बारीको कान्लामा लुटियो सपना तर सुनेन काठमाडौंले: रगत पसिना काटेर सरकारलाई कर तिर्ने घोरथली भोकै

May 03 2015 16:06

२० वैशाख, सिन्धुपाल्चोक । यही वैशाख १२ गते शनिवार बिहानैदेखि मकै गोड्न व्यस्त थिइन् शान्ती थामी । बुढेसकालले जीवनलाई छोपेपछि दुःखको भारीले छोडेको थिएन । १० जना खेताला लगाएर मकैको मेलो भ्याउने उनको इरादा थियो । तर ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ‘गोरखा भूकम्प’ले शान्ती थामीको थातथलो लुट्यो । आफू बस्दै आएको घर भत्कायो ।

आठ दिन भइसकेको छ भूकम्प आएको, तर आजका दिनसम्म पनि राहत के हो र कसले दिन्छन् उनलाई थाहा छैन । नेपाली सेनाको हेलिकोप्टर उनको गाउँमाथि फन्को मार्दा के के न आयो भन्दै फाल हान्दै आएकी ७२ वर्षीया थामीलाई राहतको नाममा खाली हात फर्कनु पर्दा कम्ती दुःख लागेन ।

चित्रो ओढेर रात काट्दै आएकी उनले भनिन्, ‘बुढेसकालमा के विपत्ति आइलाग्यो मलाई, दिनभरी त रुखको शीतलमा बस्छु, रात परेपछि चिसो हुन्छ, बाल्नलाई दाउरा छैन । लौन बाबु त्रिपाल र खानलाई चामल भए सास बाँच्थ्यो कि ।’

उgको जस्तै पीडा छ घोरथली गाविसका अधिकांश सर्वसाधारणको । बस्नलाई बास छैन, खानलाई अन्न छैन । पालेका पशु चौपाया पनि भूकम्पले खोसिदिएको छ । के ‘हुनेखाने’, के ‘हुँदाखाने’ सबैको बारीको बास छ । हिमालको काखमुनीको सुन्दर गाँउ युद्ध रोकिएपछिको भूमि जस्तो देखिएको छ ।

दीलकुमारी विक, विष्टले पाल्न दिएको भैँसी चराउन घर नजिकै गएकी थिइन् । भीरबाट लडेर आएको ढुङ्गाले विष्टको भैँसीको सास खोस्यो । आफू र आफ्ना दुई सन्तानको जीवन कसरी जोगियो थाहा छैन । हेलिकोप्टरले गाउँ छाडेपछि हुर्रिँदै आएकी विकको एउटै माग थियो बस्नलाई त्रिपाल र खानलाई खाद्यान्न ।

भूकम्पले दाउरा चिर्दै गरेका जेठाजु लोकबहादुर विकलाई खोस्यो । उनका श्रीमान दाजुको किरिया बसेका छन्, तर उनले खाने अन्न छैन । अर्को घरको जस्ता मागेर रातको अध्याँरोमा चिसो भूँइ ओच्छ्याएर सुत्न सकेपनि पापी पेटले मागेको अन्न पुग्न सकेको छैन ।

भूकम्पले छाडेको अवशेषले गाउँ सुनसान बनेको छ । कतैबाट केही पाइहालिन्छ कि भनेर आश गरेर बसेका आँखाहरु धेरै छन् । शनिबार राहतको पोको पाइन्छ कि भनेर १३ किलोमिटर हिँडेर बाह्रबिसे बजार पनि पुगे घोरथलीका पीडित । तर राहतको नाममा आश्वासनको पोको मात्र पाए उनीहरुले ।

पूर्व गाविस उपाध्यक्ष समेत रहेका घिउकाजी खड्का सरकारले राहत दिन किन कन्जुस्याँर्इं गरेको होला भन्दै प्रश्न गर्दै थिए । भर्खर गाविस सचिवका रुपमा आएका कमद साह अनुभवका हिसाबले कच्चा भएका कारण अन्य गाविसका भूकम्प पीडितले राहत पाएपनि घोरथलीवासीले राहत नपाएको अर्का स्थानीय धर्मध्वज खड्काको भनाइ छ ।

