अरनिको राजमार्ग खुल्यो, तातोपानी नाका खुल्ने अनिश्चित

0 7
सिन्धुपाल्चोक: भूकम्पबाट अवरुद्ध अरनिको राजमार्ग नेपाली र चिनियाँको संयुक्त टोलीले मर्मत गरेपछि मंगलबार खुलेको छ। भूकम्पपछि गएको पहिरोले १० दिनदेखि अवरुद्ध राजमार्गको बाह्रबिसे-तातोपानी खण्डको विभिन्न ठाउँमा पहिरो पन्छाइएपछि सडक खुलेको हो। सम्पर्कविच्छेद भएका तातोपानी क्षेत्रका बासिन्दाले सडक खुलेपछि राहत महसुस गरेका छन्।
पहिरोले नेपाल-चीन सीमाको सडक अवरुद्ध बनाएपछि चीनले मर्मतका लागि चासो देखाएको थियो। सीमा क्षेत्र लिपिङदेखि बाह्रबिसेसम्म एक दर्जनभन्दा बढी ठाउँमा आएको पहिरो पन्छाउन चिनियाँ डोजर प्रयोग गरिएको थियो।
लिपिङदेखि लार्चासम्म करिब ६ किलोमिटर चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीले चार दिन लगाएर यातायात सञ्चालन गरेको हो।
चिनियाँ सैनिकहरू दिनभरि काम गरेर राति बास बस्न भने उतै गएका थिए। प्रमुख सेनानी सुरेशकुमार कार्कीले भने, ‘दुवै देशका सेनाले संयुक्त रूपमा काम गरेका हौं।’
यातायात सञ्चालन गराउन सडक विभागले समेत पहिरो पन्छाउँदै थियो। दुवैतर्फबाट मर्मत भएपछि एकतर्फी बाटो सञ्चालनमा आएको जानकारी इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक मञ्जिल मुकारुङले दिए।
नाका जोड्ने सडक अवरुद्ध भएपछि सीमा क्षेत्रमा भूकम्पका कारण ज्यान गुमाएका र घाइते भएकाको उद्धारमा समेत समस्या आएको थियो।
सडक अवरुद्ध भएसँगै पहिरोका कारण हेलिकोप्टर राख्ने ठाउँ नहुँदा प्रहरी कार्यालय भत्किएर घाइते भएका सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक केशवकुमार शाहसमेत चार दिनपछि मात्र उपचारका लागि राजधानी पुगेका थिए। बजार क्षेत्रका घर भत्किनाले सडक अवरुद्ध भएको थियो। तीर्थयात्री र पर्यटक हिँडेरै फर्किएका थिए।
बाह्रबिसेदेखि तातोपानीसम्मका बजार खण्डहर भएका छन्। सडक भासिएको छ र पहिरोसमेत गइरहेको छ। तातोपानी भन्सारलगायत सरकारी कार्यालय भत्किएका छन्। भन्सार कार्यालय नभएकाले नाकाबाट हुने व्यापार अनिश्चित बनेको छ।
कारोबार नियमित गराउन अन्योल उत्पन्न भएको भन्सार अधिकृत विष्णु श्रेष्ठले बताए। सुख्खा बन्दरगाह बन्दै गरेको लार्चामा अस्थायी कार्यालय खडा गरेर पनि व्यवसाय नियमित गराउनुपर्ने व्यवसायीको माग छ।