भूकम्पका अधिकांश घाइतेमा मिर्गौला समस्या, डायलासिस मेशिनको अभाव

0 5

२३ वैशाख, काठमाडौ । भूकम्पले भत्किएका संरचनाले च्यापिएका वा पुरिएका घायतेमा मिर्गौला समस्या देखिन थालेको छ । नियमित डायलासिस मैसिन अभाव भएको छ ।

मांसपेशीको थिचिएको भागमा रगत सञ्चालन हुन नसक्ने समस्या (क्रस सिन्ड्रोम) र त्याहाँबाट निस्कने ‘मायोग्लोबिन’ पदार्थका कारण मिर्गौलामा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।

उनीहरुका अनुसार मिर्गौलामा समस्या परेका घाइतेहरुलाई शरीरभित्र पानी पठाएर गरिने पेरिटोनियल डायलासिस तथा रगतमै गरिने हेमो डाइलासिस सुरु भएको छ, नयाँ पत्रिकामा खबर छ ।

स्रोतका अनुसार राजधानीको बीर, टिचिङ, पाटन, ग्राण्डी लगायत ठूला अस्पतालमा लगिएका ४० भन्दा बढी घाइतेको मिर्गौला डाइलासिस गरिएको छ । वीर अस्पतालका निर्देशक डा.स्वयंप्रकाश पण्डितले वीरमा सात जना घाइतेको मिर्गौला डाइलासिस भएको बताए । घाइतेहरुलाई पेरिटोनियल र हेमो डाइलासिस गरिएको उनको भनाइ छ ।

डा.पण्डितले भूकम्पका घाइतेहरुमा ‘क्रस सिन्ड्रोम’ समस्या देखिने भएकोले डायलासिस अनिवार्य भएको बताए । नियमित डायलासिस गर्नुपर्ने विरामीकै चाप भएको अवस्थामा थप घाइतेकोसमेत डायलासिस गर्नुपर्दा डायलासिस मेशिन अभाव भएको उनले बताए ।