलाई नपर्खौं

0 28

हामीलाई कति नैं लामो जीवन दिएका छौ र ईश्वर! त्यसमा पनि एक पछि अर्को प्रहार किन?

द्वन्द्वको दशकले लाखौं नेपालीको मनमा लागेको घाउ अझै पुरिएको थिएन। अकस्मात गत साताको महाभूकम्पले हजारौं घरहरुलाई मात्र चिरेन, लाखौं मनहरुलाई पनि चिरेर गयो।

घरमा सानो समस्या आयो भने पनि त्यसलाई कसरी ठीक गर्ने भनि सोच्नुपर्छ, समय लाग्छ। देशमा यति ठूलो विपत्ति आइ पर्दा कहाँ के गर्ने भनि कोलाहल मच्चिनु स्वाभाविक हो। तर, समय बित्दै जाँदा प्रभावितहरुलाई सहयोग पुर्‍याउन सकिएन भने भोलि इतिहासले माफ गर्ने छैन।

बाल्यकालमा घर नजिकै घुम्न जाने धरहरा र हनुमान ढोका वरपरका प्राचीन धरोहरहरू अब रहेनन्। युवावस्थामा घुम्न जाने पाटन र भक्तपुरका परिचित सम्पदाहरु पनि अब रहेनन्। तिनै धरोहरमा पुरिएर कति मानिसका सपनाहरू चकनाचुर भए, कतिले आफ्नो अन्तिम सास त्यहीं फेरे। कल्पना मात्र गर्दा पनि कहाली लाग्छ, नवविवाहित, बालबालिका, वृद्धवृद्धा, दर्जनौं मानिसहरुको त्यो अन्तिम अवस्था, उनीहरूका आफन्तजनहरुको अवस्था। यति मात्र भन्न सक्छु, आँखा त आफ्नै तर आँसु तिम्रै रोएको छु।

शुरूदेखि नैं त्यो कोलाहल माझ आफ्नो पीडालाई बिर्सिएर अधिकांश सेना, प्रहरी, कर्मचारी, चिकित्सक, पत्रकार, स्वयंसेवी र हजारौं सर्वसाधारणले जसरी अरुको पीडा कम गर्न हात अघि बढाए त्यसको प्रसंशा शब्दमा गर्न सकिन्न।

जनताको सहानुभूति कसरी प्राप्त गर्नुपर्छ भन्ने कुरा सिक्न हाम्रा नेताहरुले धेरै टाढा हेरी राख्‍नु पर्दैन। छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हेरे पुग्छ। नेपालमा भूकम्प गएको केही घण्टामैं उनले समवेदनाका ब्यक्त गरे, सहयोग गर्ने अठोट लिए र त्यो सहयोग ब्यवहारिक रुपमा तत्कालै उपलब्ध गराउन पनि थाले।

आधुनिक संचारको आजको युगमा पनि बैंककमा रहेका हाम्रा प्रधानमन्त्रीको सन्देश आउन उनी स्वदेश नैं फर्कनु पर्‍यो, २४ घण्टा कुर्नु  पर्‍यो। प्रविधिमा प्रधानमन्त्रीको पकड नहोला, तर उनको मन्त्रीमण्डल, प्रशासन र सल्लाहकारहरुको पनि पकड छैन र?

भारतको तत्कालको प्रतिक्रियाले एउटा आशाको संचार गर्‍यो। चीन, इजरेल, टर्की र अन्य राष्ट्रहरू पनि आए। सँधै भारतलाई गाली गरेर नथाक्ने मुखहरू पनि एकै छिन् मौन हुनपुगे। पछि सकारात्मक नकारात्मक दुवै टिका टिप्पणीहरू आए पनि उद्धार र खोजीमा शुरुवाती मद्दत पुगेकै हो। केही भारतीय संचार माध्यमहरुको रवैया र प्रस्तुतीको अहिले कडा आलोचना भैराखेको छ। त्यो बहसको बेग्लै बिषय बन्न सक्छ।

थरथर कापिरहेका मानिसहरूलाई न्यानो कोटमा सजिएका नेताहरुले भेट्दै गरेका तस्वीरहरु सामाजिक संजालहरुमा हेर्न पाइयो। आफ्नो कोट फुकालेर ती पीडितहरुलाई लगाइ दिएर आफ्नो वातानुकुल गाडीमा फर्केको भए केही बिग्रिन्थ्यो र? सर्वसाधारणको नजरमा उनीहरुको तस्वीर अलि बेग्लै हुने थियो।

