लौन सरकार, नर्भिक हस्पिटलले मेरी सालीको अप्रेसन गर्न मानेन

0 3

काठमाडौं, वैशाख २०– सरकारले भूकम्पबाट घाइते हुनेलाई निःशुल्क उपचारको व्यवस्था मिलाउने भने पनि राजधानीको नर्भिक हस्पिटलले भने पैसा नतिर्नेको उपचार गर्न छाडेको तथ्य खुलेको छ । ललितपुरको हरिसिद्धि उमावि नजिकैको ६ तले भवन ढल्दा घाइते भएकी सुलेखादेवी पटेलको अप्रेसन गर्न नर्भिकले अस्वीकार गरेको उनका भिनाजु नरेश राउतले बताए । वैशाख १२ को विनाशकारी भूकम्प जाँदा हरिसिद्धि उमावि नजिकैको ६ तले भवन ढल्दा सुलेखादेवीलगायत केही घाइते भएका थिए भने मकवानपुरका २७ वर्षीय किताब तामाङको मृत्यु भएको थियो । नरेन्द्रको परिवार र सुलेखादेवीको परिवार एक–एकवटा कोठा लिएर लामो समयदेखि सोही भवनमा बस्दै आएका थिए । ‘अहिले दुई परिवारका बालबच्चासहित हामी १५ जना टेन्टमा बस्दै आएका छौँ, साली अस्पतालमा छिन्, हामीसँग पैसा छैन तर नर्भिकले पैसा मागेर हैरान पारिसक्यो,’ नरेन्द्रले भने, ‘सरकारले निःशुल्क उपचार गर्ने भनेको होइन ? लौन भन्दिनुप¥यो ।’ सुलेखादेवीलाई भूकम्प आएको साँझ पाटन हस्पिटलबाट रिफर गरेर नर्भिक लगिएको थियो । शनिबार एमाओवादी नेतृ अञ्जना विशंखे नर्भिकको मुख्य मान्छेको नम्बर खोज्दै थिइन । उनले भनिन्, ‘सिन्धुपाल्चोकको एउटा तामाङ साथीलाई नर्भिकले पैसा मागेर अप्ठेरो पारेछ ।’ उनी आफूभन्दा माथिको नेतालाई बिरामीको बेड नम्बर टिपाउँदै थिइन् । नम्बर टिपाउँदै उनले भनिन्, ‘२३९ हो बेड नम्बर, तपाईंले पनि भन्दिनुप¥यो, म पनि कुरा गर्छु ।’