चिरा परेको इम्पेरियल हाउजिङ हतार–हतार टालिँदै (भिडियोसहित)

0 10

ललितपुर,वैशाख २१ – भूकम्पले चिरा पारेको सानेपा हाईटमा रहेको ‘ईम्पेरीयल कोर्ट हाउजिङ’ हतार–हतार टाल्न थालिएको छ । सानेपाको ज्ञानोदय बालबाटिका स्कुल नजिकै बनेको सो हाउजिङ वैशाख १२ गतेको भूकम्पका कारण धाँजा फाटेको थियो । फिस्टेल एयरका संचालक समेत रहेका विकास राणाको स्वामित्वमा रहेको सो हाउजिङमा भूकम्प आएको दिनदेखि आजसम्म कसैलाई भित्र जाने अनुमती नदिएको एक सुरक्षा गार्डले बताए । नाम नबताउने शर्तमा ती सुरक्षा गार्डले भने –‘मिडियाहरु क्यामेरा लिएर आए भने कुनै हालतमा भित्र छिर्न नदिनु भनेर भन्नुभएको छ ।’ हाउजिङमा बस्दै आएकाहरु अझै पनि नजिकैको खुल्ला ठाउँमा पाल टाँगेर बसेका छन् भने कत्तिपय आफन्त नातेदारका घरमा आश्रय लिन पुगेका छन् । हाउजिङले मर्मत गर्नुपर्ने भन्दै स्थायी रुपमा बस्दै आएकाहरुलाई समेत अहिलेसम्म भित्र पस्न दिइएको छैन । आईतवार मध्यान्ह केही मजदुरहरु बाँसको भर्‍याङ लगाएर चर्केको ठाउँ टाल्दै थिए । पटक–पटक भुकम्पको पाराकम्पन आइरहेका वेला हाउजिङको धाँजा टाल्न खटिएका कामदारहरु निकै जोखिम मोलेर काम गरिरहेका देखिन्थे । हाउजिङ बन्नुअघि सानेपा हाइटका स्थानीयहरुले ‘ठुलो संरचना बनाउन पाईंदैन’ भन्दै नारा जुलुस गरेका थिए । स्थानिय रामप्रसाद भट्टराईले भने ‘हामी त्यतिवेला भवन निर्माण विभागमा समेत पुगेका थियौं, तर हाम्रो कुरा सुनुवाई भएन र हाउजिङ बन्यो ।’ भुकम्पका कारण हाउजिङको माथिल्लो तलाको एउटा ठूलो भाग खसेको छ । ‘हाउजिङको त्यो भाग खस्दा हामी दौडँदै थियौं,’ स्थानिय नारायण तामाङले भने । हाउजिङका एक कर्मचारीका अनुसार चर्केको ठाउँमा पहिले पुटिङ दलेर तुरुन्तै रंग लगाउने तयारी भैरहेको छ । ती स्टाफले भने ‘रंगरोगन गरेपछी मात्रै यहाँ स्थायी रुपमा बस्न दिने भनेर भनिएको छ ।’ चार रोपनी जग्गामा बनेको हाउजिङको प्राविधिक परिक्षणपछि मात्र टाल्ने काम सुरु गरिएको हो कि होइन भन्ने विषयमा इम्पेरियल डेभलपर्सको कार्यालयमा  सम्पर्क गर्दा एक कर्मचारीले यसबारे आफुलाई जानकारी नभएको  प्रतिक्रिया दिए । उनले यसबारे कम्पनीका अध्यक्षलाई मात्र पूर्ण जानकारी भएको र उनलाई सम्पर्क गर्न लगाइदिने बताए पनि कम्पनी अध्यक्षसँग सम्पर्क हुन सकेन  ।