बालाजु, गोगँबु, धापासीमा किन धेरै घर भत्किए?

0 19

महाभूकम्पमा आफ्नो टोल छिमकको विनास देखेपछि धेरै मानिस अत्तालिए, ‘असन इन्द्रचोकमा सर्वनास भयो होला! निर्दयी भुइँचालोले कतिको बिचल्ली गरायो होला!’

तर तुलनात्मक रुपमा असन, इन्द्रचोकमा घरको क्षति तुलनात्मक रुपमा कम भएको देखियो। असन पश्चिम विष्णुमती किनारमा भने ‍क्षति बढी छ।

बालाजु, गोगँबु र धापासीमा पनि डाँडाभन्दा गहिरामा भूकम्पको विनास बढि देखियो। बालाजु बोहोराटारमा ठूलो विनाश देखिएन। बालाजुकै माछापोखरी, गोगँबुका पिलर सिस्टमका घर पनि कि त पिना जस्तो गर्ल्याम्म भए कि रुख झैं ढलेको देखिन्छ।

महानगर भनेपनि काठमाडौंमा घर बनाउँदा प्राविधिक गुणस्तरमा ध्यान दिने चलन छैन। नक्सा एकथरी पास गरेर घर अर्कोथरि बनाउने अत्याधिक छन्। यो कारणले मात्र माथि उल्लेख गरिएका टोलमा धेरै घर ढलेका हैनन्।

तैपनि उस्तै जग र उसैगरि डण्डी सिमेन्ट हालेका एउटा एरियाका घर सुरक्षित रहँदा अर्को ठाउँमा गर्ल्याम गुर्लुम हुनाका कारण के होला?

यसको लागि काठमाडौंको माटोबारे जान्नु आवश्यक छ। चालिस वर्ष अघिसम्म पनि काठमाडौं उपत्यकामा टार, थुम्का र डाँडामा मात्र घर बनाउने चलन थियो। घडेरी महँगो हुँदै गएपछि डोल (नदी किनार र गैरी खेत)मा पनि प्लटिङ हुन थाल्यो। उपत्यकाका डोल खेत धान, तरकारी अरु बालीका उत्पादनका हिसाबले अब्बल थिए। ‘सुन पनि फल्ला’ जस्तो  काठमाडौंका खेतमा घर फल्न थालेकाले पनि यो महाभूकम्पमा शहरी क्षेत्रमा बढि क्षति भयो।

मलिलो  खेत असुरक्षित कंक्रीट जंगलमा परिणत होला भन्ने भयले सरकारले ०४५ सालमा डोल संरक्षणको नीति ल्यायो। बहुदल आएपछि २०४७ सालदेखि त्यो निषेध खुल्यो।

पिलर सिस्टमका पक्की घर पनि धेरै लडेका बालाजु, माछापोखरी, गोगँबु, धापासी लगायत डोल क्षेत्र नै हो । एक बाला धानमा नौं सय गेडा धान फल्ने भएकाले गोगँबु भनिएको भन्ने आहान अहिले पनि छ। ती भेगमा कालोमाटोको मात्रा बढी छ। यसको चरबाट जमिनमुनि पानी छिर्छ। र घरको जगलाई दलदल जस्तो बनाइदिन्छ। त्यस्तो जमिनमा सामान्य जग राखेर बनेका चार, पाँच, छ, सात तले घर भूकम्पले धक्का दिँदा लडेको देखिन्छ।

कालोमाटोमाथि जग ठड्याएर ठूला घर बनाउन उपयुक्त हैन। जगमा कालोमाटो भएको घडेरीमा तीन तलाभन्दा अग्लो घर बनाउनु जोखिमपूर्ण हुन्छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने जगदेखि छतसम्म दह्रो पार्दैमा घर पुरापूर सुरक्षित हुँदैन। घर बोक्ने जगमुनिका माटोको बनोटमा पनि घरको मजबुती भरपर्छ।

काठमाडौंका काँठ (वरिपरिका गाउँ) को क्षति हेर्‍यो भनेपनि जगमुनिको बनोटले विनासको मात्रा निर्धारण भएको देखिन्छ। साँखुलाई भूकम्पले लगभग सखाप पारेको छ। काठमाडौं पूर्वी भेगकै गोठाटारमा पुराना घर पनि प्रशस्त छन्। तर क्षति खासै छैन। गोठाटारमा केहि फिट खनेपछि बालुवा भेटिने भएकाले त्यहाँका घर सुरक्षीत भएका हुन्।

हाम्रोमा एक करोड रुपैयाँ लगानी गरेर घर बनाउनेले पनि इञ्जिनियर राख्ने गरेका छैनन्। इञ्जिनियर राख्नेले पनि माटो जँचाएर घर थाल्ने गरेका छैनन्। हाम्रो परम्परा घरको जगको पूजा गर्नुअघि ज्योतीषीलाई माटो देखाउने छ। मानिसले आफ्नो विश्वास अनुसारको कर्म गर्न पाउँछ तर त्यो मात्र सुरक्षित घरका लागि पर्याप्त छैन।

घर भनेको घडेरीको लालपूर्जा र नक्सा पास भएको प्रमाणपत्र मात्र होइन। घरभित्र छिरेपछि मानसिक र भौतिक सुरक्षा अनुभुत हुनुपर्छ। तनाबहरुलाई बिर्सेर चयनसँग बस्न सकिने हुनुपर्छ।

त्यसैले मेरो एउटा बिन्ती छ,‘घर बनाउनु अघि इञ्जिनियरलाई माटो जँचाउनुस्। त्यसकै आधारमा घरको नक्सा बनाउनुस्।’

तपाईँ सुरक्षित हुनुहुन्छ। फेरि पनि यति ठूलो क्षति बेहोर्नुपर्दैन।