‘घोरथलीको पीडा काठमाडौँलाई सुनाइदिनू’

उमेरले ७० हिउँद काटेका टेकबहादुर थामी भूकम्प गएको आठ दिन बित्न लाग्दा समेत सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि राहतका लागि नआएकोमा दुःखी छन् । ‘भोट माग्न त धेरै नेता आए तर विपत्को बेलामा न त नेता आए, न त गैरसरकारी संस्थाका विकासे कार्यकर्ता नै आए,’ खड्का दुखेसो पोख्नछन् ।

उत्तरमा दोलखाको विगु र पूर्वमा सुस्पा र कालिन्चोक गाविस रहेको घोरथलीवासीलाई कालिन्चोक माइले त विपत्ति रोक्छिन् भन्ने परम्परागत विश्वासमा थिए । तर भगवान् पनि हामी माथि नै देब्रे भइदिए भक्तबहादुर खड्काले गहभरी आँसु पार्दै भने, ‘काठमाडौँलाई सुनाइदिनू तिम्लाई राजधानी बनाउने र रगत पसिना काटेर कर तिर्ने तिम्रो घोरथली आजकल भोकै छ । आकाश ओढेर राहतको आशमा पर्खिरहेको छ ।’

कूल एक हजार १५० घरधुरी रहेको सो गाविसका सबै घर भत्किएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्कालीन राहतको नाममा रु नौ लाख उपलब्ध गराएको छ । तर ‘हात्तीको मुखमा जिरा’ भने जस्तै सो रकमले कसलाई के राहत दिने केही मेलो पाउन सकेका छैनन् उनीहरुले ।

राजनीतिक नेतृत्वलाई दुःखको भारी नबिसाएको पनि होइन, तर सबैको हालत उस्तै छ । संविधानसभा सदस्यका रुपमा मोहनबहादुर बस्नेतलाई मत हालेर विजयी गराएको सो गाउँका जनताले सास रहेसम्म आश बाँकी रहन्छ भनेजस्तै अझै हरेस भने खाएका छैनन् । ३८ वर्षीय सार्की थामी भन्छन्, ‘हामीलाई मात्रै पीडा परेको होइन, मुलुकलाई नै समस्या परेको बेला हो, धैर्य गरौँ, एक न एक दिन राज्य हामीलाई खोज्दै आइहाल्ला नि ।’

भूकम्पले जताततै जमिन चिरिएको छ, गाउँमाथिको भीरबाट गएराति पनि पहिरो लड्यो । २०४४ साल असार १६ गते गएको पहिरोले स्थानीय ८७ जनाको प्राणपखेरु लुटेको ताजै छ, घोरथलीवासीको स्मरणमा । ‘भूकम्पबाट त बाँचियो, अब पहिरोले लैजाला जस्तो छ, त्यसलाई रोकथाम गर्नेतर्फ सरकारले ध्यान देओस्,’ अर्का स्थानीय प्रेमबहादुर अधिकारी बताउँछन् ।

अल्पसङ्ख्यक थामी समुदायको बाहुल्य रहेको सो गाउँमा खानका लागि अन्न छैन, धानको बिउ राख्ने बेला भयो, कहाँबाट बिउ ल्याउने होला र कसले देला भन्ने चिन्ता पनि सँगै आएको छ ।

नरबहादुर तिम्सिना गाउँमा लामो समयसम्म खाद्यान्नको सङ्कट पर्नेमा चिन्तित छन् । तिम्सिना भन्छन्, ‘धानको बिउ छैन, बोडी, मास पनि भत्किएको घरको भग्नावशेषमा पुरिएको छ । पशु चौपाया पनि मरे । अब के पो गर्ने होला ?’

घोरथलीवासीले यतिखेर सरकारसँग अरु केही मागेका छैनन् ओत लाग्नका लागि एक थान त्रिपाल र खानका लागि खाद्यान्न । कहिले सुन्ला उनीहरुको माग काठमाडौँले ?

– Source: Online Khabar

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top