जब हरिवंश पुगे आफ्नै गाउँमा राहत बाँड्न

0 13

भूकम्प गएको एकसाता  पछाडि शनिबार दिउँसो ३ बजे। हरिवंशको पुर्ख्यौली थलो काभ्रेको शंखुमा राहत बाँडेर गाडीमा फर्किदै गर्दा मदनकृष्ण श्रेष्ठले भने,‘लिँदाभन्दा दिँदा कस्तो मज्जा आउने है?’

कच्चिबाटोमा ढल्किदै ढल्किदै गुडिरहेको गाडीमा उनको अनुहार शान्त थियो।

तर, केहीबेर अघि मात्रै यही शान्त अनुहार चिन्तित थियो।

उनीहरूले लिएर गएको राहतमै विवाद परेपछि उनी आत्तिएजस्ता देखिएका थिए।

शनिबार दिनभरी उनले धेरैपटक भनिसकेका थिए,‘सरकार कहाँ छ?’

थोरै काम गरेर धेरै जस लिन खोज्ने प्रवृत्ति राजनीतिक दलको तल्लोस्तरमा पनि रहेछ। त्यही प्रवृत्तिले यस्तो विपतको बेलामा पनि दलका कार्यकर्तालाई मिल्न भन्दा लड्न प्रेरित गरेको होला।

सरकारको उपस्थिति नभएको गाउँसम्म आइपुग्दा राजनीति गर्नेहरूको झगडाले अात्तिएका मदनकृष्णभन्दा राहत कुरेर बसेका सर्वसाधारण धेरै आत्तिएका थिए।

‘यस्तो विवाद देख्दा त राहत लिन आउनेहरूलाई चित्तै दुख्दो हो है?’, एकजना पत्रकारले सोधे।

‘यहाँ त के हो र? चौतारामा राहत लिएर गएका हामीले मुख नदेखाइ फर्कियौँ,डरले’ उनले भने, ‘घर भत्केको छ, खानेकुरा छैन अनि सरकार पनि छैन, त्यसैको प्रतिक्रिया हो यो।’

स्थानीय स्तरको निर्वाचन भएको भए अहिले राहत गाँउगाँउ पुग्न यतिका समय लाग्दैनथ्यो भन्ने लाग्छ मदनकृष्णलाई।

एकछिन चुप लागेर उनले कुनै हिन्दी गीत गुनगुनाए। सँगै गएका हरिवंश अर्को गाडीमा पछि पछि आउँदै थिए।

***

पनौती र शंखुको टारिखेतको बीचबाट हिँड्दा डाँडाँतिर र बाटोको छेउछाउमा सुन्तले, सेता र निलारंगका पालहरु देखिन्थे।

सम्म ठाँउ भएकोले पनि हो कि हामी हिँडेको बाटोमा पर्ने घरहरू भूकम्पले चर्किएका थिए तर पुरै भत्केको देखिएन। तर चर्केका घरमा पस्न समेत डराएका थिए मान्छेहरू।

शंखुमा मह जोडीलाई सबैले चिन्ने।

कमिजमाथि इस्टकोट जस्तो देखिने ज्याकेट लगाएका एकजना गाउँले चर्किएको पक्की घरबाट निस्कीए।

उनले महलाई देखाए,‘हेरिबक्स्यो त उ त्यो घर पनि भत्केको छ त्यो पनि चर्केको छ,हामी त डराएर पालको बास भयो।’

उनीहरु कुरा गर्दै हिँडे।

अलि परको चोकको घरमा राहतका चामल भएका गुलाबी बोराहरु चाङ लगाएर रखिएको छ। महिला/पुरुषहरु त्यहीँ झुम्मीएका छन्।

हरिवंशले पहिले डाँडातिर भएको आफ्नो घर देखिने ठाउँसम्म पुगेर हेरे। फर्केर त्यही बोरा भएको ठाउँमा आए।

रोयल माउन्टेन ट्राभल नेपालले जुटाइदिएको हो यो राहत सामाग्री। एक प्याकेटमा एउटा चामलको बोरा, तेल, नुन र दालमोठ छ।

भूकम्प आएपछि पुरै गाविस घुमेर स्थानीय समाजसेवी माधव थापाले घर भत्केकाहरुको सूची बनाएका रहेछन्।

त्यही सूचीमा विवाद भयो।

राजनीतिक पार्टीका स्थानीय कार्यकर्ताले त्यसमा असहमति जनाए। उनीहरूले आधिकारीक व्यक्तिको हातमा राहत सामाग्री दिने माग राखेका थिए।

गाविस सचिव धुलिखेल गएका रहेछन्।

एक दलले अर्को दलको विश्वास गर्न किन सक्थे?