प्रभावित सयौं गाउँ, नगर र शहरहरूले आफ्नो प्रतिनिधि भनि पठाएकाहरुले उनीहरुको ऋण तिर्ने समय पनि यही हो। अरु बेला यति लाख र उति लाख मानिसहरू टुँडिखेलमा उतार्यौं भनि मिडियामा गर्व गर्ने राजनीतिक दलहरुले आफ्ना कार्यकर्ता र युवा इकाइहरुको उचीत ब्यवस्थापन गर्न नसकेको गुनासो सुनिन्छ।

आफूलाई चाहिँदा मात्र होइन, देशलाई चाहिँदा पनि कार्यकर्ताहरुको ब्यवस्थित रुपमा परिचालन गर्न सक्नु पर्‍यो।

डेढ दुई आना जग्गामा पाँच सात तल्लाका घरहरू बनेका छन्। भविष्यमा अलिकति पैसा कमाउन किन मानिसहरुले त्यसो गरे? आत्मालोचना हुने नैं छ। कस्ले दियो त्यस्ता ज्यानमारा घरहरु बनाउने अनुमति?  भविष्यले त्यसको हिसाब पनि खोज्ने नैं छ।

तर तिनै भग्नावशेश र अन्य स्थानहरुबाट काललाई पनि जितेर आएकाहरुको बयान पढ्दा लाग्छ जीवन अघि बढ्नै पर्छ, जीवनप्रतिको विश्वास अझै टुटेको छैन।

बाँचेकाहरुलाई पुनर्जीवन दिन सरकारी, गैह्र सरकारी, संघसंस्था र ब्यक्तिगत रुपमा पनि अनेक प्रयासहरु भैरहेका छन्। आवासीय मात्र होइन गैह्र आवासीय नाम पाएका नेपालीहरुले पनि आ-आफ्नो स्थानबाट र प्रभावित क्षेत्रहरुमैं पुगेर उद्धार तथा राहत कार्यमा सघाइ रहेका छन्। यसले एउटा सन्देश दिएको छ। जहाँ जुन भूगोलमा रहे पनि एउटा नेपाली संधै नैं नेपाली हुन्छ। उ कहिले पनि गैह्र हुँदैन।

संसारका बिभिन्न राष्ट्रहरुमा हरेक साँझ भने जसो नेपालको उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउन अनेक कार्यक्रमहरु भैराखेका छन्। यहाँ बृटेनमा पनि त्यसै भैराखेको छ। अन्तर्राष्ट्रीय संचार माध्यमहरुमा नेपालको अवस्था स्पष्ट पार्दै विदेशीहरुबाट सक्दो सहयोग प्राप्त गर्ने हाम्रो प्रयास पनि निरन्तर जारी छ।

विश्वमा मानवीय संकट आईपर्दा सहयोग रकम जुटाउन बृटेनमा विपद आपतकालिन समिति क्रियाशील हुने गर्दछ। उक्त समितिमा बृटेनस्थित १३ वटा सहायता संगठनहरु आबद्ध छन्।

भूकम्पको ठूलो मार परेपछि समितिले नेपाल भूकम्प अपिल जारी गर्‍यो। त्यसको केही बेरमैं तीन करोड ३० लाख पाउण्ड सहयोग रकम जम्मा भयो। अहिले भर्खरै प्रकाशित पछिल्लो रिपोर्ट अनुसार एक साता भित्रमा त्यो रकम बढेर तीन करोड ८० लाख पाउण्ड पुगेको छ।

बृटिश महारानीदेखि सरकार र सर्वसाधारणले खुल्ला हृदयले सहयोग प्रदान गरेका छन्। अक्सफ्याम, प्लान, सेभ द चिल्ड्रेन जस्ता समितिमा आबद्ध सहायता संगठनहरुले आफै नेपालमा सहायता कार्यहरु आरम्भ गरी सकेका छन्।

