पानीका कारण महामारी फैलनसक्ने भन्दै खानेपानी उद्योगहरुमा निगरानी बढाइयो

0 2

काठमाडौ, बैशाख २० – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महाभूकम्प पश्चात दुषित खानेपानीका कारण विभिन्न रोगहरु फैलन सक्ने भन्दै खानेपानी उद्योगमा निगरानी बढाएको छ ।

MINERAL_WATER_20140912093430
विभागका प्रवक्ता पुर्णचन्द्र वस्तले विभागले महाभूकम्प पश्चात खानेपानीका मुहानहरु दुषित हुनसक्ने र यसले विभिन्न किसिमका रोगहरु निम्त्याउन सक्ने भन्दै खानीपानीको प्रयोगमा निगरानी बढाइएको बताए ।

खानेपानी सँगै दुग्ध पदार्थ सम्बन्धि उद्योगहरुमा समेत अनुगमन तथा निरीक्षण गरिरहेको उनले जानकारी दिए । उनले उपत्यका तथा आशपासका क्षेत्रमा सञ्चालनमा रहेका खानेपानी उद्योगहरुमा अनुगमनलाई तिव्रता दिइएको र उद्योगीहरुलाई स्वच्छ पानी मात्र वितरणका लागि आग्रह गरिएको जानकारी दिए । उनले भने, ‘विपत्तिका बेला उद्योगीहरु आफैले पनि ध्यान दिनुपर्छ, त्यस्तो नभएमा विभागले पनि अनुगमन बढाएको छ ।’

विभागले सुरु गरेको स्वच्छ खानेपानी वितरणका लागि गरिरहेको आग्रह र अनुगमनका कार्यमा खानेपानी उत्पादन गर्दै आएका उद्योगीहरुले पनि सहयोग गरिरहेको र यदि कुनै उद्योगले विभागको आग्रहलाई वेवास्ता गरेमा त्यस्ता उद्योगहरुलाई कडा कारबाही गरिने उनले बताए ।

विभागले स्वच्छ खानेपानी सँगै स्वच्छ र ताजा खाना प्रयोग गर्न समेत सवैसँग आग्रह गरेको छ । विभागका प्रवक्ता वस्तिले यस्तो बेलामा स्वच्छ खाद्यन्नको अभावमा जटिल किसमका रोगहरुले आक्रमण गर्नसक्ने भन्दै स्वच्छ खाद्यन्न मात्र प्रयोग गर्न उनले आग्रह गरे । विभागले राहतका लागि लगिने खाद्य पदार्थ तथा पानीको पनि निगरानी गरेको भन्दै उनले यसका लागि विभागले टोलिनै परिचालन गरेको बताए । उनले राहतमा बाँडीने सबै सामग्रीको गुणस्तर जाँच गर्न असम्भव भएपनि वितरण भइरहेको खाद्य पदार्थको नमुनाहरु समेत संकलन गरिरहेको जानकारी दिए ।