नेपालको पुनर्निर्माणमा एडिबीले २० अर्ब सहयोग गर्ने

0 7
काठमाडौं : एसियाली विकास बैंकले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको निर्माणका लागि २० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। अजरबैजानमा जारी एडीबीको ४८ औं बैठकले २० अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री डा. रामशरण महतले ट्विट् गरेर जानकारी गराएका छन्।
एडीबीले नेपालको भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न नयाँ परियोजना अन्तगर्त सहयोग गर्ने प्रतिबद्धता गरेको अर्थमन्त्रालयको वैदेशिक सहायता महाशाखा प्रमुख मधुकुमार मरासिनीले जानकारी दिए। ‘नयाँ परियोजना अन्तर्गत एडीबीले नेपाललाई सहयोग गर्ने भएको हो’, मरासिनीले सोमबार अजरबैजानबाट टेलिफोन सम्पर्कमा अन्नपूर्णसँग भने,’ बैठक दुई खर्ब रुपैयाँको पुनर्निर्माण कोष खडा गर्न सहयोगी भएको छ।’
भूकम्प आएको समयमा विदेश भ्रमणमा गएको भन्दै अर्थमन्त्री महतको आलोचना भए पनि एडीबीले नेपाललाई सहयोगका लागि आग्रह गर्न र अहिलेको अवस्थाको बारेमा जानकारी गराउन विशेष सत्र प्रदान गरेको थियो।
बैठकमा जापानका उपप्रधान तथा अर्थमन्त्री तारो आसोले भूकम्पबाट क्षतिग्रत संरचनाको पुनर्निर्माण गर्न दातृ निकायको सम्मेलन गर्ने प्रस्ताव गरेका छन। ‘जापानले नेपाललाई सहयोग गर्ने दातृ निकायको छुट्टै सम्मेलन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ’,मरासिनीले भने,’ यसले भूकम्पको क्षतिग्रस्त संरचना बनाउन सहयोग जुटाउन थप सहयोग हुन्छ।’
भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सरकारले दुई खर्ब रुपैयाँको राहतकोष खडा गर्ने निर्णय गरिसकेकेा छ। सरकारले २० अर्ब रुपैयाँ राख्ने र अन्य रकम दातृ निकायबाट जुटाउने नीति लिएको छ। अर्थमन्त्री महतले यसभन्दा अगाडि एडीबीको बैठकलाई सम्बोधन गर्दै भूकम्पबाट पीडित समुदायको पुर्नबासका लागि तत्काल ५० अर्ब रुपैयाँ आवश्यक भएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए।

अर्थमन्त्रीले बैठकमा सहभागी हुन आएका विभिन्न देशका अर्थमन्त्रीसँग नेपाललाई सहयोग गर्न भन्दै द्विपक्षिय भेट गरेका थिए।भूकम्पबाट भएको सार्वजनिक,पुरातात्विक र निजी संरचना निर्माण गर्न १० खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।