‘विवाद नगरौँ विपत परेकालाई दिउँ। दिने हामी छौँ लिने पीडितहरु हुनुहुन्छ, तपाईँ हामी नै हौँ आधिकारीक,’ हरिवंशले सम्झाए।

तै पनि विवाद चर्किदैँ गयो।

उनीहरु भित्र गए।

राहत कहिले पाउँला र बोकेर भत्केको घर भएको आफ्नो ठाउँ जाउँला भन्ने आसले टुक्रुक्क बसेका सर्वसाधारण हैरान देखिन्थे।

***

शिरमा नेपाली टोपी लगाएका हिराबहादुर परियार हातमा नाम्लो समातेर टुक्रुक्क बसेका थिए। छेउमै थिइन् उनकी भाइबुहारी सानु परियार।

‘म त दमिनी परेँ हजुर सिउन गाकी थिएँ भुइँचालो आयो। फर्किँदा घरै थिएन,’ उनले दुखेसो पोखिन्, ‘भदौमा मेरा श्रीमान जानुभयो अहिले घरै गयो। म एक्ली छु ओतै भएन, भएको खानेकुरा पनि पुरियो…’

वडा नम्बर ५ मा पर्ने एक्लेखेत गाउँका सबै घर बस्नै नमिल्ने गरि भत्कीएको छन रे।

उनीहरुको छेउमै उभिएका थिए यादव परियार, त्यही गाउँका एक युवा।

उनी पनि राहत लिन आफ्नो गाउँबाट यता झरेका रहेछन्, उनकी भाउजु पनि सँगै आएकी छन्। भुकम्पले भत्काएको घरमा परेर उनका दाजु घाइते छन्।

‘हाम्रोपनि घर भत्क्यो बस्नै नहुने छ, खाने कुरा पुरियो,’ उनले आफै भने।

उनले भने अनुसार आजसम्म त गाउँको पसलमा उधारो किनेर खाएका थिए। अब पसल पनि रित्तिइसक्यो।

अनि उनीहरुले राहतको आउने बाटो हेर्न थाले। यसअघि राहतको नाममा गाविसले उनको गाउँलाई भनेर दुईवटा टेन्ट दिएको छ।

उनीसँग कुरा गर्दा गर्दै छेवैकी एक महिलाले भनिन्, ‘मेरो पनि नाम लेख्दीनुस् न हाम्रो घर पनि पूरै भत्केको छ।’

हातमा कापीकलम हुनेहरुले आफ्नो नाम लेख्न छुटाउँछन् कि भन्ने पीर धेरै महिलाका आँखामा थियो। नाम छुटे राहत पनि छुट्ला।

बारीको कुनामा भएपनि चुलो बाल्नु पर्ने त उनीहरुले नै हो।

‘बुढा भएका सासु ससुरा र बच्चाहरु छन् घरमा म आफैले हो पकाएर खुवाउन पर्ने, तर केही छैन,त्यै भएर हामीलाई झन बढी पीर हुने रहेछ,’ संगीता थापाले भनिन्।

जगतकुमारी रानामगर झन् बढी उदास थिइन्। उनकी आमा अस्पतालमा छन् भएको खानेकुरा पुरिने  गरि घर भत्किएको छ, भोक लागे ८ वर्षीया छोराले उनैको मुखमा हेर्छन्।

भूकम्प आउँदा उनी काठमाडौँको मेडिकेयरमा उपचार गराइरहेकी आफ्नी आमालाई कुर्न बसेकी थिइन रे।

घर ढलेको सुनेर पनि दौडेर आउन पाइनन्। एक्लेखेतको बस्तीदेखि केहि पर एकलासमा छ उनको घर।

पाँच दिन पछि मात्रै आइन्। आफ्नो मात्रै होइन दाईहरुको घर पनि भत्केको छ।

पहिलो दिन गाउँलेसँगै बाँडेर खाना खाइन्।

साँझ पर्दै आयो ओतलाग्ने ठाउँ कतै थिएन। छोरा लिएर उनी आफ्नै घर छेउ आइन्। धेरैबेर उनीहरु ट्वेइलेटमा बसे। त्यहीबेला जंगलको नजिकैबाट बाघ करायो। बाघको गाँसमा परिएला भन्ने डरले कहाँ जाने मेसै पाइनन्। सुरक्षा खोज्दै उनी घर भित्र पसिन्। भत्केर टाँड परेको ठाउँमा उनीहरू लुके।

