नेपाल भूकम्प २०७२ एक विश्लेषण

0 4

शनिबार सेतोपाटीमा श्रीकमल द्विवेदीको नेपालमा हालै गएको भूकम्प सम्बन्धि एउटा लेख प्रकाशित भएको थियो। उक्त लेखका अधिकांश तर्कहरु यथार्थपरक छन् तर लेखकले अब ८०-९० वर्षभित्र भूकम्प आउंँदैन भनेर लेखेकोले पाठकहरुमा केहि भ्रम सृजना भएको छ। यसलाई भाषागत त्रूटिका रुपमा लिइनुपर्छ। बैज्ञानिक भाषामा भन्दा उनले भनेको कुरा केबल अनुमान मात्र हो अथवा सम्भावना हो। त्यसैले यस विषयलाई तल अझ प्रष्ट्याउने प्रयास गरिएको छ।

भुकम्प किन जान्छ?

पृथ्वीको सतह वा क्रस्ट विभिन्न महादिपहरूले बनेको छ जसलाई भूगर्भ विज्ञानको भाषामा प्लेट पनि भनिन्छ। नेपाल भौगोलिक रुपमा भारतीय महादिप र एसियन महादिपको बिचमा अवस्थित छ। यि महादिपहरू तल रहेको म्यान्टलको माथिल्लो सतह तरल भएकाले त्यसमा तैरिरहेका हुन्छन्। तरल म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदा हुन्छन् जसले सतहमा तैरिरहेका महादिपहरुलाई चलायमान बनाउँदछन्। यसलाई बुझ्नको लागि एउटा उदाहरण लिन सकिन्छ। जब एउटा भाँडोमा हामि पानी तताउ‍ँछौं तलपट्टिको चिसो पानी पहिले तात्छ र हलुका हुन्छ। हलुका भएको पानीमाथि आउन खोज्छ र चिसो पानी तल गइ फेरि तात्छ। यसो हुँदा पानी भकभक गरी उम्लिएको देखिन्छ त्यसलाइ नै कन्भेक्सन करेन्ट भनिन्छ।

हिमालय क्षेत्रमा भुकम्पको कारण यसरी भारत महादिप सर्दै गइ एशियासंग ठोक्किन पुगेकाले हो। स्रोत विकिपेडिया

लाखौं बर्ष पहिले भारत महादिप हालको स्थान भन्दा धेरै दक्षिणतर्फ अफ्रिका र अन्टार्टिका महादिपहरुको नजिकै थियो। पछि भारत महादिप चलायमान हुँदै उत्तरपूर्व तर्फ बढ्दै आयो र एसियासँग तल पर्ने गरी ठोक्किन पुग्यो जसले गर्दा सगरमाथा लगायतका हिमालहरुको उत्पती भएको हो। भारत महादिप यसरी अगि बढ्ने क्रम अझै पनि जारी छ। हिमालय क्षेत्रमा भारत महादिप ठाउँअनुसार हरेक बर्ष  करीब दुईदेखि पाँच सेन्टिमिटरका दरले एशिया महादिपतर्फ (नेपालका सन्दर्भमा चीन तर्फ) धस्रिंदै गएको छ भन्ने कुरा जिपिएसले नापिएको तथ्यांकले देखाउंँछ। यसरी धस्रिंँदा स्ट्रेस बढ्दै जान्छ र बिचमा रहेको पदार्थ डिफर्म हुँदै जाँदा असन्तुलन पनि बढ्दै जान्छ। यसरी डिफर्म हुँदै जादा एउटा यस्तो बिन्दु आउँछ जस पश्चात पदार्थमा चिरा पर्न थाल्छ। चिरा परेपछि दुई प्लेटहरू सन्तुलनमा आउनका लागि तल माथि गरी एडजस्ट हुन्छन् जसले गर्दा नजिकको भुभागमा कम्पन पैदा हुन्छ। यसलाई सजिलो रूपमा यसरी पनि बुझ्न सकिन्छ। जस्तै एउटा सिन्कोलाई बंग्यायौं भने त्यो बांगिंदै जान्छ र एउटा यस्तो अवस्थामा पुग्छ जब त्यो भाँचिन्छ। त्यहि भाँचिने स्टेज नै भुकम्मको स्टेज हो जतिखेर निस्केका तरंगहरुले पृथ्वीको सतहमा क्षति पुर्‍याउँछन्।

पछिल्लो महाभूकम्पको विवरण

अप्रिल २५, २०१५ अर्थात बैशाख १२, २०७२ ११:५६ बजे (नेपाली समय) गोर्खाको बरपाक गाउँमा इपिसेन्टर भएको ७.८ रेक्टर स्केलको भूकम्पको मुख्य धक्का महशुस गरियो। गोर्खामा उत्पति भएको भुकम्पका आफ्टरसकहरू दक्षिणपूर्वतर्फ सर्दै गएको देखिन्छ। जसले जमिनको धाँजा दक्षिणपूर्वतर्फ फाट्दै गएको जनाउँछ। स्वभाविकरूपमा आफ्टरसकहरुको संख्या र तिव्रता घट्दै गएको छ तर  यस्ता आफ्टरसकहरु एक महिनासम्म पनि जाने सम्भावना रहन्छ। यसरी आफ्टरसकहरु जांदा संचित भएको शक्ति निस्तेज हुंदै जान्छ र ठोक्किएका प्लेटहरु सन्तुलित अवस्थामा आउंदछन्। यस भूकम्पको हाइपोसेन्टर जमिनबाट करीब १५ किमि मात्र तल भएकोले प्रभावित क्षेत्रहरुमा धेरै क्षति भएको देखिन्छ।काठमाडौं पहिले तालको पिँधमा रहेकोले यहाँको माटो खुकुलो रहेको छ जसले गर्दा पनि भूकम्पको असर बढी भएको हो।

