लामटाङको हिमपहिरोमा परेकी छो जाङ्मो भन्छिन्, तीन घाइते छोराछोरी लिएर ओढारमा रात काटेँ

0 15

त्यो दिन सम्झँदा पनि कहाली लाग्छ । आकाशै खसेजस्तो लाग्छ । वैशाख १२ गते भुइँचालो आउँदा हामी लामाटाङ थाङसापको घरभित्रै थियौँ । दुई छोरी, छोरा र म आत्तिएर बाहिर निस्क्यौँ । घर भत्किहाल्यो । त्यत्तिकैमा हिउँ पहिरो आयो । हुरीबतास आयो । ढुंगा खस्न थाले । हामीलाई हिउँले, हुरीबतासले धकेल्यो, उडायो । सुरुमा छोराछोरी को कता पुगे थाहै भएन । एकछिनपछि हुरीबतास रोकियो । मेरो शरीरमा देखिने घाउ त थिएन । तर, शरीर दुखिरहेको थियो । उठेर हेर्दा पूरै लामटाङ पुरिएको देखेँ । छोराछोरीलाई खोजेँ । छोराछोरी यताउता थिए । उनीहरु घाइते थिए । जेठीछोरीलाई देखिने चोट थिएन । तर, यताउता ठोकिएर पुरिएर दुखेको थियो ।

himpahira (3)

माहिली छोरीको टाउकाको हाड भित्र पसेको थियो । छोराको घाँटीमा गहिरो काटेको चोट थियो । के गर्ने ? कता जाने ? कतै जाने बाटो थिएन । दुई छोराछोरी बेसरी घाइते भएकाले दुवैलाई बोक्नुपथ्र्यो । बोक्न नसक्ने भएपछि दिउँसो तीन बजेतिर ओढार खोजेर बस्यौँ । भोलिपल्ट कताकति आर्मी देखिए । हाम्रो वरपर पाँच घर थियो । सबै होटल हुन् । हामीले पनि घरमा होटल चलाएका थियौँ । वरपरका केही मानिस पनि भेटिए । आर्मीले हामीलाई तल घोडातबेला भन्ने ठाउँमा जान भन्यो ।

दिउँसोतिर घोडातबेला आयौँ । चौरमा बसेका थियौँ । दुई बच्चा मर्नै लागेका थिए । बेलुकीपख एउटा हेलिकोप्टर आयो र छोराछोरीलाई काठमाडौं ल्यायो । त्यो ६ सिटे हेलिकोप्टरमा म अटिनँ । अनि, भोलिपल्ट ठूलो आर्मी हेलिकोप्टरमा आएँ । माहिली छोरीको टाउको हाड भित्र पसेको छ, अप्रेसन भइसक्यो । छोराको घाँटीमा काठ पसेको रहेछ, दुई दिनपछि अप्रेसन भएको हो । पहिलो दिन हेलिकप्टर आएर छोराछोरीलाई काठमाडौं ल्यायो । त्यसको भोलिपल्ट मलाई ल्यायो । छोराछोरी कुन हस्पिटलमा छन् भन्ने मलाई थाह थिएन । मैले दुई दिनपछि मात्रै छोराछोरीलाई भेटेँ । अहिले छोराछोरीको अन्नपूर्ण न्युरो हस्पिटलको बेड ३०२, ३०१ मा उपचार भइरहेको छ ।

himpahira (1)
त्यस दिन मेरो श्रीमान लामटाङ गुम्बाडाँडा जानुभएको थियो । उहाँ बाटैमा हिउँपहिरोमा पर्नुभएछ । टाउकोमा ढुंगाले लागेर त्यहीँ बित्नुभो भन्छन्, मैले देख्नै पाइनँ ।

हाम्रो घरबास सबै उडायो । भएको जमिनमा ढुंगाले पुरिएको छ । उपचारपछि कहाँ जाने ? बच्चाहरुलाई कहाँ राख्ने केही सोच्नै सकेकी छैन ।