यसरी अन्तर्राष्ट्रीय सहयोगको पनि प्रशस्तै प्रतिबद्धता ब्यक्त भएको छ। नेपाल र नेपालीहरुलाई माया गर्ने मानिसहरुको यो संसारमा कमी रहेनछ। प्राकृतिक र युद्ध विपत्तिहरु आइपर्दा भावनामा बगेर सहयोगको घोषणा गर्ने लहर नैं चल्ने गर्छ। तर इराकदेखि अफगानिस्तान र सिरीयादेख‌ि लिबियासम्मको अनुभवले भन्छ, दिन बित्दै गएपछि भावनाको त्यो लहर सेलाउँदै जान्छ र सहयोगको प्रतिबद्धता पनि एकादेशको कथा बन्न पुग्छ। त्यसैले यो लहर सेलाउनु अघि नैं ती राष्ट्र तथा संघसंस्थाहरुलाई घच्घच्याइ रहनु अति नैं आवश्यक हुन्छ।

अनि प्रभावितहरुको जीवनमा सुधार आउने ठोस योजनाहरु देखाउन नसके प्रतिबद्ध रकम पाउन पनि गाह्रै हुन्छ।

प्राप्त सहयोग प्रभावित ब्यक्तिहरुसम्म पुगेको निश्चित गरी त्यसको जानकारी ती राष्ट्र तथा संघसंस्थाहरुलाई समय समयमा उपलब्ध गराउनु पनि अति नैं जरुरी छ। क्यारेबियन राष्ट्र हाइटीमा सन् २०१० को ठूलो भूकम्पपछि अर्बौं डलरको सहयोग प्राप्त भयो। तर प्राप्त सहयोग अनुसारको सुधार हुन सकेन। राहतमा भ्रष्टाचार हुन थालेपछि अन्तर्राष्ट्रीय समूदायले पत्यार गर्न छाड्यो।

प्रभावित मानिसहरू अझै पनि नाजुक अवस्थामा बाँचिरहेका छन्। नेपालमा त्यो अवस्था कहिल्यै नआओस्। देश संभाल्नेहरु प्रतिको हाम्रो विश्वास अझै केही हदसम्म बाँकी नैं छ।

ब्यक्तिगत रुपमा पनि धेरै प्रतिबद्धताहरु ब्यक्त भएका छन्। पोहोर हामीले नेपालका सुस्तमनस्थ‌ितिका बालबालिकाहरुलाई सानो सहयोग पुर्‍याउन लण्डनमा साङ्गीतिक कार्यक्रमको आयोजना गरेका थियौं। धेरै नेपाली समाजसेवी र ब्यवसायीहरुले त्यसमा आफूले बोले अनुसारको सहयोग पुर्‍याए।

तर बचन दिने यस्ता मानिसहरु पनि थिए, जो स्टेजमा आए, ङिच्च दाँत देखाउँदै तस्वीर खिचाए, ती तस्वीरहरु फेसबुकमा पनि राखे, तर तिनै दाँतहरु भित्रको मुखले बोलेको कुरा कहिल्यै पुरा गरेनन्। त्यस्तो साउनको भेल झैं चाँडै नैं बगेर जाने झूठो प्रतिबद्धता दुखको यस घडीमा कसैले ब्यक्त नगरेकै बेस्।

राष्ट्रपतिदेखि करोडौंका महलहरुमा बस्नेहरुले पनि यस पटक पालहरुमा रात काट्नु पर्‍यो। पशुपतिमा जलेका ती सयौं शवहरुले आफ्नो साथमा केही लगेको कसैले देखेनन्। त्यसैले एक पटक जीवनलाई फर्केर हेर्ने समय पनि आएको छ।

अरूलाई मारेर, ढाँटेर, छलेर, ठगेर, भ्रष्टाचार गरेर थुपारेको सम्पत्ति यो परिस्थितिमा यही समाजलाई फिर्ता दिन सके मन अलि हल्का हुन सक्छ। यही समाजबाट करोडौं मुनाफा कमाएका ठूला कर्पोरेट हाउस, बैंक र ब्यवसायहरुलाई पनि आफ्नो जिम्मेवारी बोध भए कति राम्रो हुने थियो।

भोली विदेशी पत्रकारहरु फर्कनेछन्, दाता राष्ट्र र दातृ निकायहरु पनि प्रभावित ठाउँहरुबाट फर्कने छन्। अनि एउटा नेपालीको बाँकि आँसु पुछ्न केवल अर्को नेपालीको हात हुनेछ। त्यो हातलाई अहिलेदेखि नैं दरिलो पार्दै जाउँ। आपसी विश्वास अझै टुटेका छैन।