अप्रिल २५ २०१५ को महाभूकम्प र त्यसपछिका आफ्टरसकहरुको तिव्रता र व्यापकता। स्रोत अमेरिकन जियोलोजिकल सर्भे

भूकम्पको पूर्वानुमान र सम्भावना

साना साना भुकम्पहरु बेलाबेलामा गइरहे एकैचोटी ठूलो महाभूकम्प आउने खतरा कम हुने गर्छ किनकि त्यसो हुँदा प्लेटहरु एक आपसमा घिस्रिंँदा संचित भएको शक्ति थोरै थोरै गर्दै निस्तेज हुन्छ। त्यसैले पछिल्लो भूकम्पले मध्य नेपालमा अब महाभूकम्प जाने सम्भावना केहि भएपनि घटेको छ। तर युनिभर्सिटी अफ कोलोराडोका भुगर्भविद् रजर विल्हामले प्रख्यात जोर्नल नेचरमा सन् २००१ मा प्रकाशित गरेको सोधपत्रले पश्चिम नेपालमा भने महाभूकम्पको खतरा अझै पनि उत्तिकै रहेको देखाउंछ। पूर्वी नेपालमा चाहिं सन् १९३४ को भूकम्पले गर्दा त्यस्तो महाभूकम्पको सम्भावना केहि कम भएको हो। तर नेपाल प्लेटहरुको सिमानामा रहेकोले यहां पछिल्लो महाभूकम्प भन्दा पनि ठुला भूकम्प जाने सम्भावनालाई पनि नकार्न नसकिने कुरा बैज्ञानिकहरु बताउँछन्।

साना साना भूकम्पहरु त यस क्षेत्रमा बारम्बार गइ नै रहन्छन्। भुकम्पको प्रक्रिया धेरै हदसम्म बुझिएको भएपनि पृथ्वीको बनावट अत्यन्तै जटिल भएकाले यसको भविष्यवाणी गर्न निकै कठिन छ। तथ्यांकशास्त्रका आधारमा यसको सम्भावना अनुमान गरिने गर्छ जुन पहिले भएका भूकम्पहरुको गणनामा आधारित हुने भएकोले ठ्याक्कै यकिन गर्न भने सकिँदैन।

महाभूकम्पछिको अबको बाटो

नेपाल जस्तै  भूकम्पीय जोखिमको क्षेत्रमा भएर पनि जापानले भुकम्पीय सुरक्षाहरु अपनाएकाले त्यहां तुलनात्मक रुपमा निकै कम क्षति भएको पाइन्छ। जापानमा सन् २०११ मा ९ रेक्टर स्केलको भूकम्प जाँदा पनि भूकम्प आँफैले त्यति क्षति पुर्‍याएन तर भूकम्पपछि आउने सुनामीले भने धेरै नै क्षति पुर्‍याएको पाइन्छ। नेपालको नजिक समुन्द्र नभएकोले सुनामीका चिन्ता भने रहेन। त्यसैले भवन तथा संरचना निर्माण गर्दा ध्यान दिन सके भुकम्पबाट हुने क्षति धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ। घर बनाउँदा भौगोलिक नक्शाहरुको अध्ययन गरी चट्टानी भुभाग माथि जग बनाउनु राम्रो हुन्छ। जस्तै पोखराको भौगोलिक बनावट खोक्रो तथा कमजोर भएकाले भुकम्प गएमा त्यहां धेरै क्षति हुने सम्भावना छ।

अहिले गएको भूकम्पको क्षति अध्ययन गर्दा नेपाल क्रमश भूकम्पसँग जुध्न सक्षम हुंदै गएको चाहिँ देखिन्छ। यस महाभूकम्पमा धेरै पूराना भएका तथा गार्हो लगाइ बनाइएका भवनहरुमा धेरै क्षति भएको देखिन्छ जुन अस्वभाविक होइन। आर सि सि भवनहरुमा तुलनात्मक रुपमा कम क्षति पुगेको देखिन्छ। नेपालका धेरै इन्जिनियरिङ स्कुलहरुमा भुकम्प प्रतिरोधात्मक भवनको डिजाइन गर्न सिकाइन्छ। त्यसैले यस क्षेत्रमा नेपाली प्राविधिकहरु पूर्णरुपमा सक्षम रहेका छन्।

भवन निर्माण गर्दा यस विषयमा थोरै मात्र ध्यान पुर्‍याउने हो भने पनि सामान्य लागत भन्दा करीब २० प्रतिशत बढी खर्चमा भूकम्प प्रतिरोधात्मक भवन बनाउन सकिन्छ।

अन्त्यमा, नेपाल लगायतका हिमाली क्षेत्रहरु टेक्टोनिकल्ली एक्टिभ अर्थात भूकम्पीय जोखिम भएका क्षेत्रहरु हुन्। त्यसैले नेपालमा भुकम्प जाने खतरा सधैं रहन्छ। भुकम्प आंफैले त्यति क्षति पुर्‍याउँदैन तर हामीले बनाएका कमजोर संरचनाहरु र आवश्यक पुर्वतयारीको अभावले गर्दा धेरै क्षति हुने गर्छ। हामीले अब तीन कुरामा ध्यान दियौं भने भुकम्पबाट हुने क्षतिलाइ धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ। पहिलो कुरा भवन तथा संरचनाहरु सकेसम्म हलुका तथा होचा बनाउने। दोस्रो ति संरचनाहरुको डिजाइन गर्दा लागत केहि बढी भएपनि भुकम्प प्रतिरोधात्मक बनाउन ध्यान दिने। र तेस्रो बिपत्तिसँग जुध्न राष्ट्रिय तथा स्थानीय स्तरमा पूर्वतयारी गर्ने।