चाँगुनारायणमा खानेपानीको अभाव

0 2

२३ बैशाख, काठमाडौं । महाभूकम्पका कारण पाइपलगायतका संरचनामा क्षति भएपछि चाँगुनारायण नगरपालिकामा खानेपानीको तीव्र अभाव भएको छ। यसबाट झन्डै ५० हजार जनसंख्या प्रभावित भएका छन्।

भूकम्पका कारण मनोहरा मुहानदेखि वितरण ट्यांकीसम्म करिब पाँच सय मिटर मुख्य पाइपको विभिन्न खण्डमा फुटेपछि दैनिक पानी तान्न नसकिएको चाँगुनारायण, झौखेल, दुवाकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष शिवहरि केसीले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

स्थानीय बासिन्दाका अनुसार खानेपानीको अन्य विकल्प नहुँदा चाँगुमा हाहाकार भएको हो। ‘गाईबस्तुलाई खुवाउन र नुहाउन त कुरै छाडौं मुख धुने पानीसमेत अभाव भइसकेको छ’, चाँगु-११ का रमेश थापाले भने, ‘अन्य स्थानीय स्रोतमा पनि पानी आउँदैन।’

जिल्ला विकास समितिले ठेकेदारहरूसँग मिलेमतो गरी जथाभाबी लाइसेन्स बाँडेर बालुवाखानी सञ्चालन गरेकाले चाँगुमा पानीका मुहान सुक्दै गएका छन्।

जिविसले चाँगुनारायण मन्दिरको ठीक मुनि पर्नेगरी चारैतिरबाट बालुवा झिक्न अनुमति दिएपछि दैनिक चार हजारभन्दा बढी ट्रकले बालुवा ओसार्दै आएका छन्।
भूकम्प गएलगत्तै विद्युत् आपूर्ति बन्द भएकाले तत्काल खानेपानी तानेर क्षतिबारे थाहा पाउन नसकेको गुनासो अध्यक्ष केसीले गरे।

विद्युत् प्राधिकरणले बिजुली आपूर्ति गरेपछि पानी तानेर हेर्दा विभिन्न ठाउँमा पाइप फुटेपछि करिब एक सातादेखि पाइप मर्मत कार्य भइरहेको उनले बताए। ‘केही ठाउँमा वायरिङ गरेर हेर्दा पाइप पुरानो भएकाले टिकेन’, केसीले मंगलबार अन्नपूर्णसँग भने, ‘पाइप नै फेर्नुपर्ने अवस्था छ।’

तत्कालीन तीन गाविसका लागि यो योजना २०४६ सालमा सुरु भएको थियो। पाइपहरू भने २०४६ सालमा गाडिएका र २०५३ सालदेखि सञ्चालनमा आएका हुन्।

अध्यक्ष केसीले जिल्ला खानेपानी डिभिजनसँग समन्वय गरेर मर्मत कार्य अघि बढिरहेको र पाइप फेर्नु नपरेमात्र केही दिनभित्र खानेपानी आपूर्ति गर्न सकिने बताए। ‘पाइप नै फेर्नुपर्ने भयो भने हाम्रो बेहाल हुनेछ’, उनले भने, ‘पाइप फेर्ने रकम पनि छैन, उपभोक्ताले सास्ती पाउनेछन्।’

खानेपानी अभाव हुँदा सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएका छन्। एक गाग्री पानी लिन पनि पँधेरामा घन्टौं लाइन बस्नुपरेको र पानीकै लागि झगडा हुन थालेको उनीहरूको गुनासो छ।