‘न बस्ने ठाउँ न खाने ठाउँ छ। हाम्रो गाउँमा त बाहिर बस्दा बाघको पनि डर हुन्छ, कुनै घर भत्किन बाँकि छैनन्,’ उनले भनिन्।

एक्लेखेतबाटै आएका एकजोडी बुढाबुढी पनि राहतका चामल राखिएको घरकै छेउमा उभिएका थिए। बुढाले लौरो टेकेर उभिएका र बुढी रातो झोला लिएर।

‘मेरो नाम त शीरमाया तमाङ हो बुढाको नाउँ मनकाजी तमाङ,’ शीरमायाले नाम भनेपछि बुढाका हातहरु देखाइन्। घर भत्किँदा च्यापिएर घाउ भएको रहेछ।

‘घर कहाँ हो तपाईँको?’

‘घरै त छैन!’ शीरमाया खिसिक्क हाँसिन्। परिवार भनेको बुढाबुढी मात्रै रहेछन्।

छाप्रो थियो त्यै पनि ढल्यो। भूइँचालो आउँदा घरभित्रै रहेछन उनीहरू।

‘राती भए त मर्थ्यो हामी,’ उनी सासैले बोलिन्, ‘भूँचालोले भेटाएदेखि खुट्टा मात्रै काँम्छ केही काम गर्न पनि मन लाग्दैन।’

राजनीतिक दलका स्थानीय नेता र महजोडी भित्र बसेर कुरा मिलाउँदै थिए। बाहिर भिड थियो राहत कुर्नेहरुको, प्रमिला भुजेल, संगीता थापा, बसोधा लामिछाने सबैलाई उनीहरुको विवादमा कुनै रुचि थिएन। गुनासो पनि गरेका थिएनन्।

उनीहरु जसले राहत दियो उनीहरू प्रति भने कृतज्ञ थिए।

घर ध्वस्त भएर खानै समस्या भएकालाई प्राथमिकता दिने भन्ने मा विवाद मिलेछ।

समाजसेवी माधव थापाले नाम बोलाउन थाले।

जगत कुमारीको पनि नाम आयो। चामलको बोरा आफूले बोकेर अर्को सानो प्याकेट छोरालाई बोकाइन्।

अलि यता ल्याएर उनले भुईमा चामलको बोरा राखिन् साथीहरूलाई कुर्न होला।

‘यतिले त एक महिनालाई पुग्छ, हामी आमा छोरालाई,’ उनी खुसी भइन्।

राहत पाउने एक सय जना मध्ये एक्लेखेतको दलितबस्तीका धेरै थिए, हिराबहादुर र सानु परियारले पनि पाए।

वडा नं १ की बसोधा लामिछानेले पनि पाइन्।

अब उनीहरुलाई उदारो खाने पसलमा सामान सकियो भनेर पीर लिनुपर्ने छैन केही दिन।

यादव र उनकी भाउजु पनि राहतको चामल बोकेर अलि वर आए।

हसिला देखिने यादवको अनुहार झन् उज्यालो भयो।

उनले भने, ‘भूँइचालो आएर घर भत्कायो भागेर कहाँ जानु भनेर यतै बसियो एउटालाई मात्रै होइन सारालाई पिर छ,एउटाको मुख हेरेर अर्कोले अर्कोको मुख हेरेर अर्कोले चित्त बुझाउँछौँ।’

महजोडीले दिएको नुनचामलले एकहप्ता पुग्ने छ उनका परिवारलाई। तर त्रिपाल भए ओत लाग्न र बाघको डरबाट समेत बच्न सकिन्थ्यो। उनीहरु सरकारले कहिले त्रिपाल पठाइदेला भन्ने आशमा छन् अझै।

‘राजधानीको यति नजिक त यस्तो छ विकटतिर कस्तो होला?’ यादवले चिन्ता लिँदै थिए।

शीरमाया तामाङका बुढाबुढीले पनि राहत पाएछन्। नजिकै जाँदा नमस्ते गरिन्।

उनीहरूको कृतज्ञताको नमस्ते महजोडीकै नाम!